0
कास्कीको ढिकुरपोखरीमा हुन लागेको शैक्षिक तथा धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। माघ ५ देखि १२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताइन्छ। शिक्षालाई युगसापेक्ष र समुदायको चाहना अनुसार  रुपान्तरण गर्ने क्रममा माछापुच्छ्रे« मावि तथा क्याम्पसमा प्राविधिक शिक्षासहित यसका फिडर स्कूलहरूको गुणस्तर अभिवृद्धि गरी सिंगो ढिकुरपोखरी लाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो। महोत्सवमा अन्तर्राष्ट्रिय कथावाचक गुरु गोविन्दशरण महाराज र मधुर वाणीका धनी  मीरादेवीले सङ्गीतमय श्रीमद्भागवत् कथावाचन गर्ने मूल आयोजक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार शैक्षिक तथा धार्मिक महोत्सवमा पाँच हजार एक सय शान्तिकलश पूजन, सहस्र शालिग्राम पूजा, विराट धन धञ्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, व्रतवन्ध, शैक्षिक प्रदर्शनी, विभिन्न धार्मिक सम्प्रदायका धर्म गुरुको सहभागिता र राष्ट्रिय कलाकारहरु बाट सङ्गीतमय भजनकीर्तन हुनेछ। महोत्सवबाट ६ करोड आर्थिक संकलन र ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। यस विद्यालयका शिक्षक, विद्यार्थी, पूव विद्यार्थी, अभिभावक, गाविसवासी, विभिन्न समिति तथा समूह संघ, संस्थासाथै राजनीतिक, सामाजिक कार्यकर्ता तथा शिक्षाप्रेमीलाई उत्साहपूर्ण सहभागी रहने आयोजकको अपेक्षा छ। महोत्सवमा एक लाख बढीको सहभागिता रहने बताइएको छ। पूर्व जिविस सभापति तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा पाँच हजार पाँच सय ५५ सदस्यीय मूल आयोजक समिति र ४२ उपसमिति गठन गरिएको छ। प्रमुख संरक्षकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संरक्षकमा संस्थापक क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पं अनन्तनाथ शर्मालगायत कास्की जिल्ला पार्टी प्रमुखहरू, सांसदहरू छन्। राजनीतिक दलका गाविस स्तरीय प्रमुख वरिष्ठ उपाध्यक्ष र दलका जिल्लास्तरीय प्रतिनिधि, सम्पर्क समाजका अध्यक्ष, क्याम्पस स्थापनाकालका संरक्षक, छात्रवृत्तिकोष संस्थापक महोत्सवका उपाध्यक्ष रहेका छन्। २०५६ सालमा पं नारायणप्रसाद पोख्रेलको प्रमुख वाचकत्वमा भएको महायज्ञमा १४ लाख रुपैयाँ बचत भएकोमा अन्य स्रोतबाट रकम थप गरी २० लाख पु¥याई बैंकमा राखी उक्त रकमबाट प्राप्त हुने ब्याज कयाम्पसले प्रयोग गर्दै आएको छ।  स्थापनाकालदेखि हालसम्म जग्गा, भौतिक तथा नगद दान तथा छात्रवृत्ति प्रदान गर्ने दातालाई उच्च सम्मान गर्दै महोत्सवको स्मारिकामा प्रकाशन गरिने अध्यक्ष पौडेलले जानकारी दिए। माछापुच्छ«े मावि तथा क्याम्पसका फिडर स्कुलको गुणस्तर अभिवृद्धि गर्नका लागि महोत्सवबाट संकलन भएको रकमले माछापुच्छ्रे माविमा कक्षा ११ र १२ मा विज्ञानमा विद्यार्थी संख्या वृद्धि गर्ने फिडर स्कुलमा गणित र विज्ञानका विषय शिक्षकको व्यवस्था गर्नुका साथै अंग्रेजी माध्यममा पठन–पाठन गराइने लक्ष्य लिइएको छ। त्यसैगरी शिक्षकलाई पेशागतरुपमा अध्यावधि गर्न विभिन्न कार्यक्रम र वृत्ति विकासका कार्यक्रम सञ्चालन गरिने, प्रत्येक फिडर स्कूलमा कम्प्युटर र इन्टरनेटको सुविधा उपलब्ध गराइने, ढिकुरपोखरीमा शैक्षिक अनुसन्धान केन्द्र स्थापना गरी शैक्षिक परामर्श उपलब्ध गराइने, कक्षा ११ र १२ को पठन–पाठनका लागि नपुग कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला र छात्रवास निर्माण गरिने लक्ष्य लिइएको छ। ढिकुरपोखरीमा प्राविधिक शिक्षा सञ्चालन गर्ने क्रममा पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा कृषि इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्न प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ। न्यून जन्मदर, बसाइसराइ, रोजगारको अवसर नपाउनु र विद्यार्थी प्राविधिक शिक्षातर्फ आकषिर्त हुनुका कारण ग्रामीण भेगका शैक्षिक संस्थामा विद्यार्थी संख्या न्यून हुँदै गएको र विद्यार्थीको आकर्षण बढाउनका लागि पनि यो अभियानमा जुटेको अध्यक्ष पौडेलले बताए। फेवातालको शिर, अन्नपूर्ण हिम श्रृङ्खला र पञ्चासेको काखमा रहेको पोखरादेखि २४ किमि पश्चिममा अत्यन्तै रमणीय र पर्यटकीय ठाउँ ढिकुरपोखरीमा २००७ अगाडि नै संस्कृत शिक्षाको पठन–पाठन भएको र २०१५ देखि भारतीय सैनिक कोषको सहयोगमा अंग्रेजी शिक्षामा पढाइ भएको थियो। २०१६ सालमा राजा महेन्द्रले शिलान्यास गरी नागडाँडामा महेन्द्र प्रावि स्थापना भयो।  सोही विद्यालयमा २०२४ सालमा दार्श्निक निमावि सञ्चालन भएको थियो। २०२८ सालमा उक्त निमावि माछापुच्छ्रे« माविमा प्रस्तावित भई २०२९ सालमा स्थायी स्वीकृति प्राप्त गरेको थियो।२०४८ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रमाणपत्र तह पढाइ भयो भने २०४९ सालदेखि उच्च माविको पढाइ सुरु भयो। हाल ढिकुरपोखरी गाविसमा आधारभूत तहका विद्यालय ११, माध्यमिक तहका पाँच र स्नातक तहको क्याम्पस एक छन्। आफ्नै ३६ रोपनी जग्गा रहेको मावि र विद्यालयको भोगाधिकार दिई सञ्चालित क्याम्पस अत्यन्तै रमणीय स्थानमा छ। हाल कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकीका कक्षा सञ्चालनमा छन्। यस्तै, शिक्षाशास्त्र संकायमा नेपाली र अंग्रेजी साथै माइनर विषयमा स्वास्थ्य शिक्षाको पढाइ हुँदै आएको छ। मूल आयोजक समितिका संयोजक पुण्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव तथा क्याम्पस प्रमुख रामचन्द्र सुवेदीले स्वागत र अर्का महासचिव यादवराज अधिकारीले सञ्चालन गरेका थिए।








Post a Comment

 
Top