0
बार्दली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो नयाँ कार्यलय चिप्लेढुङ्गाबाट कारोबार शुरु गरेको छ । ०६९ देखि पोखराको पृथ्वीचोकमा मूख्य कार्यलय रहेको सहकारीले शुरुमा १० लाख सेयर पुँजीबाट कारोबार शुरु गरेको थियो । २ सय ९० शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड २५ लाख बढि छ । नयाँ मूख्य कार्यलयसंगै सहकारीले डिस्काउण्ट कार्ड, आपतकालिन स्वास्थ्य सेवा, सुनौलो बाल भविष्य, कृषि र व्यापारमा समूहगत लगानी लगायतका नयाँ योजनाहरु सञ्चालनमा ल्याएको छ ।पोखराको सेलवेज डिपार्टमेन्ट स्टोर, फेवा सिटी हस्पिटलको औषधी र बिग बजार चिप्लेढङ्गा र यामाहा मोटर्सका लागि डिस्काउण्ट कार्डको कार्यक्रम ल्याएको संस्थाका अध्यक्ष रेशम सापकोटाले बताए । संघीय मामिला तथा स्थानीय बिकासमन्त्री हितराज पाण्डेले चिप्लेढुङ्गास्थित सहकारीको नयाँ कार्यलयको उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले उत्पीडित, बिपन्न बर्ग र न्यून आय भएकाहरुका जीवनस्तर उकास्न सहकारीले भूमिका खेल्न आग्रह गरे । मन्त्री पाण्डेले सबै किसिमका सहकारी संगको सहकार्य र सहयोगमा अघि बढ्न सुझाव दिए ।नयाँ संविधानमा समाजवादी आर्थिक व्यवस्थाको उल्लेख गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले वर्तमान सरकार देशको आर्थिक समृद्धि र जनताको ईच्छालाई अघि बढाउन दृढ संकल्प रहेको चर्चा गरे । उनले सरकार संविधानको कार्यान्वयनमा लागेको समेत दावी गरे । सहकारी डिभिजन प्रशिक्षण कार्यलयका प्राचार्य बद्रीनाथ अधिकारीले सहकारीका सबै सदस्यहरु समान हुने बताउँदै न्यून आय भएका सदस्यहरुलाई संस्थाले बिशेष प्राथमिकतामा राख्नुपर्ने औंल्याए । पोखरा वडा नं ८÷९ वडा सचिव लोकदर्शन कोइरालाले सहकारीले उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिए । संस्थाका सल्लाहकार मोतिलाल तिमिल्सिनाले समस्याग्रस्त संस्थालाई स्तरोन्नती गरेको चर्चा गर्दै न्यून आय भएकाहरुलाई सहकारीले प्राथमिकतामा राख्ने बताए । संस्थाका अध्यक्ष रेशम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरबहादुर थापाले स्वागत मन्तव्य र सचिव मोहन सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।



Post a Comment

 
Top