0
गोल्डेन न्यूज संवाददाता
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्र्तगत आयोजित विविध कार्यक्रमहरु शनिबार सम्पन्न भएका छन् ।
कार्यक्रम अन्तर्गत राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा तथा पश्चिमाञ्चल मानवअधिकार महाभेला आयोजक समितिको आयोजनामा शनिबार प्रभातफेरि गरिएको छ। चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरि सभागृहमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले संविधान कार्यान्वयन विना अधिकारको प्रत्याभूति हुन कठिन हुने बताए । मुलुकको समृद्धिविना नागरिकका कुनैपनि अधिकार प्रत्याभूत गर्न असहज हुने उनको भनाइ थियो । अधिकार प्रत्याभूत गराउन राज्य सदैव सचेत रहेको भन्दै उनले देशको संक्रमणकालीन अवस्थाका कारण मानवअधिकारको पूर्ण कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे। राज्यले प्रत्याभूत गरेका बाल अधिकार, अपाङ्गहरुको अधिकार, महिला अधिकार लगायत सम्पूर्ण अधिकार प्राप्तिका लागि देशमा स्थितरता आवश्यक पर्ने उनको भनाई थियो ।कार्यक्रममा बोल्दै महिला तथा बालबालिका अधिकृत लक्ष्मी जिसीले अधिकार प्राप्तिका लागि नागरिक स्वयं सचेत रहनुपर्ने आवस्यकता औँल्याए । सो अवसरमा आदिवासी जनजाती महासंघ कास्कीका अध्यक्ष पानवहादुर घर्तीले आदिवासीहरुको हक हित र अधिकारका निम्ति राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।कार्यक्रममा मानवअधिकारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै अधिकारकर्मी रामप्रसाद घिमिरे र निर्मला गुरुङ्गलाई दोशल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानपछि बोल्दै घिमिरे र गुरुङ्गले मानवअधिकारका क्षेत्रमा अझै क्रियाशिल रहेर कार्य गर्ने बताए । मानवअधिकारको बारेमा क्षेत्रीय र राष्ट्रियस्तरमा सचेतना फैलाउने तथा संक्रमणकालिन न्याय, शान्ति र दीगो विकासका लागि सरोकारावाला निकाय र राज्यका संयन्त्रहरुबीच आपसी सद्भाव बढाउँदै मानवअधिकार संस्कृतिको विकास गर्ने उद्देश्यले अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ–संस्थाको पहलमा दिवस मनाईएको हो ।
दिवसको अवसरमा डिसेम्बर ८ अर्थात गत मंसीर २२ गतेबाट त्रिदिवसीय कार्यक्रम सुरु भएका थिए । जस अन्तर्गत २२ गते कास्की कारागारको अनुगमन तथा बन्दीहरुलाई सचेतना, २३ गते रक्तदान कार्यक्रम, मानवअधिकार सम्बन्धी वृत्तचित्र प्रदर्शनी, मानवअधिकार सेल्फी स्टेण्ड, र मानअवधिकार हाजिरीजवाफ कार्यक्रम गरिएको थियो ।
 
यस्तै शुक्रबार क्षेत्रीय प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरिएको थियो भने आम सञ्चारमाध्यमहरु मा अधिकार सम्बन्धि संवाद, लैङ्गिक हिंसा विरुद्ध सचेतना, पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकारको अवस्था सम्बन्धी कार्यक्रम, मानवअधिकार सेल्फी, मनोसामाजिक सचेतना, अपाङ्गता र मानअवधकिार सम्बन्धी अन्तक्रिया र विद्यालय तथा कलेजमा मानवअधिकार विषयक कार्यक्रमहरु गरिएको छ ।त्रिदिवसीय कार्यक्रमहरुको शनिबार साँझ मानवधिकार चोकमा आयोजित कार्यक्रममा दिप प्रज्वलन गरी समापन गरिएको हो । अधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरु ईन्सेक, थ्रि एन्जल्स नेपाल, नागरिक समाज, स्वाभलम्बन जीवन पद्धती नेपाल, कोपिला नेपाल, गैर सरकारी संस्था महासंघ कास्की, महिला मानवअधिकार रक्षक सञ्जाल, शान्तिका लागि नागरिक समाजको सञ्जाल, एड्भोकेसी फोरम, मानअवधिकार पत्रकार संघ (हुर्जा) कास्की लगायतको समन्वयमा कार्यक्रम गरिएको हो ।

Post a Comment

 
Top