0
गोल्डेन न्यूज संवाददाता
 चर्चित नृत्य समूह ‘वाइल्ड रिपर्ज’ पोखरा आइपुगेको छ । पोखरेलीमाझ नृत्य प्रस्तुतीका लागि यो समूह पोखरा आएको हो । ‘आदर्श डान्स मास्टर’को ग्राण्ड फिनालको अवसरमा यो समूहले शनिबार पोखराको मालेपाटनस्थित खुलाचौरमा आफ्नो प्रस्तुति राख्नेछ । आदर्श कला साँस्कृतिक परिवारले यो समूहलाई पोखरा ल्याएको हो । चर्चित भारतीय डान्सिङ रियालिटि शो ‘डान्स प्लस’को दोस्रो सिजनमा रनरअप भएसँगै यो समूह नेपालसँगै भारतमा पनि उत्तिकै चर्चित छ । सम्पूर्ण ‘क्रु मेम्बर’ नेपाली रहेको यो नृत्य समूहको प्रशंसकहरु नेपालमा पनि थुप्रै छन् । विशेषगरि पोखरामा यो समूहलाई रुचाउने युवा जमात निकै बाक्लो रहेको पाईन्छ । डान्स प्लसमा सहभागिता जनाएपछि पोखरामा यो समूहले प्रस्तुति दिन लागेको यो पहिलोपटक हो । ‘पोखरा सुन्दर शहर हो । र, पोखरेलीहरु पनि सुन्दर मनका छन् । यस्तो शहरमा हाम्रो समूहले प्रस्तुति दिँदैछ । हामी निकै एक्साइटेड छौँ ।’ शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा वाइल्ड रिपर्ज क्रुका म्यानेजर सुदिन मानन्धरले भने–‘हाम्रो प्रस्तुतिलाई पोखरेलीले रुचाउनेमा हामी ढुक्क छौँ ।’ वाइल्ड रिपर्जले शनिबार करिब आधा दर्जन प्रस्तुति दिने उनले जानकारी दिए ।
 
त्यस्तै आयोजक आदर्श कला साँस्कृतिक परिवारका राजेश खड्काले वाइल्ड रिपर्जको उपस्थितिले ‘आदर्श डान्स मास्टर’ को ग्राण्ड फिनालेलाई अझै उँचाईमा पु¥याएको बताए । ‘धेरैले पोखरामा राम्रा इभेन्ट हुँदैन भनेर भन्छन् ।’ उनले भने–‘तर राम्रो इभेन्टहरु पोखरामा हुन्छन् । र, गर्न सकिन्छ भनेर हामीले देखाएका छौँ ।’ आदर्श डान्स मास्टरका ग्राण्ड फिनाले प्रतिस्पर्धीहरुले पनि धेरै दर्शकमाझ आफ्नो प्रस्तुति दिने मौका पाएको उनको तर्क थियो ।
त्यस्तै कार्यक्रमका म्यानेजर अमन तामाङले पोखरेली नृत्य प्रतिभाहरुका लागि यो इभेन्ट एउटा ठूलो सिकाईको पाठशाला हुने बताए । ‘यहाँका नृत्य प्रतिभाहरुले अन्तर्राष्ट्रियस्तरको नृत्य समूहसँग स्टेज शेयर गर्दा अझै बढि सिक्ने मौका पाउँछन् ।’ उनले भने–‘यसले पोखराको नृत्य समूहहरुलाई प्रत्यक्ष फाइदा हुने हाम्रो विश्वास छ ।’‘आदर्श डान्स मास्टर’ नृत्य प्रतियोगिता अन्तरगत प्रथम हुनेले एउटा फेन्सिङ स्कुटर, दोस्रोले ५० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।  त्यसैगरि प्रतियोगितामा एकजनालाई ‘भ्यूअर्स च्वाइस’ पुरस्कार स्वरुप १० हजार र उत्कृष्ट नृत्य निर्देशकलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । यो प्रतियोगितामा अमन तामाङ र महेश गोदार निर्णायक रहेका छन् । ग्राण्ड फिनालेमा ‘वाइल्ड रिपर्ज’ सँगै निर्णायकहरु दुबै जनाको नृत्य प्रस्तुति पनि रहने आयोजकले बताएको छ । त्यस्तै सो दिन सूर्योदय कला केन्द्र र बि टु डिको पनि प्रस्तुति रहनेछ । कार्यक्रमलाई सुरज थापामगर र सुरेन सुशिलले होस्ट गर्नेछन् ।




Post a Comment

 
Top