सरकारले विपन्न, असाहय तथा वेवारिशे विरामीलाई निःशुल्क स्वाथ्य सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण निजी, गैरसरकारी, शिक्षण अस्पताल, सरकारी नर्सिङ होमबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान हुने जानकारी दिएको हो । स्वास्थ्यमन्त्री गगन थापाले नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण निजी, गैरसरकारी, शिक्षण अस्पताल, सरकार नर्सिङ होमले अनिवार्यरुपमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जानकारी दिए । सुशासन ऐन २०६४ को दफा ४५ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धि निर्देशिका २०७० बमोजिम मन्त्रालयले सो व्यवस्था गरेको हो । निर्देशिका अनुसार सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरुले कुल शैयाको १० प्रतिशत शैयामा निःशुल्क उपचार प्रहाव गर्नुपर्ने छ भने त्यसका लागि फारमहरु निर्माण गरी यसअघि नै सबैलाई पठाइसकिएको छ । सो अनुसार नीजि स्वास्थ्य संस्थाको संगठन (एपीएचआइएन) ले समेत निःशुल्क उपचार गराउने प्रतिबद्धता जनाइसकेको छ । सरकारले गत कार्तिक १३ गते नै गरिव, असहाय, अपांगता लगायतकाको उपचार सेवामा १० प्रतिशत छुट दिन सार्वजनिक सुचनानै निकालेको थियो । त्यसको कार्यान्वयन नभएको भन्दै सेवाग्राहीले गुनासो गरेपछि मन्त्री थापाले त्यसको कार्यान्वयन लाई प्रभावकारी बनाउने गरी अभिलेख राख्ने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
निःशुल्क स्वास्थ्य सेवा पाउने सेवाग्राही को ?
मन्त्री थापाका अनुसार विपन्न, वेवारिशे र असाहाय व्यक्तिहरुले त्यस्तो सेवा पाउने छन् । यस्तै जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुले पनि त्यस्तो सुविधा प्राप्त गर्नेछन् ।
सो सुविधा प्राप्त गर्नका लागि स्थानीय प्रशासनबाट रिफारिस पत्र ल्याउनु पर्नेछ । मन्त्री थापाले निजी अस्पतालहरुले सेवा शुल्कमा १० प्रतिशत छुट दिए नदिएको जानकारी सम्बन्धित जिल्लाका गाविस, नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने व्यवस्था मिलाइएको पनि उल्लेख गरे ।
निःशुल्क सेवा के–के ?
निशुल्क सेवामा चिकित्सक परामर्श, प्रयोगशाला, नर्सिङ, अस्पतालमा उपलब्ध डाइगनष्टिक, अक्सिजनलगायत उपलब्ध हुनेछ ।
सेवा अनुगनम सूचकहरु
–अस्पतालले बिरामीलाई स्वयम् घोषणा फाराम भराई त्यसको रेकर्ड सम्बन्धित निकायमा पठाइएको हुनेछ ।
–बिरामी भर्ना हुनासाथ ‘विपन्न र असहाय बिरामीको लागि निःशुल्क शैया’ लेखेको स्टिकर शैयामा टाँसिएको हुनेछ ।
–बिरामी सूचनाबोर्डमा अस्पतालमा निःशुल्क उपचाररत बिरामीहरुको विवरण राखिएको हुनेछ ।
मन्त्रालयका अनुसार कुूल शैयाको १० प्रतिशत शैयामा निशुल्क उपचार सेवा प्रवाहको लागि सार्वजनिक सूचना प्रवाह भइसकेको छ भने मन्त्रालय मातहतका निकायमा कार्यान्वयनका लागि परिपत्र भइसकेको छ । सो कार्यान्वयन भए नभएबारे कार्यान्वयन इकाइले अनुगमन गर्ने मन्त्री थापाले जानकारी दिए ।
यस्तै सेवासम्बन्धी गुनासो सम्बन्धित जिल्ला जनस्वास्थ्य÷ स्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशानलय, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयलको गुनासो व्यवस्थापन इकाइमा राख्न सकिने पनि मन्त्रालयले जनाएको छ ।
Post a Comment