0
गोल्डेन न्यूज संवाददाता
कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको संख्या बढेको हो । स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । पछिल्लो समय शैक्षिक भ्रमणको गन्तव्य नै बन्ने गरेको छ । पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् । वर्षातको समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि सञ्चालन सुरु गरिएको हो । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको संख्या घटेको भए पनि जलयात्राको आनन्द लिनका लागि बाह्य जिल्लाका पर्यटकको संख्या भने थपिँदै गएको छ । दैनिकजसो दुईदेखि सात वटासम्म विभिन्न जिल्लाका विद्यार्थी टोली भ्रमण गर्न आउने गरेका छन् । स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्यालले भने –‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा पनि सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ । उहाँका अनुसार स्टीमर सञ्चालन भएपछि गाडीमा प्रतिकिलो रु तीन पर्ने ढुवानी भाडा १ रुपैयाँमा झरेको छ । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको सङ्गममा अवस्थित प्रसिद्ध धार्मिकस्थल एवम् एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म झन्डै सात किमी दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोँचबाट सुस्त गतिमा बढेको कालीगण्डकी को पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाखर तिवारीले बताए । स्टिमरले आन्तरिक पर्यटकमात्र नभई दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ । विश्वकै ठूलो र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् ।
शिलामा एकादशी, माघेसंक्रान्ति, बालाचतुर्दशी, शिवरात्रिलगायतका पर्वमा विशेष पूजाआजा हुने गर्दछ ।


Post a Comment

 
Top