0
अनाथ र असहाय बालबालिकाको संरक्षणमा अहोरात्र खट्दै आएकी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेत अमेरिकी लोकप्रिय टेलिभिजन सिएनएनबाट ‘सुपर हिरो’ को उपाधि हासिल गरेकी छन् । समाजसेवामा गरेको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै बस्नेतलाई सन् २०१२ मा दुईलाख ५० हजार अमेरिकी डलरसहितको पुरस्कारसहित ‘सिएनएन हिरो’ को उपाधि प्रदान गरिएको थियो । सिएनएन टेलिभिजनले सो अवार्ड प्रदान गर्न थालेको दश वर्ष पुगेको अवसरमा ‘सिएनएन हिरो’को उपाधि पाउनेमध्येबाट बस्नेतलाई ‘सुपर हिरो’ को उपाधि प्रदान गरिएको हो । सो उपाधिका लागि विभिन्न मुलुकका पाँच हिरो मनोनयनमा परेका थिए । विश्वका विभिन्न देशमा रहेर समाजसेवामा उल्लेखनीय योगदान पु¥याएका मध्ये एकजनालाई सिएनएनले बर्से्नि ‘सिएनएन हिरो’को उपाधि प्रदान गर्दै आइरहेको छ । अति नै उच्च र सम्माननीय पुरस्कारबाट सन् २०१० मा माइती नेपालकी अनुराधा कोइरालाले पनि ‘सिएनएन हिरो’को उपाधि प्राप्त गरेकी थिइन् । जेलमा रहेका आमाबाबुसँगै दुःखकष्टका साथ हुर्किदै गरेका बालबालिकालाई उद्धार गरी उनीहरुको पालनपोषणमा लागेकी बस्नेत सुपर हिरोको अवार्ड हासिल गरेको खबरले सम्पूर्ण नेपालीमा हर्षविभोर बनाएको छ । राम्रो काम गर्दै जाँदा सही मूल्यांकन हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण हो बस्नेतले प्राप्त गरेको सुपर हिरोको अवार्ड । नेपालमा समाजसेवामा नाममा खुलेका अधिकांश संघ–संस्थाहरु नाफा कमाउने र व्यक्तिगत लाभको प्रयोजनमा लागेको परिपेक्ष्यमा पुष्पा बस्नेतजस्ता प्रतिनिधि नेपालीले हासिल गरेको उपाधिले नेपालको शिर उँचो बनाउनुका साथै समाजसेवामा लाग्न सबैलाई प्रेरित गरेको छ । आफूभन्दा समाज र समाजभन्दा राष्ट्रका लागि त्याग गर्नेहरु पनि मुलुकभित्रै छन्, जसले ‘सिएनएन हिरो’ र ‘सुपर हिरो’जस्ता उपाधि हासिल गरेर प्रमाणित गरेका छन् । सिएनएन हिरो बस्नेतले अमेरिकाका लिज म्याक कार्थी र चाड प्रेग्य्राक, पिलिपिन्सका एफ्रेन पेनाफ्लोडिया र इन्डोनेसियाका रोविन लिमलाई पछि पार्दै उक्त उपाधि हासिल गरेकी हुन् । सो उपाधिसँगै उनले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी छन् । उनको प्राप्त गरेको यो उपाधिले नेपालमै रहेर असाधारण काम गर्ने समाजसेवीहरु अझ बढी खुसी भएका छन् । राजनीतिक अस्थिरता र चरम् बेथितिमा गुज्रिरहेको मुलुकमा बस्नेतले हासिल गरेको उपाधिले छुट्टै अनुभूति भएको छ । राम्रो अध्ययन गरेका नेपाली विद्यार्थी अवसरको खोजीमा विदेश पलायन हुने र दक्ष जनशक्तिहरु नेपालमै योगदान गर्न छाडेर विदेसिनेक्रम अझै रोकिएको छैन । तर पुष्पा बस्नेतलाई सामाजिक अध्ययनको क्रममा घटेको सानो घटनाले समाजसेवामा लाग्न उप्रेरित ग¥यो । जेलमा आमाबुबासँगै रहेकी एक बालिकाले अनाहकमा भोग्नुपरेको पीडाका कारण उनको अवसरको खोजी गर्ने थप आयाम बदलिदियो । त्यपछि अवसरको खोजी गर्न उनी कहिल्यै विदेश पलायन हुनु परेन । उल्टै उनले गरेका अनुकरणीय कार्यका कारण विदेशबाट उनको खोजी भयो । अन्ततः उनले हासिल गरिन्–‘सिएनएन सुपर हिरो ।’ उक्त उपाधिलाई खरबौँ डलरमा पनि साँट्न सकिँदैन । न त यस अभूतपूर्व खुसी साँट्ने भौतिक चिज नै केही छ । उक्त उपाधिले सामाजिक सेवामा लाग्न सबैलाई उत्प्रेरित गर्ने विश्वास लिइएको छ । अझ धेरै संस्थाहरुले महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील भएर काम गर्न सक्नुपरेको छ । अन्त्यमा नेपालको नाम उच्च राख्ने ‘सिएनएन सुपर हिरो’ पुष्पा बस्नेतलाई हार्दिक बधाई !









Post a Comment

 
Top