0
गोल्डेन न्यूज संवाददाता
देशभरका रोट्रयाक्टहरु पोखरामा भेला हुने भएका छन् । रोट्रयाक्ट नेपाल रोटा बर्ष २०१७÷०१८ को वोर्ड चयनका लागि देशभर रहेका रोट्रयाक्ट पोखरामा भेला हुन लागेका हुन् । रोट्रयाक्टको नवौं राष्ट्रिय सम्मेलन आगामी पुस २२ र २३ गते पोखरामा हुने स्थानिय ब्यवस्थापक रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जानकारी दिएको छ । आइतवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सम्मेलनमा देशभरका १०८ रोट्रयाक्ट क्लबबाट झण्डै एक हजार प्रतिनिधि सहभागी हुनेछन् । रोट्रयाक्ट डिष्ट्रिक्ट नेपाल ३२९२ को नवौ डिष्ट्रिक्ट सम्मेलनले आगामी बर्षका लागि १७ सदस्यीय नयाँ वोर्ड चयन गर्नेछ ।  सम्मेलनमा युवा प्रतिबद्धता थिममा हुने विशेष सम्मेलनमा महिला नेतृत्व, उद्यमशिलता, प्रकृति एवं वातावरण संरक्षणका विषयमा पत्रकार रविन्द्र मिश्र प्रमुख वक्ताको रुपमा रहने संयोजक जेसिका तामाङले बताइन् । यसअघि नेपालका विभिन्न स्थानमा हुदै आएको सम्मेलन पहिलो पटक पोखरामा हुन लागेको हो । रोट्रयाक्टको आठौ डिष्ट्रिक्ट सम्मेलन धरानमा भएको थियो । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष सुजन गुरुङले सम्मेलन पोखरामा गर्न पाउनु निकै सुखद भएको भन्दै पोखराको पर्यटन प्रबद्र्धनमा पनि यसले सघाउने विश्वास ब्यक्त गरिन् । सम्मेलन सम्पन्न गर्न झण्डै १७ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । सम्मेलनको मुख्य प्रायोजन रोटरी क्लब अफ पोखरा फिस्टेलले गरेको छ भने सहप्रायोजन मेरी स्टोप्स नेपालले गरेको छ । देशभर १०८ रोट्रयाक्ट क्लब रहेकोमा पोखरामा ९ वटा क्लब छन् । जस अन्तर्गत पोखरामा मात्रै साढे पाँच सय सदस्य छन् । पत्रकार सम्मेलनमा रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नर बहादुर गुरुङ, रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलकी सचिव प्रतिभा केसी, सिर्जना भुर्तेल लगायतले रोट्रयाक्ट डिष्ट्रिक्ट सम्मेलनका विषयमा जानकारी गराएका थिए ।








Post a Comment

 
Top