0
गोल्डेन न्यूज संवाददाता
 स्वरसम्राट नारायण गोपालको स्मृतिमा पोखरेली कलाकारले उनकै गीतमार्फत सम्झना गर्ने भएका छन् । उनको २६ औं स्मृति दिवसमा पोखराका संगीत संस्थाले नारायण गोपाल स्मृति सांगीतिक कार्यक्रम गर्न लागेका हुन् । मंसिर १९ गते नारायण गोपालको स्मृति दिवस हो तर हामीले १८ गते उनको सम्झनामा कार्यक्रम गर्न लागेका हौं,’ आयोजक संस्थामध्येको पोखरेली युवा सांस्कृतिक परिवारका संगीत संयोजक श्रीमान थुलुङले भने,–‘पोखरेली कलाकारको आवाजमा नारायण गोपालका गीतले पोखरा गुञ्जिनेछ ।’ संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा सांस्कृतिक परिवार, जोजिजू म्युजिक सेन्टर, त्रिवेणी सांगीतालय, गुरुकुल संगीत प्रशिक्षण केन्द्र, तराना म्युजिक सेन्टर र जेई म्युजिक एकेडेमीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । पोखराका झन्डै डेढ दर्जन कलाकारले नारायण गोपालका गीत गाउने संगीत प्रशिक्षण केन्द्रका अध्यक्ष गौतम बिजुक्छेले बताए । नारायण गोपाल जस्ता गायक एक युगमा एक पटक जन्मने त्रिवेणी संगीतालय नवराज बरालले बताए । नारायण गोपालकै गीत सुनेर आफू संगीत क्षेत्रमा होमिएको गायक विनोद बानिया बताउँछन् ।
 
विसं १९९६ असोज १८ गते जन्मेका नारायणगोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । नारायणगोपाल एक सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन् । उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ । उनले करिब १ सय ३६ वटा नेपाली गीत गाएका छन् । उनका गीत नेपाली चलचित्र तथा नाटकमा पनि प्रयोग गरिएका छन् । नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए भने उनले विभिन्न पदमा रहेर सरकारी जागिरे पनि भएका थिए । नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित भएका छन् ।





Post a Comment

 
Top