0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जाको भीरकोटमा पहिलो पटक महोत्सव हुने भएको छ । केहि महिना अघि नगरपालिका घोषित भीरकोट नगरपालिकामा गठन भएको भीरकोट उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । आगामी पुस ८ देखि १८ गतेसम्म भीरकोट  नगरपालिका–१ स्थित सिसौघारी मैदानमा हुने महोत्सव बारे आईतवार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । स्थानीय प्रतिभा प्रष्फुटन सहित स्थानीय स्तरमा उत्पादित बस्तुको प्रबद्र्धनमा जोड दिने गरी महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
११ दिनसम्म चल्ने महोत्सवमा औद्योगिक ब्यापार मेला, बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, कृषि मेला, पशुपंक्षीको बिक्री एबं प्रदर्शनी, सुन्तला प्रदर्शनी लगायत समावेश गरिएको संघका अध्यक्ष एवं महोत्सव संयोजक हर्क गुरुङले जानकारी दिए । महोत्सवमा विभिन्न प्रकृतिका झण्डै एक सय ५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर झण्डै तीन करोडको आर्थिक कारोवार हुने र झण्डै साढे दुई लाख दर्शक भित्र्याउने लक्ष्य छ । 
मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीका लागि ३० रुपैयाँ टिकटदर कायम गरिनुको साथै मेला अबधिभरका लागि पाँच सय रुपैयाँको प्रवेश पासको समेत ब्यवस्था गरिएको छ । महोत्सव सम्पन्न गर्न ६८ लाख ७५ हजार रुपैया खर्च हुने र सोहि बराबरको आम्दानी हुने अनुमान छ । महोत्सवबाट रकम बचत हुन आएमा सोहि क्षेत्रको कृषि, पर्यटन, खेलमैदानको स्तरबृद्धिमा खर्च गर्ने आयोजकले जनाएको छ ।
मेलामा आयोजित रत्यौली गीत प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १०, तेस्रो हुनेलाई पाँच तथा सान्तोना स्थान प्राप्त गर्नेलाई तीन हजार रुपैया पुरस्कार प्रदान गरिने महोत्सवका सास्कृतिक संयोजक तुलसी प्रभासले जानकारीदिए । 
त्यस्तै खुल्ला गजल वाचन प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रोलाई ७, तेस्रो हुनेलाई पाँच र सान्तोना हुनेलाई तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । महोत्सवको अबसरमा अगुवा उत्कृष्ट किसान छनौट गरी सम्मान समेत गरिने आयोजकले जनाएको छ । उत्कृष्ट किसान तर्फ पहिलोलाई १० हजार, दोस्रोलाई ७, तेस्रोलाई ५ र सान्त्वनालाई एक हजार नगद पुरस्कार सहित सम्मान गरिनेछ ।
विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई पाँच र सान्तोना हुनेलाई दुई हजार रुपैया प्रदान गरिनेछ । क्लब स्तरीय लोकनृत्य तर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५, तेस्रोले १० र सान्त्वना हुनेले पाँच हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवमा अबसरमा प्रदर्शन गरिने संस्कृति, झाकी तथा भेषभुषा तर्फ पहिलो हुनेलाई पाँच हजार, दोस्रोलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैया प्रदान गरिनेछ ।
महोत्सव सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमिति गठन गरी तयारी तिब्र पारिएको संघका महासचिव कमल विकास त्रिपाठीले जानकारी दिए । नगरपालिका घोषणा भएपछि गठन भएको भिरकोट उद्योग बाणिज्य संघमा झण्डै पाँच सय सदस्य छन् ।

Post a Comment

 
Top