0
आनन्दराज मुल्मी
पूर्वअध्यक्ष, नेपाल उद्योग–वाणिज्य महासंघ
काठमाडौंपछि पोखराको भविष्य छ, त्यसलाई ध्यानमा राखेर समाचारको कभरेज हुनुपर्छ । हालसम्म जति कभरेज भइरहेको छ, तुलनात्मक रूपमा पोखराले त्यसभन्दा बढी र गहकिलो स्थान पाउनुपर्छ भन्ने मलाई लाग्छ । आर्थिक हिसाबले कुरा गर्दा पोखरासँग धेरैथोक छ । त्यसलाई ध्यानमा राखेर समाचारको कभरेज बढ्नुपर्छ । त्यति गर्नसके यहाँको विकास र आर्थिक गतिविधिलाई बल पुग्छ । निजी क्षेत्रका बारेमा खुलेर समाचार आउनुपर्छ । यो कमजोर अवस्थामा छ । निजी क्षेत्रका संघसंगठनमा लागेकालाई हेर्ने दृष्टिकोण पनि फरक परेको अवस्था छ । दलहरूले व्यावसायिक संगठन बनाउनतिर ध्यान दिनु उद्योग वाणिज्य महासंघको भूमिका कमजोर बनाउन लागिएको अवस्था हो कि जस्तो देखिन्छ । निजी क्षेत्र नै चुकेको हो कि सञ्चारकर्मीले ध्यान दिन छुटाएका हुन् कि जस्तो पनि लाग्छ ।


रेशमराज पन्थी
डेरी व्यवसायी
 म ३० वर्षदेखि डेरी व्यवसायमा छु, दूधको बजार प्रवद्र्धन होस् भन्ने धारणा राख्छु । कहिलेकाहीं हामीजस्ता उद्यमीले गरेका व्यावसायिक कामको राम्रो समाचार ‘कभरेज’ ले हौसला दिन्छ । नेपाली समाजमा उत्पादन र युवा पलायनको विषय जोडिएकोतर्फ पनि म ध्यानाकर्षण गराउन चाहन्छु । यहाँ उत्पादनमुखी कार्य हुने हो, रोजगारी हुने हो भने कोही विदेश जाँदैन, यहीं काम गरेर बस्छ । नेपालको आर्थिक विकास गर्ने हो भने अब नयाँ ढंगबाट नसोचीकन हुँदैन । पोखराको सन्दर्भमा हामीले ग्रामीण उत्पादन प्रवद्र्धनका लागि हौस्याउन जरुरी छ । स्थानीय स्तरका उत्पादन प्रवद्र्धनमा हाम्रो ध्यान जानुपर्छ ।


अशोक पालिखे
पूर्वअध्यक्ष, पोखरा उद्योग–वाणिज्य संघ
पोखरामा उद्योग–वाणिज्य संघ र नगरपालिका सबैले पर्यटन, शिक्षा र स्वास्थ्यको विकास अवधारणालाई अघि बढाएका छन् । ठाउँका हिसाबले यो स्वाभाविक पनि छ । हामी चाहन्छौं यो अवधारणालाई सञ्चार क्षेत्रले पनि बल पुर्रुयाउनुपर्छ । काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलगायत यो ठाउँलाई जोडेर हेर्नुपर्ने विकासका कुरा थुप्रै छन् । शिक्षाकै कुरा गर्दा हामीकहाँ अब उपलब्ध कलेज र शैक्षिक विषयमा जनचेतना अभिवृद्धि जरुरी छ । अझसम्म राम्रो विषय पढ्नका लागि विदेश नै जानुपर्छ भन्ने धारणा हटिसकेको छैन । उपलब्ध कलेज र विषयका बारेमा जनताले प्रस्ट सूचना पाउँदाको अवस्थामा बाहिर जाने चलन घटाउन सकिन्छ ।


लक्की कार्की क्षेत्री
महिला उद्यमी
हामी पोखराका सन्दर्भमा धेरै सम्भावना छ भन्ने गर्छांै । हो, यो ठाउँको सम्भावना निकै छ, तर त्यो भनेर मात्र हुँदैन, हाम्रो आवश्यकता के हो, त्यसमा पहिले प्रस्ट हुनुपर्छ । त्यसलाई खोजी गर्नुपर्छ । त्यो सम्भावनाले काठमाडौंमा जस्तो प्रदूषण नबढाओस् । काठमाडौंमा पनि सम्भावना नै सम्भावना हुँदाहुँदै पनि आज मानिस बस्नै नसक्नेजस्तो भइसक्यो । पोखराको त्यस्तो दुर्ग्ति नहोस् । विदेशबाट आउने पर्यटकहरू काठमाडौंमा बस्नुभन्दा सिधै पोखरा आउने गर्छन् । हामी पर्यटन व्यवसायीका लागि त त्यो फाइदाकै कुरा हो । तर भोलि पोखरा पनि काठमाडौंजस्तै अव्यवस्थित नहोस् भन्नेमा हामी अहिल्यै चनाखो हुनुपर्छ । मेरो भनाइ, दिगो विकासका मामिलामा सम्भावनाका फोस्रा कुरा गर्नुभन्दा हामीले तथ्यगत विश्लेषण जरुरी गर्नुपर्छ ।


गोविन्द ढकाल (बैंंकर)
बैंकिङ क्षेत्रका समाचार संवेदनशील हुन्छन् । त्यसका असरबारे विश्लेषण गरिनुपर्छ । कुनै सेवाग्राहीलाई दिएको कर्जा जोखिममा पर्दा पुरै बैंक जोखिममा पर्ने होइन । तर, कतिपटक चार÷पाँच करोडको कर्जा डुब्दा बैंक नै डुबेको खबर पनि सञ्चारमाध्यममा आउँछन् । यस्तो हुँदा त्यो ऋणिका कारणभन्दा पनि खबरका कारण बैंकलाई संकट सुरु हुन्छ । यसतर्फ कान्तिपुरको पनि ध्यानाकृष्ट हुनुपर्छ ।


विश्वशंकर पालिखे
अध्यक्ष, पोखरा उद्योग–वाणिज्य संघ
पर्यटनका बारेमा आउने खबरले यो क्षेत्रमा ठूलो असर पार्छ । राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले नकारात्मक खबर दिँदा यो क्षेत्र धरापमा पर्छ । राष्ट्रिय सञ्चारमाध्यमले दिने खबर हेरेर अन्तर्राष्ट्रिय मिडियाको पनि ध्यानाकर्षण हुन्छ । पर्यटन व्यवसाय संस्कृति र प्रकृतिका कुराले मात्रै प्रवद्र्धन हुने होइन । यसमा आधारित विभिन्न दिवस र गतिविधिलाई पनि खबरले समेट्नुपर्छ । यति हुनसके पर्यटन व्यवसायलाई सघाउ पुग्छ । काठमाडौंबाट पोखरा र चितवनको सडक यात्राको अवधि पर्यटकलाई खुसी पार्ने खालको छैन । सरकारले यो विषय थाहा पाउनुपर्छ । पाँच वर्षदेखि दुःख पाएको अवस्थालाई सुधार गर्न बल गर्नुपर्ने बेला भइसकेको छ ।


डा. कुसुमाकर न्यौपाने
 संस्कृति अध्ययनकर्ता
पोखरामा पर्यटक आएर हेर्ने प्रकृतिको धेरै चिन्ता लिइरहनुपर्छ जस्तो लाग्दैन । चिन्ता गर्नुपर्ने विषय संस्कृति हो । सबैथोक काठमाडौं होइन, राजधानीबाहिरका कुरामा पनि चिन्ता लिनुपर्ने अवस्था छ । कुसुले बाजा हराएर गयो । गन्धर्वहरूले बिहान, दिउँसो र साँझको फरकफरक रागमा बजाउने बाजा हराएर गयो, यो चिन्ताको विषय हो । जातजातिका संस्कृति, वेशभूषा र खान्कीको चलनमा आएका परिवर्तन हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ । पर्यटक आएर कोदाको रोटी खायो भने त्यो बल्ल खानुपर्ने भनेर बुझिनु हुँदैन । हाम्रा संस्कारका विभिन्न मन्त्र र नाटकलगायत धेरैथोकमा आएका परिवर्तन र हराएर गएका कुरामाथि अनुसन्धान जरुरी भइसकेको छ ।


बाबुराम गिरी
पोल्ट्री व्यवसायी
हाम्रो प्राथमिकता राजनीतिबाट आर्थिक विकासतर्फ हुनुपर्छ । लामो समयदेखि हामीले राजनीतिलाई नै प्रमुखता दिँदै आउनु राष्ट्रिय परिस्थितिको कारण पनि हो । तर, अब आर्थिक विकासका कुरा पनि गरिनुपर्छ । सूचनाका स्रोत राजधानीमात्रै होइन, बाहिरका कुरालाई पनि प्राथमिकता दिनुपर्छ । आर्थिक विकासका एजेन्डामा हामी गम्भीर भएर लाग्नुपर्ने अवस्था छ । देशको आवश्यकता अब आर्थिक समृद्धि हो । पोखरा राजधानीपछिको दोस्रो महत्त्वपूर्ण सहर हो, पर्यटकले मन पराएको अवस्थाले पनि यसको पुष्टि गर्छ । यो सहरको महत्त्वलाई सञ्चार माध्यमले पनि बुझेर स्थान दिनुपर्छ ।


तेज गुरुङ
अध्यक्ष, नेपाल ह्यान्डबल संघ
खेलकुदको क्षेत्रलाई हामीले प्राथमिकता दिनुपर्ने जति दिन नसकेको अवस्था छ । संयुक्त राष्ट्र संघले सन् २०१५ मा खेलकुदबाट विश्वमा शान्ति कायम गर्न सकिन्छ भनिसकेको छ । खेलकुद व्यक्तिको नैसर्गिक अधिकार त हुँदै हो, यसका माध्यमले हिंसा र विभेदसमेत हटाउन सकिन्छ । राष्ट्रिय एकता मात्रै नभई खेलकुदले देश र समाज कति समृद्ध छ भन्ने देखाउँछ । यसले मान्छेलाई आशावादी पनि बनाउँछ । हामीकहाँ खेलकुद पूर्वाधार पर्याप्त छैन । यो चिन्ताको विषय हो । राम्रा खेलाडी उत्पादनका लागि खेलकुदको पूर्वाधार विकास गरिनुपर्छ । पोखराको राम्रो पक्ष ४१५ रोपनी जमिन ओगटेको रंगशाला छ । खेलकुदलाई माया गर्नेहरू छन् । तर २०४० सालमा घेराबारा गरियो, करोड करिब खर्च खेलप्रेमीले गरे । त्यसयता खासै काम हुन सकेको अवस्था छैन । पूर्वाधार बनाउन सके यहाँ सम्भावना छ ।


विन्दु कोइराला सुवेदी
महिला उद्यमी
हाम्रो जमिनको बनोट यस्तो छ कि कुनै पनि कृषि उपजको उत्पादन ठूलो परिमाणमा गरेर बाहिर पठाउन सजिलो छैन । पोखराको मौसम जडिबुटीका लागि मैत्री छ । हामीकहाँबाट बाहिर जाने जडिबुटी बाहिरबाट प्रशोधन भएर फेरि हाम्रै बजारमा आउँछन् । यसबाट धेरै पैसा विदेश जान्छ । हाम्रोबाट सस्तोमा जान्छ, बाहिरबाट प्रशोधन भएर निकै महँगो भएर आउँछ । यो क्षेत्रमा स्थानीय स्तरको लगानी प्रवद्र्धन गरिनुपर्छ । कृषिलाई व्यवसायीकरण जरुरी छ तर यसका लागि हामीले अरू थोकभन्दा जडिबुटी उत्पादन र प्रशोधनमा बढी जोड दिनु उपयुक्त हुन्छ ।


चिजकाजी गुरुङ (शिक्षासेवी)
सबै क्षेत्र वादले जकडियो । विश्वविद्यालय योग्य नागरिक उत्पादन गर्ने थलो हो । तर त्यसलाई राजनीतीकरणले बिगारेको दुःखद् अवस्था छ । यो ‘वाद’ र ‘राजनीतीकरण’ कसरी रोक्ने, सबैले ध्यान दिनुपर्छ । यति हुनसके अवस्था सुध्रने आस गर्न सकिन्छ । यातायातमा सिन्डिकेटको विरोधको सन्दर्भमा केही भन्न चाहन्छु । सिन्डिकेटको विरोध जायज छ तर सरकारले दायित्य पूरा गरेरनगरेको पनि निगरानी जरुरी भएको छ । समिति बनाउन लगाएको सरकारले नै हो । खुला बजार भनेर व्यवसायीलाई प्रतिस्पर्धा गराइनु हुँदैन । सडक कस्तो छ, कति गाडी चाहिन्छन् भनेर सरकारले नै नियमन गरेको राम्रो हुन्छ । हिजो अञ्चलाधीशको व्यवस्था हुँदा समितिमार्फत गाडी चलाउन लगाएको सरकारले नै हो । सिन्डिकेटको विरोध गरिन्छ भने त्यसको विकल्पको बाटो पनि देखाइदिनुपर्छ ।


सावित्री गौतम
सञ्चारकर्मी
शिक्षा, स्वास्थ्य र पर्यटकको ‘हब’ भनिन्छ पोखरालाई । तर, मैले मास्टर्स सकेर बसेको १३ वर्ष भयो, यहाँ ‘एमफिल’ अहिलेसम्म खुलेन । कहिले हुन्छ यहाँ त्यसको पढाइ ? पोखरा विश्वविद्यालयमा पीएचडी प्रोग्राम छ, एमफिल अनिवार्य राख्नुभएको छ तर उहाँहरूको सिंगो विश्वविद्यालयमा त्यो पढाइ नै हुँदैन । पीएन क्याम्पस प्रमुखबाट सुन्न पाएको छु– डेढ सयजना पीएचडी गरेका प्राध्यापक छन्, विश्वविद्यालय बनाउने प्रक्रियामा छौं । तर, त्यहाँ पनि एमफिल छैन । विकेन्द्रीकरण, संघीयता भने पनि कागजमा मात्रै भएजस्तो लाग्छ । माया लाग्दालाग्दै लागि पोखरा छाड्नुपर्ने अवस्था छ । पत्रकारितामा मास्टर्सको पढाइ हुँदैन । पढ्नेले काठमाडौं जानैपर्छ । म महिलासम्बन्धी शोध गरेर लेखहरू लेख्छु । आर्थिक विकासका कुरा गर्दा फुटपाथमा व्यापार गर्नेको हितमा कसले सोच्ने ? नगरपालिकाले डोकाको सामान फालिदिन्छ । उद्योग–वाणिज्य संघ र नगरपालिकाले हेर्ने कि नहेर्ने ? सपिङ मलमा व्यवसाय गर्ने, कर तिर्न सक्नेलाई मात्रै हेर्ने परिपाटी विभेदकारी छ ।


अर्जुन पोखरेल
अध्यक्ष, गण्डकी घरजग्गा व्यवसायी संघ
पर्यटन व्यापार, प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कोरला नाकाको कुरा र हाइड्रो कम्पनीहरूका लागि पनि सुगम थलो भएकाले पोखराको महत्व झन् बढेको अवस्था छ । व्यापारिक प्रतिष्ठानहरू व्यवसाय विस्तार गर्दै पोखरा आउने क्रम पनि बढ्यो । यसले जनघनत्व बढ्यो । पोखराको बस्ती बाक्लो भयो । डाँडा–डाँडा किनबेच बढ्यो । छेउछाउमा पूर्वाधार विकास ढिलो भएर पोखरामा बस्ती बढेको हो । व्यवस्थित सहरीकरणका लागि गुरुयोजना चाहिन्छ । योजना थुप्रै बन्छन्, कार्यान्वयन हुन पाउँदैनन् । नयाँ विमानस्थल बनेपछि पर्यटन भनेर लेकसाइडले मात्रै धान्दैन । मोदीखोला, निर्मलपोखरी, काहुडाँडा, पुम्दी–भुम्दी आदि क्षेत्र समेटेर पूर्वाधार विकास जरुरी छ । आसपासका क्षेत्रमा विकास गरिएन भने सहरले चाप धान्न सक्दैन । ‘ग्रेटर पोखरा’ को अवधारणामा विकास जानुपर्छ ।


प्रकाश घिमिरे
कलाकर्मी
पोखरामा फिल्मसिटी बनाउने भनिएको थियो, तर त्यो दोलखा कसरी पुग्यो भनेर खोज्नैपर्ने भएको छ । तैपनि पोखरा अझै फिल्मसिटी छँदै छ । सुटिङ भइरहेकै छ । पोखराको प्रकृतिले सुटिङ गर्नेलाई तानिरहेकै छ । यो सम्भावनालाई अझै कसरी फैलाउन सकिन्छ, त्यसतर्फ सोच्न जरुरी छ ।


कर्णवीर पौडेल
डीन, पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय अहिले लेखनाथमा छ । तर, नयाँ एयरपोर्ट बनेपछि ग्रेटर पोखराको अवधारणाले काम गर्छ । पोखरा र लेखनाथ छुट्टाछुट्टै हुनेछैनन् । त्यसैले हामी भन्न सक्छौं अबको पोखरा ग्रेटर पोखरा हुन गइरहेको छ ।


उपेन्द्र पौडेल
अध्यक्ष, ¥यान्डम रिडर्स सोसाइटी
कला–संस्कृतिका खबरहरू अब हामीले छापा माध्यममा मात्रै भन्दा पनि ‘अनलाइन कभरेज’ बढाउनुपर्ने देखिएको छ । पोखरा कला र संस्कृतिको गतिविधिमा अगाडि छ । यसलाई हौसला दिन सञ्चारमाध्यमले ठूलो भूमिका खेल्न सक्छ ।


लक्ष्मीप्रसाद त्रिपाठी
अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथ सात तालको सहर हो । पोखराका कुरा गर्दा लेखनाथ समेटिनुपर्छ । लेखनाथको प्रकृति, पूर्वाधार र बहसका कुरा सञ्चार माध्यममा सन्तोषजनक रूपमा समेटिएका छैनन् । ग्रेटर पोखराभित्र लेखनाथ पनि आउँछ । हामीले पोखराका कुरा गर्दा लेखनाथ छुटाइदिनु हुँदैन । तालहरू अतिक्रमणको चपेटामा परेका छन् । सातमध्ये पाँचवटा तालको अवस्था निकै नराम्रो छ । यिनलाई जोगाउने चिन्ता गर्नुपर्ने बेला छ । ताल र बस्तीबीचको मापदण्डका कुरा प्रस्ट र नियमन जरुरी छ ।


विश्वेश्वर आचार्य
प्रमुख, नोवेल एकेडेमी
हामी काठमाडौंबाहिर पनि केही गर्न सकिन्छ भन्ने विश्वास लिएर यहाँ काम गर्दै आएका छौं । हाम्रो भनाइ नयाँ व्यावसायिक गतिविधिलाई प्रोत्साहित गरौं भन्ने हो । राजधानी केन्द्रित व्यवसाय प्रवद्र्धनभन्दा बाहिर बसेर काम गर्नेलाई पनि हौसला प्रदान गर्दा नयाँ लगानीकर्ता अघि आउँछन् । अझै धेरै काम गर्नु जरुरी छ । सबै क्षेत्रले सहकार्य बढाउँदा समाजलाई लाभ हुन्छ ।


रेशम थापा (बैंकर)
देशको अवस्थाका हिसाबले कुल जनसंख्याको ६० प्रतिशतलाई अझै पनि बैंकिङ पहुँच सरल भइसकेको छैन । पोखरामा भने सबै बैंकका शाखा छन् । त्यसैले पनि पोखरालाई बैंकहरूको ‘हब’ भन्न सकिन्छ । पोखराका जनताको वित्तीय पहुँच विस्तारसँगै आर्थिक विकास अघि बढाउन बैंकको भूमिका महत्वपूर्ण छ । बैंकहरूले फाइनान्सियल अवस्थाको चार्टहरू सजिलोसँग प्रकाशन गर्न सकेको अवस्था भने छैन ।

Post a Comment

 
Top