0
भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । केन्द्रीय समितिको ऐतिहासिक बैठक यही गोठमा बसेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेका थियौं’, दायाँ हातले अघिल्तिरको गोठ देखाउँदै गर्दा प्रचण्डको गला अवरुद्ध भयो । उनले आफ्नो अनुभूति सुनाउँदै थपे, ‘आज हामी लिडरसीपको एउटा टिमै यहाँ उपस्थित छौं । ऐतिहासिक चुनवाङ बैठक सकेपछि मैले पहिलोचोटी सावर्ज्निक रुपमा तपाईहरुलाई सम्बोधन गरेको थिएँ । त्यतिबेला मैले तपाईसामू बोलेका कुरा अहिले स्मरण गरिरहेको छु । मैले भनेको थिएँ, अब नेपालमा ठूलो हुरी आउँदैछ, राजनीतिले नयाँ मोड लिन्छ, जनयुद्धका सपना संस्थागत हुनेछन् । आज म १२ वर्ष अघिको बैठकका निर्णय र तपाईहरुसामू गरेको सम्बोधन स्मरण गरिरहेको छु ।’ १२ वर्षपछि चुनवाङमा करिब १२ मिनेट नै बोलेका प्रचण्ड निकै गम्भीर र भावुक मुद्रामा थिए । आफ्नो मन्तव्यमा उनले जनयुद्धका सपना, यसको भविष्य र राजनीतिका गाँठादेखि चुनवाङ बासीसँगको
 
सामिप्यतासम्मका कुरा गर्न भ्याए । चुनवाङबासीलाई सम्बोधन गर्नुपूर्व प्रचण्डले ऐतिहासिक चुनवाङ बैठक बसेको गोठ, आफू सुतेको बेड, केन्द्रीय कार्यालयको बैठक कोठाको मात्रै अवलोकन गरेनन्, चुनवाङदेखि म्याग्दीको बेनीसम्म पुग्ने गुरिल्ला ट्रेल (युद्ध पयर्टन) र युद्ध संग्रहालयको उद्घाटन पनि गरे । प्रचण्डको अनुहारले १२ वर्षअघिका दृश्यहरुको एक(एक स्मरण गरेझैं लाग्थ्यो, जुन कुरा उनको मन्तव्य र हाउभाउमा प्रष्टै झल्कन्थ्यो । छोटो मन्तव्यका क्रममा प्रचण्डले आफ्नो अनुभूति चुनवाङ्गीहरुसँग साटे । उनले थपे, ‘१२ वर्षपछि पनि म सुतेको बेड रुम, केन्द्रीय कार्यालयको बैठक बस्ने कोठा, ऐतिहासिक बैठक बसेको गोठ लगायत सबै ठाउँहरु उस्तै रहेछन् । आज मलाई पुराना दिनहरुको स्मरण मात्रै भएको छैन, हाम्रा प्रतिवद्धता र सपनाहरुको पनि स्मरण ताजा भएर आएको छ । म तपाईहरुसामू फेरि भन्छु, हाम्रो सपना पुरा भएको छैन, विकास र आर्थिक समृद्धिका जगमा समाजवादको कार्यभार पुरा गर्नुछ, तपाईहरुको जीवनमा परिवर्तन ल्याउनु छ, मैले त्यसैका लागि कोशिस गरिरहेको छु’, यसो भनिरहँदा उनी झण्डै रोएनन्, थपे, ‘जतिसुकै चुनौति आउन्, हामीले गन्तव्य भूल्ने छैनौं ।’
१२ वर्षपछि प्रचण्ड चुनवाङ पुग्दा युवा पुस्तामा कौतुहलता र पाकाहरुमा पुराना दिनको स्मरणले हर्षका आँसु छचल्किएको देखिन्थ्यो । १२ वर्षपछि पनि चुनवाङ उस्तै थियो । प्रचण्ड बसेको घरलाई सरकारले १० लाखमा खरिद गरेर संग्रहालय बनाएको थियो । प्रचण्डको सेल्टरको ढोकामा ‘प्रचण्ड बसेको घर’ लेखिएको थियो । त्यहाँबाट भित्र छिरेपछि बैठक कोठामा पुगिन्थ्यो, जहाँ तात्कालीन विद्रोही माओवादीको ‘हेडक्वार्टर’ बैठक बस्ने गर्दथ्यो । बैठक कोठाबाट अघिल्तिर छिरेपछि प्रचण्डको ‘बेड रुम’ आउँथ्यो । एउटा सामान्य खाटमा तन्ना, सिरानी र सिरक थियो, जुन बेडमा १२ वर्ष पहिले प्रचण्ड सुत्दथे । भावुक मुद्रामा प्रचण्डले ती सबै कोठाहरु हेरे र आफ्नो बेड रुममा फोटो खिचाए, जतिबेला उनको अनुहारमा एक खालको रोमाञ्चकता झल्कन्थ्यो ।
प्रचण्ड बस्ने घरको ढोकामा एक गुरिल्ला उभिएका थिए । हातमा लठ्ठी लिएका, जनमुक्ति सेनाको पोसाकमा सजिएका, काँधमा ‘पिएलए’ लेखेको फूलीमा सजिएका ती गुरिल्लासँग प्रचण्डले छोटो भलाकुसारी गरे । जनयुद्धको शान्ति प्रक्रियामा प्रवेशसँगै जनमुक्ति सेनाले समायोजन र स्वेच्छिक अवकाशपछि आफ्नो परिचय बदलेको थियो । तर, प्रचण्ड बसेको घरको ढोकामा उभिएका गुरिल्लाले जो(कोहीलाई जनयुद्धकै स्मरण ताजा बनाइदिन्थे । ती गुरिल्लाले भने, ‘आज मात्र होइन, समय समयमा म यहाँ आउँछु र अध्यक्ष बसेको घरको सुरक्षा गर्छु’, उनको बोलीमा एक खालको आत्म विश्वास, जनयुद्ध र प्रचण्डप्रति असीम सम्मान झल्कन्थ्यो । चुनवाङ यात्रामा प्रचण्डसँगै माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन, गणेशमान पुन, जोखबहादुर महराहरु थिए । एक जना स्थानीयले भने, ‘बादल दाइ बसेको घर यही हो ।’ प्रचण्डसँगै नजिकै रहेका बादलले आफू बसेको घर आँखा अड्याएर हेरे, अनि भने, ‘म बसेको घर यही हो, अहिले नै उस्तै रहेछ ।’ बादल बस्ने घर रुकुम चुनवाङ–२, भेरीडाँडाका लालबहादुर खड्काको थियो । ‘बादल निवास’ अहिले पनि उस्तै थियो, १२ वर्षअघि युद्धका सैन्य कमाण्डर मानिने बादल बस्दा जस्तो थियो । डेढ घण्टा लामो बसाईमा प्रचण्डले स्थानीयसँग भलाकुसारी मात्रै गरेनन्, गाउँका सबै दृश्यहरु गहिरो गरी अवलोकन गरे । उनले शहिद परिवारसँग अन्तरक्रिया गरे, नजिकका डाँडाहरु नियाले, जहाँ न्याय र समानताको सपना बोकेर लडिएको युद्धमा हजारौं जनताले मुक्ति वा मृत्युको संकल्प गरेका थिए । १२ वर्षपछि प्रचण्ड, बादलहरु भेट्दा चुनवाङ उत्साहले छचल्किएको थियो । लालकिल्लाका योद्धाहरुमा पुराना दिनहरुको स्मरण र नयाँ गन्तव्यका लागि आत्म विश्वास भरिएको अनुभूति हुन्थ्यो । प्रचण्ड बसेको घर भेरीडाँडाकी ५० वर्षीय जुनसरा ओलीको थियो । मैले सोधें, ‘उहाँ को हो, चिन्नुहुन्छ ?’ जुनसराले प्रतिप्रश्न गरिन्, ‘आफ्नै घरमा बसेको मान्छेलाई नि चिन्दिनँ होला त ? प्रचण्ड हो, देशको ठूलो नेता ।’ १२ वर्षपछि प्रचण्ड फेरि आउँदा कस्तो लाग्यो भन्ने प्रश्न गर्न नपाउँदै उनले भनिन्, ‘एकदम रमाइलो लाग्या छ, हाम्रो घरमा बसेको मान्छे देशको प्रधानमन्त्री हुनु भाछ, गाउँमा पनि पहिलाभन्दा धेरै सुविस्ता छ ।’ चुनवाङको जनजीवनमा चामत्कारिक परिवर्तन नभए पनि रुकुमेलीले पहिलोपटक आफ्नै राज्य र सरकारको अनुभूति गरेको प्रमाण थियो जुनसराको अभिव्यक्ति । एकथरी मान्छेहरु रोल्पा–रुकुमबाट भयङ्कर आतङ्कित र अवसर पाएकोमा डाहा पनि गर्दथे । ‘अवसर जति रोल्पा रुकुमलाई’ भन्ने आलेखभित्र लालकिल्लासँगको डाहा र तिरस्कारको भाव झल्कन्थ्यो । अर्काथरी मान्छेहरु समाजवाद र साम्यवादभन्दा तल कुनै परिर्वतन हेर्ने चेष्टै गर्दनथे । उनीहरुका दृष्टिमा समाजवादभन्दा तलका सबै उपलब्धि ‘मूतको न्यानो’ थिए । तर, चुनवाङको भावभङ्गीले भन्थ्यो, ‘यी दुवै अतिवाद हुन्, शब्द र कर्मको एकैचोटी एकत्व हुँदैन । तर, शब्द र कर्मबीच सामिप्यता हुनुपर्छ ।’ चुनवाङको साझा बुझाई थियो, ‘जनयुद्धको उद्धेश्य र गन्तव्य धेरै महान् छ, धेरै टाढा छ । तर, हिडिरहेको बाटो भत्काए गन्तव्य झन् धुमिल हुन्छ ।’ मूलधारका भन्ठान्ने मिडियाहरु प्रचण्ड र माओवादीले जनयुद्धका प्रतिवद्धता र गन्तव्य भूलेको अभियोग भिराउँथे । मनमनै सोचें, ‘मेरो निष्कर्ष पनि कतै मनोगत त छैन ?’ अलि गम्भीर मुद्रामा नजिकै उभिएका ३८ वर्षीय लालबहादुर बिष्टलाई सोधें, ‘त्यत्रो युद्ध भयो, रुकुमले सयौं मानिस गुमायो, जनयुद्धमा तपाईहरुले त्यत्रो त्याग, बलिदानी गर्नुभयो । आखिर, जनयुद्ध र चुनवाङ बैठकले के दियो ?’ बिष्टले अकाट्य जवाफ दिए, जुन जवाफको मसँग प्रतिप्रश्न थिएन । बिष्टले भने, ‘यस्ता बैठक धेरै ठाउँमा बसे होलान् । तर, चुनवाङ बैठकले राजतन्त्र ढाल्यो, लोकतान्त्रिक गणतन्त्र ल्यायो । हाम्राजस्ता गाउँहरुले पनि विकास देख्न पाए, शान्तिको स्थापना भयो ।’ बिष्टले थपे, ‘गाउँमा बिजुली छ, पानी छ, मोटरबाटो बन्दै छ, हाम्रा आफ्नै मान्छेहरुले जितेका छन् । विकासका काम पनि हुँदैछन् । गर्न त खोजेका छन् नि बड्डाहरुले, तर भनेजस्तो सबै भएको छैन ।’ भेरीडाँडाबाट २ किलोमिटर उकालो यात्रापछि सुगरेखालमा पुगिन्थ्यो, ‘जहाँ चुनवाङ बैठकपछि क्रान्तिकारी कलाकारहरुले ‘क्रान्तिकारी असेरा’ देखाएका थिए, अनि प्रचण्ड, बाबुराम, बादल, दिवाकरहरु ‘असेरा’ हेर्दाहेर्दै भावविहृवल भएका थिए । त्यो ‘अपेरा’ पार्टी विवादका बीच जन्मिएका सयौं अनुत्तरित प्रश्नहरुको जवाफ दिने एक राजनीतिक र भावनात्मक ‘सेतु’ पनि थियो । बिष्टले डाँडोतिर देखाउँदै भने, ‘त्यही डाँडोमा देखाएको ‘अपेरा’ ले माओवादी आन्दोलनमा एकताको भाव दिएको थियो ।’ हेर्दा सामान्यजस्तो लाग्ने त्यो भूगोल र चुनवाङका बासिन्दामा माओवादी आन्दोलनप्रति अशिम सम्मान र माओवादी नेताहरुप्रति भरोषाको भाव झल्किन्थ्यो ।
मेरा लागि रोल्पा–रुकुमको यात्रा नयाँ पक्कै थिएन, जनयुद्धका आँधीमय दिनहरुमा रोल्पा–रुकुमको त्यो अविस्मरणीय प्रेम पूनर्ताजगी भयो । १३ वर्षपछि रुकुम पुग्दा मेरो मस्तिष्कमा एउटै प्रश्न नाँचिरहेको थियो, ‘मूलधारका भन्ठान्ने मिडियाले प्रचार गरेजस्तो के माओवादी केन्द्र र प्रचण्डप्रति रोल्पा–रुकुमको मोहभंग भएको हो त ?’ डेढ घण्टे बसाईका क्रममा मेरो सम्पूर्ण ध्यान यही प्रश्नको धरातलीय जवाफमा केन्द्रित थियो । तर, उपस्थित स्थानीयको अनुहारले मेरो आशंकालाई सिधै नकार्दथ्यो । प्रचण्डसँग भेटको साझा सन्देश थियो, ‘जनुयद्ध महान् थियो, ऐतिहासिक थियो, यसको लक्ष्य र गन्तव्य नभूल । तर, रगतसँग साटिएका उपलब्धि रछ्यानमा मिल्काएर शून्यतामा दौडिने अधिकार तिमीलाई छैन ।’
 
२०६२ सालको असोजमा सम्पन्न चुनवाङ बैठक माओवादी पार्टीको आन्तरिक जीवनमा मात्रै नभएर देशकै राजनीतिका लागि ऐतिहासिक रहृयो । ‘लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं, राजनीतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाईमा उठाऔं’ भन्ने मुल नारा तय गर्दै सम्पन्न भएको चुनवाङ बैठकको कार्यनीति ‘डाइनामिक’ थियो । चुनवाङ बैठकले एकातिर सडकमा भएका संसदवादी दलहरुसँग सहकार्य गर्दै निरङ्कुश राजतन्त्रका विरुद्ध साझा संघर्षको उठान गर्ने कार्यनीति लिएको थियो भने अर्कोतिर राजनीतिक र फौजी संघर्ष मार्फत् सहमतिको ‘बाध्यतात्मक परिस्थिति’ निर्माण गर्ने कार्यनीति पनि सँगै थियो । यसैको जगमा २०६२ मंसीर ७ गते माओवादी–संसदवादी शक्तिबीच १२ बंदे सहमतिमार्फत् राजनीतिक सहकार्यको प्रारम्भ भएको थियो । मन्तव्यका क्रममा प्रचण्डले सुनाए, ‘मलाई स्मरण छ । चुनवाङ बैठकपछि ११ दिन हिडेर हामीले १२ बूंदे सहमतिको तयारी गरेका थियौं । मैले र गिरिजाबाबुले १२ बूंदे सहमतिमा हस्ताक्षर गर्ने परिस्थिति ल्याउन यहीँको बैठकले भूमिका खेल्यो । यही बैठकले युद्ध र जनआन्दोलन एकैचोटी अघि बढायो, निरङ्कुशता ढालेर गणतन्त्र ल्यायो, संविधान सभामार्फत् प्रगतिशील संविधान बन्यो । शान्ति र संविधानको जननी चुनवाङ बैठक नै हो । यो बैठक नेपालको राजनीतिमा मात्र नभएर शिक्षा लिन चाहने विश्वभरिका क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका लागि पनि ऐतिहासिक बैठक हो ।’ चुनवाङ बैठक नेपालको राजनीतिमा युगान्तकारी बैठक थियो । निरन्तरको युद्धलाई ‘यु टर्न’ नगरी सोझो मार्गमै अगाडि बढाउने सोचेको भए सायद नेपाली क्रान्तिको डुङ्गा दुर्घटनामा पर्दथ्यो । राजावादी र संसदवादीको अन्तरविरोध छायाँमा पर्दथ्यो र माओवादीका विरुद्ध संयुक्त मोर्चाको जोखिम नै बलशाली हुन्थ्यो । यसले माओवादी युद्ध अलगावमा पर्ने मात्र नभएर प्रचण्डकै शब्दमा ‘पेरु, निकारागुवामा जस्तै ध्वस्त’ हुन सक्थ्यो । तर, चुनवाङ बैठकमा प्रचण्डले जहाजको अघिल्तिरै घुमिरहेको जोखिमको भूमरीलाई देखे र डुङ्गा मोड्ने साहस गरे । आज त्यही निर्णय नै नेपालको मात्र नभएर विश्व राजनीतिकै लागि दृष्टान्तयोग्य निर्णयका रुपमा स्थापित छ, समाजवाद हुँदै साम्यवादमा पुग्ने गन्तव्यका लागि बलियो खुड्किलो भएर उभिएको छ ।
(तिमिल्सिना प्रधानमन्त्री प्रचण्डको सचिवालय सदस्य हुन्।)










Post a Comment

 
Top