0
पर्वत जिल्लाको सुदूर दक्षिणभेग स्थित उरामपोखरा गा.वि.स. वडा नं ७ मार्खानीमा रहेको प्रसिद्ध शिवपुरी धाम प्रचार प्रसार एवम् भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ । धार्मिक पर्यटनका धेरै सम्भावना रहेर पनि प्रचार प्रसार एवम् भौतिक पूर्वाधारको विकास गर्न सके यो स्थलललाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् । २०७० सालको जेठ महिनामा पत्ता लागेको कलात्मक शिबजी गुफा र त्यहाँ भित्रका प्राचीन बैदिक संस्कृति झल्काउने मनमोहक दृश्यहरूले जो कोहीलाई आकर्षित गर्ने स्थानीय समाजसेवी ७२ वर्षीय रामप्रसाद तिवारीले जानकारी दिए।
“२०७० सालको जेठमा खेतमा मकै खाएको दुम्सी लखेट्दै जाँदा गुफा फेला परेको हो,” उनले भने–“दुम्सी पसेको सानो प्वालबाट चियाउँदा भित्र उज्यालो प्रकाश देखेपछि के रहेछ भनि उक्त प्वालललाई केही फराकिलो बनाएर हेर्दा वरीपरी पानीको पोखरी बीचमा शिवलिङ्ग र उक्त शिवलिङ्ग माथिबाट अटुट जलधारा खसेको देखियो ।” गुफा भित्र तर्फ ५÷७ जना मानिस बस्न सक्ने फराकिलो पानी सहितको भूभाग, नागहरूले बेरिएको जस्तो देखिने शिवलिङ्ग र त्यसको माथि दायाँ तर्फ पञ्चाङ्ग देवताको मूर्ति, साना साना पानीका कुण्ड, गाईका आकृति जस्ता धेरै मनमोहक दृश्य रहेको छ ।
“गुफा भित्र विभिन्न मादल जस्ता विभिन्न बाजा गाजाका सरसमानको आकार पनि देखिन्छ,” उनले भने–“ती बाजा आकारका संरचना बजाउँदा आवाज समेत सुनिन्छ, झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ, गुफा भित्रको दृश्य र वास्तविकता कल्पनाको स्वर्ग जस्तै छ ।” धार्मिक पर्यटनका धेरै सम्भावना रहेको महसुस गरी गुफा पत्ता लागे यता स्थानीयवासी त्यसको संरक्षणमा लागि परेका छन् । उरामपोखरा गा.वि.स. महिला समन्वय समितिकी अध्यक्ष एवम् स्थानीय श्री चन्द्र उच्च मा.वि.की शिक्षिका हुमकला शर्मा भौगोलिक विकटता, भौतिक पूर्वाधारको अभाव आदिका कारण यहाँको पर्यटकीय आकर्षणलाई पर्यटन बजारमा पु¥याउन नसकिएको बताउछन्।गुफा भित्र रहेका त्रिशुल आकारका आकृति, वैदिक समाजमा १०८ ऋषिमुनीले तपस्या गरे जस्तो दृश्य, शेषनागको जस्तो आकारमा रहेका नागले बेरिएको शिवलिङ्ग र त्यहाँ माथि गाइका थुन जस्ता ठाउँबाट निरन्तर आएको जलधारा, भगवानहरूले लगाउने मुकुट जस्ता धेरै दृश्य धार्मिक पर्यटनका लागि विशिष्ट आकर्षण बन्न सक्ने उनले बताए । सानो प्वालबाट छिरेर प्राकृतिक लिस्नो (भ¥याङ) पार गरेर तल झरे पछि ५÷७ जना व्यक्ति बसेर गुफा र त्यहाँ भित्रका दृश्य हेर्न सकिने उनले जानकारी दिए ।धेरै सम्भावना बोकेको यो स्थललाई राज्यको सहयोग भएमा धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने उनको भनाइ छ । केही काम आँट्नु परेमा शिबपुरी धामलाई सम्झेमा मनले चिताएको पुग्ने जनविश्वास यहाँको अर्को विशिष्टता हो । त्यहाँको प्रचार प्रसार एवम् विकासमा जागरुक बनेका स्थानीयवासीले गुफासम्म सामूदायिक बत्ति लगेका छन् भने भगवान शिबको पूजा हुने शिबरात्री, बालाचतुर्दशी जस्ता पर्वमा विशेष पूजा गर्ने गरेका छन् ।अर्का स्थानीयवासी डोलराज तिवारीका अनुसार शिबपुरी धामका साथै यहाँ आसपासका पैयु कालिका कोट, घना जंगलको बीचमा रहेका आरी रह र खड्करे रह, शिबपार्वती खोला, गोर्लेङ टापु, नायवसाव, शिला शालिग्राम जस्ता ऐतिहासिक स्थलहरू यहाँको पर्यटकीय आकर्षण हुन् । पर्याप्त पर्यटकीय सम्भावना बोकेका यी स्थलको प्रचार प्रसार एवम् विकासका लागि देखिएको स्थानीय सकृयतामा राज्यको सहयोग अपरिहार्य भएको उनले बताए। रासस




Post a Comment

 
Top