0
गोल्डेन न्यूज संवाददाता
सैनिक आवासीय महाविद्यालय पोखराको १०औंं वार्षिकोत्सव महाविद्यालय प्राङ्गणमा गत बुधबार सम्पन्न भएको छ। पश्चिम पृतनाका पृतनापति तथा महाविद्यालय सञ्चालन समितिका अध्यक्ष उपरथी जगदिश चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका निमित्त प्राचार्य डोलराज श्रेष्ठले यस पावन अवसरमा उपस्थित सबैमा स्वागत गर्नुभएको थियो । विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम, गीत, नाटक समेत प्रस्तुत गरेका थिए । शैक्षिक वर्ष २०७२ मा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी एवं शिक्षक कर्मचारीहरूलाई प्रमुख अतिथि पोखरेलले उक्त अवसरमा पुरस्कृत गरेका थिए । कार्यक्रममा एस.एल.सी २०७२ मा सैनिक महाविद्यालय पोखरामा नै सर्वोत्कृष्ट हुने विक्रम थापा, नबिन विष्ट, रोशन ढकाल, सचित नेपाली र टिभेष लामिछानेलाई तथा उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गतको परीक्षामा कलेज सर्वोत्कृष्ट हुने सौगात नेपाली तथा द्वितीय र तृतीय क्रमशः रिचित थापा तथा केवल प्रसाद भण्डरालाई नगद एवं तक्मा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमा प्रमुख अतिथिको मन्तव्य राख्दै पोखरेलले आफूसँग उपलब्ध साधन र श्रोतको अधिकतम सदुपयोग गरी विद्यार्थीहरूको चौतर्फी विकास गर्ने कार्यमा महाविद्यालय निरन्तर लागिरहनेछ भन्ने विश्वास व्यक्त गर्दै हालसम्म प्राप्त उपलब्धीहरूको प्रशंसा गरे । विद्यालयका सैनिक सम्पर्क अधिकृत सेनानी सन्दिप विष्टले उपस्थित सम्पूर्ण महानुभावमा धन्यवाद व्यक्त गरेको कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुखपत्र ‘फूलबारी’ को १२औं अंकको पनि उक्त अवसरमा प्रमुख अतिथि पोखरेलले विमोचन गरेका थिए ।  १२औं वार्षिकोत्सव समारोहमा कालिका गणका गणपति प्रहरी उपरिक्षक, जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द पौडेल, पृथ्वीनारायण क्याम्पसका अन्य प्राध्यापकहरु लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, अधिकृत वर्ग तथा अभिभावकहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्र प्रसाद पौडेलले गरेका थिए ।





Post a Comment

 
Top