0
गोल्डेन न्यूज संवाददाता
गैह्रापाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र पुराना विद्यार्थीलाइ बिदाई गरेको छ । हालै एक कार्यक्रम आयोजना गरि लेकसिटीले विद्यार्थीलाई स्वागत र बिदाई गरेको हो । करिब १० वर्षअघिदेखि स्नातकतहसम्म अध्यापन गराईरहेको लेकसिटीले सुरुदेखि पछिल्लो शैक्षिक सत्रमा उत्तीर्ण भएका विद्यार्थीलाई एकैठाउँ भेला गराएर बिदाई कार्यक्रम गरेको थियो भने नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको थियो। स्थापनाकाल देखि मानविकीमा मुख्य रुपमा पत्रकारिता र समाजशास्त्र विषय अध्यापन गराएको कलेजले यो वर्षदेखि व्यवस्थापन संकायमा बिबिएस पनि अध्यापन गराउन थालेको छ । बिदाई तथा स्वागत कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताका अब्बल विद्यार्थी उत्पादन गरेर लेकसिटीले पत्रकारिता क्षेत्रमा योगदान दिएको बताए ।  समाधान दैनिकका प्रधान सम्पादक नारायण कार्कीले पोखरामा निजी क्षेत्रबाट पत्रकारिता विषय अध्यापन गराएको लेकसिटीले आगामी दिनमा थप शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलाले पोखराको नमूना कलेजको रुपमा लेकसिटीले पहिचान बनाएको बताए । रेडियो अन्नपूर्णका प्रमुुख कार्यकारी दीपेन्द्र श्रेष्ठले मुख्य रुपमा पत्रकारिताका विद्यार्थी उत्पादन गर्दै आगामी दिनमा पोखराका सबैजसो मिडिया हाउसमा लेकसिटीबाट उत्पादिन जनशक्तिले उच्चस्थान लिन सक्नुपर्ने बताए । पूर्व विद्यार्थी अर्जुन गिरीले पत्रकारिताको सैद्धान्तिक ज्ञानले आफुलाई प्रयोगात्मक रुपमा निकै सहज भएको बताए। लेकसिटीका प्राध्यापक शोभाकान्त सिग्देलले आगामी दिनमा थप अब्बल जनशक्ति उत्पादनमा संस्था लागिपर्ने बताए । कार्यक्रममा लेकसिटीका प्रबन्ध निर्देशक ताराबहादुर घिमिरेले शैक्षिक क्षेत्रमा लेकसिटीको योगदानको चर्चा गरेका थिए । लेकसिटीबाट उत्पादित विद्यार्थी विभिन्न संचार माध्यममा उच्च तहमा पुगेको देख्दा आफूहरुलाई खुशी लागेको उनले बताए। पश्चिमाञ्चल फाउन्डेशनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले आगामी दिनमा झन मेहनतका साथ प्रतिभाशाली विद्यार्थी उत्पादनमा आफूहरु लागिरहने बताए ।

Post a Comment

 
Top