0
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा आयोजना गर्ने भएको छ । अघिल्लो वर्ष देखि शुरु गरिएको मिस तामाङ्ग प्रतियोगिता माघ ८ गते पोखरा सभागृहमा गरिने आयोजक बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगिताका लागि पोखरामा रहेका तामाङ्ग समुदायका १२ जना युवतीहरु सहभागी छन् । 
प्रतियोगीहरुमा पोखरा लेकसाइडकी सृष्टि लामा, अञ्जली लामा, मालेपाटनकी अरुणा लामा, संगीता तामाङ्ग, लेखनाथकी सीता तामाङ्ग, मन्जु तामाङ्ग शान्ति नगरकी जीता लामा, सिम्पानीकी रिमा तामाङ्ग, न्यूरोडकी मालिका तामाङ्ग, बगरका जगनकुमारी तामाङ्ग, जिरो किलोमिटरकी पुनम तामाङ्ग र भेडिफारामकी प्रिया तामाङ्ग रहेका छन् । समुदायमा रहेका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभूषा, भाषा, संस्कार र संस्कृतिप्रति आकर्षण बढाउन तथा जातीय संस्कार संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले मिस तामाङ्ग पोखरा आयोजना गरिएको कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताइन। प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन गर्न लागिएको उनले स्पष्ट पारिन् ।
प्रतियोगीहरुलाई करिब ४५ दिन तामाङ्ग भाषा संस्कार र संस्कृति तथा ब्यक्तित्व विकास सम्बन्धी तालिम दिइने तालिम सह–संयोजक जयन्ती मोक्तानले बताइन। अहिलेसम्म तामाङ्ग भाषा र संस्कृति सम्बन्धी मिङ्गमार तामाङ्ग, दिपक वाइवा तामाङ्ग, सार्वजनिक भाषण कला बारे संचारकर्मी सन्जय मल्ल, नेतृत्व विकासका बिषयमा ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, पोखरा मन्टेश्वरीका निर्देशक थिरबहादुर थापाले सहजीकरण गरिसकेका छन्। कार्यक्रमका कोरियोग्राफर सृष्टि सेञ्चुरी हुन् । माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा चन्द्र दोङ्ग तामाङ्ग लगायतका कलाकारका प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य आकर्षण रहेका छन्। समाजले कार्यक्रमबाट बचेको रकम लेकसाइड खहरेमा निर्माणाधिन गुम्वाका लागि खर्चिने अध्यक्ष ज्याक तामाङ्गले बताएका छन् ।




Post a Comment

 
Top