0
वर्षायाममा बस्तीभन्दा माथिबाट आएको पहिरोले घर पुरेपछि पर्वतका एक दम्पत्ति ओडारमुनि बस्न बाध्य भएका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित माझी बस्तीका भीमबहादुर माझीको परिवार ओडारमा बस्ने बाध्य भएको हो । स्थानीयवासी ६२ वर्षीय भीमबहादुर र उनकी श्रीमती ४५ वर्षीया चन्द्रकुमारी डेढ वर्षदेखि ओडारमा दैनिकी गुजार्दै आएका छन् । घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्र मालढुङ्गामा बस्ने माझी दम्पती आफ्नै थातथलोमा पनि शरणार्थी झै बस्नुपरेको हो । उनीहरुलाई बिहान, बेलुका छाक टार्ने केले हो भन्ने चिन्ता एकातिर छ भने अर्को्तिर गतिलो सुत्ने बास नभएर समस्या छ । विसं २०७२ साउन ३ मा मालढुङ्गा–बेनी सडकखण्डको माथि पाङबाट खसेको पहिरोले माझी दम्पतीको घरबास पूर्णरुपमा पुरिएपछि उनीहरु ओडारमा बस्दै आएका हुन् । घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारीले आफूहरुको यो हालत हुँदा पनि कसैले नहेरेको गुनासो पोखिन् । उनका दुई छोरा अलग्गै घरमा बस्दै आएका छन् । दुई छोरीको विवाह भइसकेको छ । बुढेसकाल लाग्ने बेलामा परिवारबाट एक्लिएका माझी दम्पतीको बाँच्ने सहारा कालीगण्डकी किनारको गिट्टी र बालुवा बनेको छ । ‘बालुवा, गिट्टी निकालेर छाक टार्दै आएका छौँ, हामीलाई कसैले सहयोग गरेको छैन,’ चन्द्रकुमारीले भनिन्–‘हामी पुरानै बासमा फर्कन चाहन्छौँ, तर घर कसरी बनेको हो भन्ने उपाय सुझेको छैन ।’ त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित हुने अवस्थामा छन् । पुस्तौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् ।
छिटफुट राहत पाए पनि पहिरोबाट विस्थापितको पुनर्वास र व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीय श्रमिक प्राविका प्रधानाध्यापक तेजेन्द्र आचार्यले बताए । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीले जीविकोपार्जनका लागि राज्यको सहयोगको अपेक्षा गर्दै आएका छन् ।
माछा मारेर जीवन धान्ने माझी पनि त्यही बसोबास गर्छन् । वर्षायाम लाग्ने बित्तिकै डर त्रासमा दिनरात कटाउनुपर्ने अवस्थामा माझी छन् । लगातार दुई वर्षसम्म पहिरो खस्दा माझी बस्तीका साथै त्यहाँ रहेको विद्यालय पनि जोखिममा परेको छ । यो वर्ष पहिरो नखसे पनि विगतको पहिरोले पु¥याएको क्षतिको घाउ निको नभएपछि माझी बस्तीको दुःख अझै रोकिएको छैन ।  त्यहाँ बस्दै आएका माझी परिवार र विद्यालयको सहकार्यमा यस वर्ष स्काभेटरको प्रयोगले बाढी नियन्त्रणका लागि गाउँ माथि सम्याउने काम गरेकाले यस वर्ष बाढी बस्तीमा पस्न नपाएको प्रधानाध्यापक आचार्यले बताए । मालढुङ्गामा बिना लालपुर्जा २८ परिवार मजदुरी गरेर बस्दै आएका छन् । रासस







Post a Comment

 
Top