0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको भेटमा संसदमा जारी गतिरोध अन्त्य तथा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक लगायतका विषयमा छलफल भएको छ । भेटमा कांग्रेस सभापति देउवाले संसद अवरुद्ध नगर्न आग्रह गरेका छन् । जवाफमा विपक्षी दलका नेता ओलीले भने संशोधन प्रस्ताव फिर्ता लिनु पर्ने बताएका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक तयारीमा जुटने बेला सरकारले कुनै कदम नचालेको उनको आरोप छ । देउवाले भने संविधान कार्यान्वयनका लागि आफूहरु अग्रसर भएको भन्दै त्यसमा साथ दिन ओलीसँग आग्रह गरेका छन् । दुई शीर्ष नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको र संसदमा जारी गतिरोध अन्त्यका लागि दुवै नेताहरु सकारात्मक रहेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनका अनुसार जारी गतिरोध अन्त्यका लागि शीर्ष नेताहरुबीच निरन्तर सम्वादमा जुट्न दुबै नेता सहमत भएका छन् ।

Post a Comment

 
Top