0
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन राष्ट्रियता र जनहित विपरित रहेको भन्दै कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन्। नेकपा एमाले कास्कीले आइतबार पोखरामा आयोजना गरेको कार्यकता भेला एवं पाटीको मुखपत्र घोषणाको लोर्कापण कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयन गर्नुपर्ने बेला संशोधनको हल्ला गर्नु ब्यर्थ भएको बताए । ‘संविधान संशोधनको हल्ला ब्यर्थ हो’, उनले भने–‘संविधान संशोधनले द्वन्द्व र विभाजन निम्त्याउछ।’ नेता खनालले अंगिकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने, हिन्दीलाई राष्ट्रिय भाषा बनाउने, पहाड र तराईलाई छुट्याउने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने बताए । उनले भने–‘अंगिकृतले प्रमुख पदमा जान पाउनुहुन्न, यस्तो ब्यवस्था कुनै पनि देशमा छैन हामी त्यसलाई स्वीकार गर्न सक्दैनौ ।’ ‘दक्षिणबाट पसेका ब्यक्तिले देशका प्रमुख पदमा जानपाउनुपर्छ भन्ने भनाई राष्ट्रियता विपरीत छ’, उनले भने–‘राष्ट्रिय भावनामा चोट पुर्याउने प्रस्ताव एमालेले घाम जुन रहेसम्म मान्दैन ।’ उनले नेपालको संविधान लोकतान्त्रिक रहेको भन्दै त्यसको रक्षा र कार्यान्वयन गर्ने सवैको दायित्व भएको बताए । ‘नेपालको संविधान अधिकार सम्पन्न, देशभक्ति, प्रगतिशिल र लोकतान्त्रिक रहेको भन्दै उनले सबै नेपालीलाई एकताबद्ध गर्ने डोरीका रुपमा रहेको बताए। ‘सबैर्लाइ एकताबद्ध गर्ने डोरीको रुपमा संविधान आएको छ’ उनले भने –‘हामी नेपाली हौं, जसरी फूललाई डोरीले बाँधेको छ नेपालको संविधान पनि सबैलाई एकतामा बाँध्ने खालको छ । उनले संविधान उत्कृष्ट हुँदाहुदै पनि केही कमजोरी हुन सक्ने बताउँदै मधेशी मोर्चाका नेताले उठाएका असन्तुष्टिहरु औचित्यपूर्ण नभएको दावी गरे । कार्यक्रम एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सचिव दामोदर बैरागीले गरेका थिए ।








Post a Comment

 
Top