0
पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद आफ्नो तयारीमा जुटिरहेको बेला पोखरेली लन टेनिसका पदाधिकारी र सदस्य भने लङ टेनिसको खेल कोर्ट निर्माण गर्न तल्लिन रहेका छन् । सातांै राष्ट्रिय खेलकुद अन्तर्गत अधिकांश खेलहरु पूर्वाञ्चलमा आयोजना हुने भए पनि पश्चिमाञ्चलको केन्द्र पोखराले पनि एउटा खेल आयोजना गर्ने जिम्मेवारी पाउने भएको हो । सातांै खेलकुदको आयोजक राष्ट्रिय खेलकुद परिषदले पोखरामा लङटेनिसको आयोजना गर्ने भएपछि लङ टेनिसका खेलाडीसहित सवैमा उत्साह छाएको छ । पोखरा रंगशाला भित्र रहेको टेनिसको मैदान भित्र यति बेला पाँचौ नम्वरको कोर्ट तयार हुने अवस्थामा रहेको कास्की जिल्ला लन टेनिस संघका सदस्य हरि सिग्देलले बताए । करिब १० लाख ५० हजारको लागतमा तयार हुन लागेको कोर्ट अब अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिनोद कायस्थले बताए ।  अहिलेसम्म परिषद वा कतैबाट पनि आर्थिक सहयोग प्राप्त नभए पनि कोर्ट तयारी चरणमा रहेको सिग्देलको भनाई थियो । “हामीले आम खेलप्रेमी पोखरेलीहरुलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागि समेत आह्वान गर्ने छौं” अध्यक्ष कायस्थले भने–“यो वृहत् कार्यक्रमको सफल बनाउन सवैको सहयोग आवश्यक छ ।” पुष ८ गतेबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनौटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको छ । लन टेनिसका लागि पोखरामा ८० जनाले प्रतिष्पर्धा गर्नेछन । जसमा ४० जना महिला खेलाडी रहनेछन ।  प्रत्येक विकास क्षेत्र बाट १० जना खेलाडीको सहभागिता रहने भएको छ जसमा ५ जना महिला रहने छन् भने तीन विभागीय टिमबाट समेत १०–१० जना खेलाडीहरुको सहभागिता रहनेछ ।




Post a Comment

 
Top