0
पोखरामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गरी २३ मंसीरको अपरान्ह जुत्ता प्रहार भयो भन्ने समाचार सामाजिक सञ्जाल तथा नेपाली मिडियामा प्रकाशको गतिमा आयो र संसारभर फैलियो । सो दिन डा. भट्टराई पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थीलाई सम्बोधन गर्दै थिए । राजनीतिज्ञमाथि जुत्ता प्रहार गर्ने कुसंस्कार संसारभरि छ । तसर्थ यो घटना पनि यथार्थजस्तै बन्न पुग्यो । जुत्ता प्रहार विरोधको एक शैली हो । इस्लामिक मुलुकमा यसलाई निकै अपमानजनक रुपमा लिइन्छ । यस्ता घटना अमेरिका, अष्ट्रेलिया, चीन, हंगकंग, युक्रेन, भारत, टर्की, पाकिस्तान, ताइवान, बेलायत, इरान लगायतका देशमा दर्जनौं पटक भएको पाइन्छ । इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादलाई सन् २००६ मा अमिर कबिर यूनिभर्सिटीमा जुत्ता प्रहार भयो । ६ मार्च २००९ मा इरानी शहर उर्मियाको भ्रमणमा रहेको समयमा र ६ फेअरी २०१३ मा इजिप्टमा उनीमाथि जुत्ता प्रहार भयो । २३ अक्टोबर २००९ मा राष्ट्रपति मोहम्मद अहमदिनेजादका समर्थकले विपक्षी नेता मेंँदी कारौवीमाथि जुत्ता प्रहार गरे ।  अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई १४ डिसेम्बर २००८ मा बगदादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गर्दा, पत्रकार मुन्ताधर अल जैदीले जुत्ता प्रहार गरे । १ डिसेम्बर २००९ मा पत्रकार मुन्ताधर अल जैदीलाई पनि पेरिसमा जुत्ता प्रहार गरियो । १५ जुलाई २०१२ मा इजिप्टमा र १० अप्रिल २०१४ मा अमेरिकाको लस भेगासमा हिलारी क्लिन्टनलाई जुत्ता प्रहार गरियो ।

सन् २००९ को अप्रिलमा कुरुक्षेत्रका लागि भारतीय लोक सभाका उम्मेदवार नवीन जिन्दाललाई, ७ अप्रिल २००९ मा भारतीय गृहमन्त्री पि. चिताम्बरम्लाई, सोही वर्षको अप्रिल १६ मा प्रतिपक्ष दलका नेता लालकृष्ण आडवाणीलाई आफ्नै दलका सदस्यबाट मध्य प्रदेशमा जुत्ता हानियो । सोही वर्ष २६ अप्रिलमा अमेदावादमा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई र ६ जुन २०१० मा भारतीय राष्ट्रिय कंग्रेसका प्रवत्ता जनार्दन द्विवेदीलाई पत्रकार सम्मेलनमा जुत्ता प्रहार भयो ।

सोही वर्ष १८ अक्टुबरमा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई लखनउमा र २३ जनवरी २०१२ मा भारतीय राष्ट्रिय कंगे्रसका महासचिव राहुल गान्धीलाई देहरादुनमा जुत्ता प्रहार भयो । ५ जनवरी २०१५ मा विहारका मुख्य मन्त्री जितन राम माझीलाई पटनामा जुत्ता प्रहार गरियो । त्यसैगरी ७ अप्रिल २००८ मा सिन्ध प्रान्तका पूर्वमुख्यमन्त्री अर्बाब गुलाम रहिमलाई र ७ अगस्त २०१० मा पाकिस्तानी राष्ट्रपति असीफ अलि जर्दारीलाई बिर्मिंगम, बेलायतमा जुत्ता प्रहार भयो । सोही वर्ष १५ अगस्तमा जम्मु कास्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाहलाई, र ६ फेव्रुअरीमा पाकिस्तानी पूर्वप्रधानमन्त्री पर्वेज मुशर्रफलाई लण्डनमा जुत्ता प्रहार भयो ।

२० डिसेम्बर २००८ मा यूक्रेनियन राजनीतिज्ञ ओलेह सोस्कीनलाई, फेब्रुअरी २००९ मा चिनिया स्टेट काउन्सीलका प्रमुख वेन जियावाओलाई क्याम्ब्रिज यूनिभर्सिटीमा प्रवचन दिँदै गर्दा जुत्ता हानियो । सोही वर्ष ४ नोवेम्बरमा अष्ट्रेलियन पूर्व प्रधानमन्त्री जोन हावर्डलार्ई क्याम्ब्रिज विश्वविद्यालयमा प्रवचन दिइ रहँदा जुत्ता प्रहार भयो । त्यस्तै जनवरी २०१० मा सुडानी राष्ट्रपति ओमार अल बशीरलाई सुडानको खार्टौममा, फेब्रुअरी २०१० मा टर्कीस प्रधानमन्त्री रेसीप टायीप इर्दोगानलाई जुत्ता प्रहार भयो भने ४ र ५ सेप्टेम्बरमा दुईपटक बेलायती पूर्वप्रधान मन्त्री टोनी ब्लेयरलाई डब्लीनमा जुत्ता प्रहार भयो । ११ सेप्टेम्बर २०१० मा ग्रीकका प्रधानमन्त्री जर्ज पापान्द्रेलाई, र फेब्रुअरी २०१० मा इजिप्टियन राष्ट्रपति होस्नी मुबारकलाई कायरोमा जुत्ता प्रहार गरिए ।

पोखरा घटना बिजुलीको गतिमा फैलनुमा सोसल मिडियाको भूमिका एकातर्फ छ भने अर्कातर्फ नेपाली पत्रकारिता अझै जिम्मेवार हुन नसकेको पुनः अर्को पटक पुष्टि भएको छ । यसअघि पनि यस्ता घटना नभएका होइनन् । केही वर्ष अगाडि एकजना युवतीले ७० लाख भेटेर फर्काएको समाचारले राष्ट्रपति रामवरण यादवसमेत लज्जित भएका थिए । रसेन्द्र भट्टराई प्रकरणले त्यस्तै भएको थियो । कान नछामी कागको पछि दगुर्ने प्रवृति हाम्रो समाजको कमजोर पक्ष हो । अन्धपूर्वाग्रहको कमजोर मनोविज्ञानले पनि यसमा भूमिका खेलेको छ । प्राप्त समाचार सम्प्रेषण गर्नु अधि आधारको खोजी हुनु पर्नेमा सो नभएका कैयौं घटना यसअघि पनि नभएका होइनन् । पोखरा घटनाका कारणीले प्रहरीमा आफूले जुत्ता प्रहार नगरेको केवल विरोधका लागि कालो झण्डा मात्र प्रदर्शन गरेको दिएको बयान दिएका छन् ।

मञ्चमा बस्ने कसैले पनि जुत्ता प्रहार भएको देखेनन् । साथै सो समाचारलाई पुष्टि गर्ने कुनै फोटो वा भिडियो फुटेज समेत प्राप्त भएको छैन । नहुनुले सो घटनाका पछाडि बदनियत रहेको स्पष्ट देखिन्छ । यसमा जिम्मेवार समाचार सम्प्रेषकले भूल स्वीकार गरी क्षमा याचना गर्नुपर्छ । पर्याप्त प्रमाणको अभावमा संवेदनशील विषयमा पनि छिटो समाचार संप्रेषण गरिने परम्पराको अन्त्य हुनुपर्छ। सम्बन्धित पक्षलाई पुग्न सक्ने मानसिक तनाव र सामाजिक वदनामीप्रति समाचार प्रवाह अगाडि सोचिनुपर्छ । यस्ता भ्रामक घटनाबाट नेपाली सञ्चार जगत र सोसल मिडियाले शिक्षा आर्जन गर्दै सुध्रिएर अगाडि बढ्नुपर्छ ।
अधिवक्ता शान्ति तिमिल्सिना










Post a Comment

 
Top