0
गोल्डेन न्यूज संवाददाता
पोखराको सहारा क्लवद्वारा संचालित पश्चिमाञ्चलको प्रतिष्ठित १५औं आहारारा गोल्डकप फुटवल प्रतियोगिता आगामी माघ ४ गतेदेखि हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५आंै आहारारा गोल्ड कप फुटबल प्रतियोगिता–२०७३ माघ १५ गतेसम्म पोखरा रंङ्गशालामा संचालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । क्लवले अखिल नेपाल फुटबल संघ (एन्फा) संग समय तालिका मागे अनुसार उनीहरुले उक्त समय दिएको सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।
 
यसबर्ष पनि राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लव, ३ विदेशी, ३ विभागीय र आयोजक एक टिम सहित १२ टिमको सहभागिता हुने भएको अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन भने उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल प्रदान गरिने भएको छ। अध्यक्ष आचार्यले भने–‘ खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार नै हामीहरुले उक्त प्रतियोगिताको आयोजना गर्न तयारी सुरु गरिसकेका छौं।’ १३औं सागका केही खेल जसमध्ये फुटवल खेल पोखरा हुनुपर्ने सहारा क्लवले जोडदार माग राख्दै आएको छ । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरु लाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्दै वचत भएको रकम सहारा एकेडेमीमा खर्चिने भएको बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक केशवबहादुर थापाले बताए । हाल तेस्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु रहेका छन् । सहारा क्लवका सल्लाहकार एवं एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङले सहाराले विशुद्ध सामाजिक कामको साथमा फुटवल प्रतियोगिता आयोजना भएकोले विदेशबाट समेतसहयोग जुट्दै आएको बताउँदै यस बर्ष पनि विदेशबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। सहारा हङकङका अध्यक्ष दिपक गुरुङले यस बर्ष पनि भाग्यशाली एक जना दर्शकलाई एक तोलाको आंैठी उपहार दिने घोषणा गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले आहारारा गोल्ड कप सफल पार्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने वचन दिए। मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले सहाराको राम्रा कामको मुल्याङकन गरी निरन्तर रुपमा प्रायोजना गर्दै आएको बताए । उनले भने–‘यहाँ उद्योग धन्दा संचालन गर्ने वातावरण छैन, यदी हामीलाई यहाँ उद्योग संचालन गर्ने वातावरण दिनुहोस हामी यहाँका युवालाई रोजगार दिन्छौं ।’ उक्त अवसरमा सहाराका उत्पादन शुशिल लामा र लक्ष्मण जिसीलाई फूलमाला लगाएर सम्मान गरिएको थियो ।  प्रतियोगिता संचालन गर्न ८३ लाख ९२ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको आम्दानी एक करोड ७ लाख ८२ हजार रुपैयाँ हुने अनुमान गरिएको क्लवका महासचिव बरालले बताए । हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजन रहेको छ । माइक्रो म्याक्स मोवाइल उप–प्रयोजक रहेको प्रतियोगिताको संयोजन पोखरा उप–महानगरपालिकाले गर्नेछ ।

Post a Comment

 
Top