0
मार्फा भन्नेबित्तिकै धेरैको मुखमा स्याउ रसाउँछ। कतिपयलाई थकाली खानाको बास्ना हर्हराउँछ । तर, तिनैलाई थाहा नहुन सक्छ, त्यहाँको ‘तारा’ ले झन् कति धेरै मन भुलाउँछ ? त्यही ‘तारा’ अर्थात् तीर हान्ने खेलमा शनिबार पोखरेलीहरू रमाइरहेका थिए । ‘तारा’ मार्फालीका लागि केवल खेल होइन, संस्कृति हो । त्यसैलाई बचाउन मुस्ताङको मार्फाबाट सहरतिर झरेका थकालीहरूले करिब ४५ वर्षदेखि यसको प्रतियोगिता गर्दै आएका छन् । त्यसैको नयाँ संस्करण पोखरामा सुरु भएको छ । मार्फाको सबैभन्दा ठूलो पर्व हो तेरेमी । फागु पूर्णिमादेखि ६ दिन हर्षोल्लासपूर्वक मनाइने यस पर्वको मुख्य विशेषता हो– तारा हान्नु । थकाली भाषामा ‘मे’ भनिए पनि नेपालीमा उल्था गरेर ‘तीर’ अथ्र्याउने ‘तारा’ बनाइएको हो । परापूर्वदेखि बाँसको धनु र निगालाको बाँण प्रयोग गरिन्थ्यो । त्यसमा डाँफेको प्वाँख राखेर सजाइएको हुन्थ्यो । ‘अचेल डाँफेको प्वाँख कहाँ पाउनु ?’ मार्फा थकाली समाज सेवा सदनका महासचिव मखनलाल हिराचन भन्छन्–‘त्यसैले हाँस–कुखुराको प्वाँखले काम चलाउने गरिएको छ ।’ मार्फामा तारा हान्ने पर्व पिता–पुर्खादेखि चल्दै आएको छ । अझै यसलाई धुमधाम मनाइन्छ । तैपनि सुरु कहिलेदेखि भयो भन्ने कसैलाई हेक्का छैन । त्यसको गहन अनुसन्धान पनि भएको छैन । ‘हामीले जान्दै देख्दै आएका हौं,’ सदनका अध्यक्ष दीर्घसिंह लालचन भन्छन्, ‘कति पुस्ता भयो, कसैलाई थाहा छैन ।’ महासचिव हिराचन र टीकाराम राईद्वारा लिखित ‘मार्फा थकाली जातिको चिनारी’ पुस्तकमा छ–‘आफ्ना इष्ट देवता र पिता–पुर्खाको स्मरण एवं सम्मान गर्दै थकालीहरू थाक खोला आई बसोबास गर्न थालेपछि सभ्यता, परम्परा विकास क्रमसँगै यो पर्व मान्न थालेको पाइन्छ ।’ मार्फामा पहिला यो २४ दिन मनाइन्थ्यो । क्रमशः १२ हुँदै अहिले ६ दिनमा झरेको छ । यो चाड मार्फाली पात्रोअनुसार १२ महिनामध्ये दोस्रो तोरेनलमा पर्छ । यसमा १८ देखि ७२ वर्ष उमेरका सबै पुरुष अनिवार्य उपस्थित हुनुपर्छ । त्यसका लागि मुखिया (गन्नेमान्ने पाका व्यक्ति) ले घर–घरमै खबर पठाउँछन् । ‘मार्फा थकाली जातिको चिनारी’ मा लेखिएको छ, ‘उपस्थित नहुनेलाई जरिवानासमेत तिराइन्छ ।’ दुई हजार ६ सय ५० मिटर उचाइमा रहेको मार्फाका बासिन्दा हिउँदमा तल झर्छन् । तेरेमी पर्व यस्तो समयमा पर्छ, जति बेला सबै घर फर्किइसकेका हुन्छन् । ‘पहिला–पहिला यो पर्वमा नपुग्ने व्यक्ति तलतिरै बितेछ भन्ने ठानिन्थ्यो,’ लालचनले भने–‘त्यही कारण पनि सबै अनिवार्य फर्कन्थे । चाड धुमधाम हुन्थ्यो ।’ दुश्मनसँग लड्न परापूर्वमा प्रयोग गरिएको तीरलाई मार्फाली थकालीले भने सांस्कृतिक सम्बन्ध सुमधुर बनाउन उपयोग गर्दै आएका छन् । ‘मिल्नेसँग रमाऊ, परिआए आफूलाई बचाऊ भनेर यो खेल सुरु गरिएको हुन सक्छ,’ पुष्टि नभए पनि विगतबारे पुस्तक लेखक हिराचन अनुमान गर्छन्–‘त्यो नै हाम्रो अभिन्न संस्कृति बनेको छ ।’ मार्फाबाट पोखरा बसाइँ सरेका कमल हिराचनका अनुसार तारा खेलिने तेरेमी पर्वमा सहभागी भएकालाई दुई भागमा बाँडिन्छ । एउटालाई ‘फो’ (भाले) र अर्कालाई ‘म्हो’ (पोथी) नामकरण गरिन्छ । तर, परम्परादेखि नै तीर खेल्ने स्थलमा महिलालाई प्रवेश दिइँदैन । ‘तारा खेल मार्फाली थकालीको परापूर्वदेखिको साथी जत्तिकै हो,’ ९५ वर्षीय कृष्ण हिराचन भन्छन्, ‘हाम्रा पालामा यो जति उमंगसाथ खेलिन्थ्यो, त्यो अझै घटेको छैन ।’‘तारा खेल्ने स्थलसम्म महिला बिदाइ र स्वागत गर्न पुग्छन्,’ पोखरामा यो खेल संयोजन गरिरहेका गोविन्द हिराचन भन्छन्, ‘त्यस क्रममा बाटामा गीत गाउँदै, दोहोरी खेल्दै जान्छन् ।’ विशेषगरी यही चाड मनाउन मार्फा थकालीले गाउँमा साझा घर बनाएका छन् । त्यसैमा ६ दिन भोज चल्छ । ‘यो पर्व मेलमिलाप र एकताको प्रतीक पनि हो,’ उनले भने । मार्फा थकालीको अर्को सांस्कृतिक दिन छ– ‘ल्हपसाङ’ अर्थात् पूर्णिमा पूजा । आ–आफ्नो अनुकूलताअनुसार कुनै न कुनै पूर्णिमामा उनीहरू विशेष पूजा गर्छन् । त्यसमा पनि धनु र बाँणको प्रयोग गरिन्छ । तेरेमी पर्व मनाउन भने घर–घरबाट पाथी–पाथी अन्न उठाएर जाँड बनाइन्छ । भेडा किनिन्छ, काटिन्छ । सामूहिक भोज गरिन्छ । ६ दिनसम्म तारा खेल्ने प्रतियोगितामा उत्कृष्ट हुनेलाई गाउँको गच्छेअनुसार पुरस्कार दिइन्छ । पोखरामा ६ दिनै चल्ने प्रतियोगिताको पुरस्कारका लागि भने अध्यक्ष लालचनले यसपालि देखि आफ्ना बुवा अमरसिंहको स्मृतिमा कोष निर्माण गरेका छन् । यसको रनिङ सिल्ड जित्नेले २ लाख रुपैयाँ पाउँछ । प्रथम स्थान ल्याउने टिमलाई ७६ हजार रुपैयाँ पुरस्कार दिइनेछ । अन्य धेरै पुरस्कार छन् । पोखरामा २०२९ मा मार्फा थकाली समाज सेवा सदन दर्ता भएसँगै उनीहरू तारा खेल संरक्षणमा लागेका हुन् । ‘त्यस बेला ठाउँ नहुँदा खेत–खेतमा समेत खेलाइयो,’ लालचनले भने,–‘अब भने व्यवस्थित भएको छ । संस्कृति नमरोस्, भाइपुस्तासम्म बाँचिरहोस् भन्ने हाम्रो चासो हो ।’
अखण्ड भण्डारी÷भीम घिमिरे
     कान्तिपुर अनलाइन



Post a Comment

 
Top