0
गोल्डेन न्यूज संवाददाता
पोखराको फेवातालदेखि सराङ्कोटसम्म केवलकार बन्ने भएको छ । अन्नपूर्ण केवलकार प्रालीले फेवातालबाट सराङ्कोटसम्म जोड्ने गरी केवलकार बनाउने घोषणा गरेको हो । २ हजार २ सय ७५ मिटर लम्बाई रहेको यो ठाउँमा ७ मिनेटमै पुग्ने गरी केवलकार निर्माण गरिने कम्पनीले बताएको छ । पामे साइडको फेवाताल सेदीबगरमा स्टेशन राखेर केवलकार निर्माण गर्ने लक्ष्य राखिएको केलरबारको अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङले बुधबार शिलान्यास समेत गरेका छन् । यसमा गुरुङसहितका नेपाली व्यवसायीहरुको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी छ । करिब १ अर्बको लागतमा डेढ वर्षमा केबलकार निर्माण भइसक्ने अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङले जानकारी दिए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर रहने रोप–वे नेपालका अध्यक्ष एवम् इञ्जिनियर गुणराज ढकालले जानकारी दिए । उनका अुनसार १७ वटा डब्बाबाट सेवा सञ्चालन गरिने र यात्रुको संख्या बढ्दै गएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सकिन्छ ।  एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन् भने १७ डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सकिने ढकालले बताए । उनका अनुसार ७ देखि ९ मिनेटमा सेतीबगरबाट सराङकोट पुग्न सकिन्छ । हाल ट्याक्सीमा जाने हो भने पनि लेकसाईडबाट सराङकोट पुग्न करिब ४५ मिनेट लाग्छ ।
सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रालीले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना भइसकेको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृति दिएको छ । ‘हामीले कम्पनीको शेयर जनतालाई दिने सोच बनाएका छौं,’ गुरुङले भने–‘५१ प्रतिशत संस्थापक सदस्यले राखेर ४९ प्रतिशत जनतालाई शेयर दिन सकिन्छ, यसबारे हामीले गृहकार्य गरिरहेका छौं ।’ केवलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केवलबार नयाँ प्रविधि प्रयोग गरिने भएको छ । जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने इन्जिनियर ढकालले बताए । ‘केबलकार निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिइनेछ,’ ढकालले भने–‘केबलबार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बन्छ । उनका अनुसार केलबलकार निर्माण गर्न ५ वर्षअघि नै सर्भे गरिएको थियो । ‘केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियोडाँडा तथा पोखराको मनोरम दृश्यावलोकन गर्न मिल्छ,’ अध्यक्ष गुरुङले भने,’ यसले सराङकोटमा पर्यटन प्रवर्द्धन गर्नुका साथै केबलकार नयाँ गन्तव्य बन्ने विश्वास लिएका छौं ।’





Post a Comment

 
Top