0
लामो तथा छोटो दुरीमा सार्वजनिक बस सञ्चालन गर्दै आएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखरा नगरमा पनि बस सेवा सुरु गरेको छ । माइक्रो र मिनीबस गरी ५० वटा सार्वजनिक बसबाट बुधबार देखि पोखरा नगर क्षेत्रमा सेवा सुरु गरेको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । पहिलो चरणमा ५० वटा बस सञ्चालन गरिएपनि आवश्यकता अनुसार सेवा बिस्तार गरिने उनले बताए ।  पोखराको छोरेपाटन–बगर–लामाचौर, हल्लनचोक–काहुँखोला, छोरेपाटन–महेन्द्रगुफा, महेन्द्रपुल–काहुँखोला, पोखरा–पुरञ्चौर–भुजुङखोला–जैमुरे, पोखरा–तारेभिर–निर्मलपोखरी–कृस्ती–भरतपोखरी लगायत पोखराका प्राय रुटमा सेवा सञ्चालन गरिएको केसीले जानकारी दिए । पोखरासँगै पोखरा आसपासका ग्रामीण रुटमा पनि पृथ्वीका गाडीहरु सञ्चालनमा आएको केसीले जानकारी दिए ।  उनले भने, ‘सस्तो भाडा दरमा स्तरीय बसमा सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ पृथ्वीका बसबाट पोखराका जुनसुकै ठाउँमा यात्रा गरेपनि १० रुपैयाँमात्र भाडा लिइने केसीले बताए ।  ‘नगरभित्र यात्रा गर्दा १० रुपैयाँमात्र भाडा दिन हामी सर्वसाधरण यात्रुसँग आग्रह गर्दछौं,’ उनले भने । नगरबाट ग्रामीण क्षेत्रमा यात्रा गर्र्दा भने छुट्टै भाडादर निर्धारण गरिएको उनले बताए । पोखरा बस व्यवसायी समिति र विन्ध्यवासिनी बस व्यवसायी समितिले यस अगाडि पोखरामा नगर बस सञ्चालन गरिरहेका छन् । पोखरा बस व्यवसायी समितिले विगत करिब तीन दशकदेखि पोखरामा नगर बस सञ्चालन गरिरहेको छ भने विन्ध्यवासिनीले यही वर्षदेखि नगर बस सञ्चालन गरेको हो ।

Post a Comment

 
Top