0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी बृहत सफाइ अभियानको २९ औं श्रृंखला सम्पन्न भएको छ । फिर्के–बुलौंदी सफाइ अभियान फेवाताल किनारमा पुगी समापन भए लगत्तै पोखरा उपत्यका बृहत सफाइ अभियानमा परिणत भइसकेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए । यसैबीच, २९ औं  हप्ताको सफाइ अभियान खहरे चोकबाट सुरु भै बंगलादी गैह्राचौतारा हुँदै बाराहीघाटसम्मको फेवाताल किनारामा थुप्रिएका झण्डै ७ टन फोहोरमैला संकलन गरिएको वडासचिव राजुबहादुर कोइरालाले बताए । सफाइ अभियानलाई महिला सशक्तीकरण नेपाल, खहरे आमा समूह, बंगलादी आमा समूह, नमूना आमा समूह, जगदम्बा आमा समूह, मितेरी आमा समूह, बैदाम महिला समाज, घारीपाटन आमा समूह, अभियान युवा क्लब, अभियान क्लब महिला उपसमिति, उपकार बचत तथा ऋण सहकारी संस्था, हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था, वडा बालमञ्च, साइनिङ स्टार मावि, नेश्नल इन्भेन्टिभ आवासीय मावि, फेवा बोर्डिङ स्कुल, वडा नागरिक मञ्च बैदाम, नेपाली सेना, नेपाल प्रहरी, पोखरा उपमहानगरपालिका, निजामती कर्मचारी लगायत सामाजिक अभियन्ताहरुको व्यापक सहभागिता रहेको वडा नागरिक मंच बैदामका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए । यसअघि, सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बरालबाट एक सय जोर डिस्पोजल ग्लोब, मुक्तिनाथ विकास बैंक तर्फबाट गोविन्द राउतले ५ सय थान मास्क र ५ सय जोर डिस्पोजल ग्लोब, ग्रिन मार्ट प्रालि एक सय थान मास्क र एक सय जोर डिस्पोजल ग्लोब सफाइ अभियानका लागि हस्तान्तरण गरिएको सामाजिक अभियन्ता ठाकुरप्रसाद बरालले जानकारी दिए । यसैबीच, कार्यक्रममा उपस्थित अभियन्ता, स्वयंसेवक र सहभागीलाई महिला सशक्तीकरण नेपालका संस्थापक अध्यक्ष एवं नागरिक अगुवा लक्की क्षेत्रीले सपथ गराएकी थिइन् । आगामी ३० औं हप्ताको सफाइ अभियान पुस ९ गते शनिबार बिहान साढे ७ बजे हल्लनचोकबाट भव्यताका साथ सुरु हुने वडा बाल मंच बैदामकी अध्यक्ष प्रेरणा पराजुलीले जानकारी दिइन् ।





Post a Comment

 
Top