0
नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिस पुरुष एकलतर्फको उपाधि नेपाल आर्मीका संरक्षण भूषण बज्राचार्यले जितेका छन् । बुधबार फाइनल खेलमा उनले नेपाल प्रहरीका कमल भण्डारीलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक चुमे ।
यस्तै महिला एकलतर्फ पनि पुलिस क्लवले नै स्वर्ण पदक जितेको छ । पुलिसका मायांका राणाले पुलिसकै माहिका राणालाई पराजित गरेर स्वर्ण पदक जितेकी हुन् । यो संगै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा पुलिसले सबैभन्दा बढि ३ स्वर्ण जित्यो । पश्चिमाञ्चलले टिम इभेण्ट र पुरुष डबल्सको गरि २ वटा स्वर्ण जित्न सफल भयो । पुरुष डबल्सतर्फ पश्चिमाञ्चलका कुमार अधिकारी र अनिल शाहिको जोडीले फाइनल खेलमा एपीएफका सन्तोष खत्रि र श्रीराम मगरको जोडीलाई २–० कै सोझो सेटमा पराजित गरेका हुन् । महिला डबल्सतर्फ नेपाल पुलिसका माहिका र मायांकाको जोडीले स्वर्ण जित्यो । राणा जोडीले फाइनल खेलमा आर्मीका इरा रावत र अभिलाषा विष्टको जोडीलाई पराजित गरेको हो । प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाली सेना, पश्चिम पृतनाका पृतनापति जगदिशचन्द्र पोखरेल, नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, निवर्तमान अध्यक्ष मनोज राणा लगायतले एक समारोहका विच पुरस्कार वितरण गरे । समापन समारोहमा बोल्दै नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले टेनिस प्रेमीहरुको सहयोगमा पोखरामा पाँचवटा कोर्ट बनाउन सकेकालेनै पोखरामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर मिलेको बताए । कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष समेत रहेका कायस्थले कोर्ट बनाउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्दै अब कास्की युवा तथा प्रतिभावन खेलाडीको खोजीमा हुने बताए ।

Post a Comment

 
Top