0
गोल्डेन न्यूज संवाददाता
महिला हिंसा विरुद्धको अभियान सफल हुनको लागि हरेक नागरिकले आफ्नो सोचमा परिवर्तन गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सञ्चारिका समूह पश्चिमाञ्चलको आयोजना तथा प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा भएको ‘हिंसारहित समाज निर्माणमा पुरुषको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।हरेक नागरिक चाहे पुरुष होस या महिला आफ्नो सोचमा सकरात्मक परिवर्तन गर्न सकेमा मात्र हिंसाविरुद्धको अभियान सफल हुने कार्यक्रममा बोल्ने वक्ताहरुको भनाई थियो ।कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै पृथ्वीनारायण क्याम्पसकी प्राध्यापक शान्ति भुजेलले पावर र रिसोर्स को सँग छ?, यसको मोमिलाईजेशन कसले गर्छ ? र उसँग कस्तो किसिमको मनोभावना छ ?, यि कुराहरुले हिंसाजन्य प्रवृत्तिलाई अगाडी बढाउने बताईन । उनले समाजमा कोबाट को प्रताडित छ ?, पुरुषबाट महिला कि महिलाबाट पुरुष प्रताडित? जर्नलाइज गरेर मात्र नभई भोलुम हेर्नुपर्ने आजको आवश्यकता रहेको बताईन् । उनले ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैगिक हिंसारहित समाज‘ भनेर अभियान चलाइरहँदा पहिला त घरपरिवार भित्रैबाट महिला पुरुष दुवैले दुवैलाई सम्मानजनक रुपमा हेर्नुपर्ने बताईन् । सबैले सबैलाई समानान्तर व्यवहारको आखाँले हेर्नुपर्ने उनको भनाई छ । अर्का प्रमुख वक्ता अधिवक्ता सुरेन्द्र थापा मगरले अहिले सेक्स सेलेक्टिभ एर्भोसन हुनेदेखि नै हिंसाको सुरुवात हुने गरेको बताउदै त्रुटिपूर्ण सामाजिक संरचनाका कारण शव्द शव्दमा हिंसा हुने र पुरातनवादी सोचका कारण पनि हिंसामा न्यूनिकरण हुन नसकेको बताए ।
 
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले महिला पुरुष दुवैबाट शरीरले नभएर सोचले हिंसा हुने हुदा सर्वप्रथम सोचलाई चिनुपर्ने आवश्यकता रहेको बताईन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले हिंसा न्युनिकरणका लागि पुरातन संस्कारमा अल्झिन नहुने तर अव हामी के कस्ता कार्यहरुबाट हिंसा न्युनिकरण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने भनाई राखे । कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, वानका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह पश्चिमाञ्चलकी संस्थापक अध्यक्ष दुर्गा भण्डारी, पत्रकार गोमा घिमिरे लगायतले आ–आफ्ना भनाई राखेका थिए । संचारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना शर्मा वर्षाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव कविता श्रेष्ठले गरेकी थिईन् ।


Post a Comment

 
Top