0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको एकीकरणपछि देशका विभिन्न स्थानमा एकता घोषणा सभा गर्नेक्रम शुरु भएको छ । काठमाडौंमा मंसिर ६ गते भएको घोषणा सभापछि यहि मंसिर ३० गते पोखरामा पश्चिमाञ्चल क्षेत्र स्तरीय घोषणासभा हुँदैछ । घोषणासभामा पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी लगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।
हिमाल, पहाड तराई, कोही छैन पराइ भन्ने मान्यताका साथ हिमाल, पहाड र तराई छुट्याउने गरि ल्याइएको संघीयताको प्रस्ताव खारेज गर्न र हिन्दू राष्ट्र पुनस्थापना गर्ने र अंगिकृत नागरिकता प्राप्त गर्ने कुनैपनि व्यक्तिलाई कार्यकारिणी अधिकार दिन नहुने, नेपाललाई स्वतन्त्र र अखण्ड राष्ट्रको रुपमा कायम राख्दै पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय नीति अवलम्वन गर्ने लगायतका एजेण्डा सहित पार्टीको एकीकरण भएको र कार्यकर्तालाई यी विषयमा जानकारी दिन घोषणासभा आयोजना गरिएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपा केन्द्रीय सदस्य कमलमान गुरुङले काठमाडौंपछि पोखरामा पहिलो घोषणासभा हुन लागेको भन्दै संघीयताको नाममा प्रदेश नं. ४ मा विकट ठाउँहरु समेटेर अनावश्यक बोझ थप्ने काम भइरहेको बताए । विद्यमान स्रोत र साधनमाथि भागवण्डा लगाउने र खण्डिकरण गर्ने प्रयासका कारण समस्या उत्पन्न गर्ने उनको भनाइ थियो । अर्का केन्द्रीय सदस्य कुल बहादुर गुरुङले गणतन्त्रलाई स्वीकार गरेको राप्रपा र राजसंस्था अनि हिन्दूराष्ट्रको पक्षमा रहेको राप्रपा नेपाल बीचको एकताले कार्यकर्तामा खुशी छाएको बताए ।
कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले मंसिर ३० गतेको घोषणासभालाई राप्रपाको जनप्रदर्शनको संज्ञा दिए । घोषणासभाको अघिल्लो दिन मंसिर २९ गते युवाहरुले प्रचारात्मक मोटरसाइकल ¥याली गर्ने उनले बताए ।  कार्यक्रममा पार्टीका पूर्व अध्यक्ष जेवी कुँवरले पार्टीको केन्द्रीय निर्देशन अनुसार ५ वटै विकास क्षेत्रमा एकता घोषणासभाको आयोजना गरिएको बताए । कार्यक्रमको संचालन पार्टीको जिल्ला प्रवक्ता सूर्य बाँस्तोलाले गरेका थिए ।   


Post a Comment

 
Top