0
गोल्डेन न्यूज संवाददाता
पोखरा–काठमाडौं रुटमा अत्यधुनिक सुविधायुक्त बस सञ्चालन गरेको पोखरा जगदम्वा ट्राभल्सले रात्रि बसमा पनि अर्को सुविधायुक्त बस थप गरेको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालन हुने बस नेपालकै पहिलो शौचालय र स्लिपर सिट सहितको रात्री बस हो ।आगामी मंसिर २७ गतेदेखि नियमित सञ्चालन हुने बसको सेवासुविधा वारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । संचालक केशव अधिकारीका अनुसार नयाँ बसमा अत्याधुनिक सुविधासम्पन्न ३० वटा स्लीपर सिट, सुत्नका लागि बल्याङ्केटको ब्यवस्था एबं सुविधायुक्त मेकानिकल ट्वाईलेट, मिनिवारको सुविधा छ । पोखरा र काठमाडौंबाट राति १० बजे छुट्ने बसको भाडादर ११ सय रुपैयाँ कायम गरिएको छ । यो भाडामा यात्रुले चिया, कफीको साथै बेलुका हाईटी र विहान ब्रेकफाष्ट, मिठाई, पत्रपत्रिका, फेस टावेल लगायतका सुविधा पनि प्राप्त गर्नेछन् । यो रुटमा रात्रिकालिन समयका लागि अत्याधुनिक सुविधायुक्त बस पहिलोपटक संचालन गर्न लागिएको हो । यसअघि पृथ्वी राजमार्ग बस संचालक समिति अन्तर्गत रातिको समयमा डिलक्स बस संचालन गरिंदै आएको थियो । यसअघि संचालित बस पुरानै समय तालिका अनुसार चल्ने र नयाँ बसबाट थप सेवा प्रदान गर्न लागिएको समितिका अध्यक्ष एन कुमार साईले जानकारी दिए । पोखराको हेमजाबाट छुट्ने बस काठमाडौंको कलंकी, बल्खु, कोटेश्वर हँुदै चक्रपथ परिक्रमा गर्ने र यात्रु आफ्नो आवश्यकता अनुसारको स्थानमा झर्न सक्ने सञ्चालकको दावी छ ।  सुरुमा काठमाडौंबाट एक र पोखराबाट एक गरी दुई वटा बस संचालनमा आउने र यात्रुको माग तथा आवश्यकता अनुसार थप गर्दै लगिने सञ्चालक अधिकारीले बताए । नयाँ सञ्चालनमा आउन लागेको एउटा बसको सवा करोडका दरले दुई बसमा साढे दुई करोड लगानी भएको छ ।पोखरा जगदम्वा ट्राभल्सले यसअघि पोखरा काठमाडौं रुटमा यस्तै सुविधायुक्त दिवा बस संचालन गरेको थियो । यात्रको माग र आवश्यकता अनुसार समयानुकुल सुविधा विस्तार गर्दै जाने समितिका महासचिव योगेन्द्र वहादुर केसीले बताए। पृथ्वी राजमार्ग बस संचालक समिति अन्तर्गत हाल एक हजार तीन सयस्तरीय डिलक्स बस सञ्चालनमा छन् ।


Post a Comment

 
Top