0
गोल्डेन न्यूज संवाददाता
कास्की, तनहुँ र स्याङ्जाको सीमाना भएर बग्ने सुरौदी खोला संरक्षणका लागि स्थानीयहरुले चासो देखाएका छन् । सुरौदी खोला संरक्षणका लागि सुरौदी खोला आसपासका सामुदायिक वन उपभोक्ता समूहहरुले चासो देखाएका हुन् । जसपुर सामुदायिक बन उपभोक्ता समिति जसपुर तनहुँको आयोजनामा सुरौदी खोला संरक्षणको बारेमा हालै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । सुरौदी खोलामा ध्यान नदिदा खोलामा माछा मार्नका लागि विष, करेण्ट र बम प्रहार गर्ने क्रम बढेपछि खोलामा हुने जलचर संरक्षणका लागि सो क्षेत्रमा रहेका विभिन्न बन उपभोक्ता समूहहरुले चासो देखाउँदै छलफल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वोल्दै पश्चिमाञ्चल क्षेत्रीय बन कार्यालयका उपनिर्देशक राजेन्द्रमान भणडारीले सामुदायिक बन उपभोक्ता समितिले बन संरक्षण संगै खोलाको संरक्षणमा देखाएको सदासयताका लागि आभार प्रकट गरे । आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत भण्डारीले प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा कास्की, स्याङ्जा र तनहुँका सुरौदी खोलासंग जोडिएको १८ वटा सामुदायिक बन उपभोक्ता समितिहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमले विभिन्न निर्णयहरु गर्दै पर्यावरण संरक्षण तथा जलाधार क्षेत्र विकास गर्नका लागि गत मंसिर २३ गते गठित तदर्थ समितिलाई यथावत् राखी सो समितिमा नसमेटिएका सामुदायिक वनका पदाधिकारीहरुलाई समेत समेटेर समिति गठन गरेको छ । जस अन्तर्गत मनराज गुरुङको संयोजकत्वमा सदस्यहरु खुम प्रसाद गुरुङ, खेमराज सुवेदी, टेक नारायण कोइराला, कोष तामाङ, विनोद गुरुङ, मानकाजी गुरुङ ,चेत महत, मन बहादुर भुजेल,इन्द्र बहादुर भुजेल, राम बहादुर खत्री,टीका राम पौडेल, तेजबहादुर गुरुङ ,कमल बहादुर रोकाहा र रेहम बहादुर थापा रहने गरी १५ सदस्सीय तदर्थ समिति चयन गरिएको हो ।  साथै तनहुँ, स्याङ्जा र कास्की जिल्लाको सुरौदी खोला जलाधार संरक्षण उपसमिति गठनका लागि सम्बन्धित जिल्लाको ११ जना संयोजक रहने गरी तनहुँबाट टेक नारायण कोइराला,स्याङ्जाबाट तेज बहादुर गुरुङ र कास्कीबाट हरि गोरखाल लाई चयन गरिएको छ ।कार्यक्रममा जसपुर सामुदायिक वन उपभोक्ता समितिका सचिव मनराज गुरुङ्गले कार्यक्रमको मुख्य उदेश्य बारे जानकारी दिंदै सहभागिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा छिमेकी जिल्ला स्याङ्जा र कास्कीमा रहेको सामुदायिक वन समूहका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मनबहादुर भूजेलले गरेका थिए ।




Post a Comment

 
Top