0
गोल्डेन न्यूज संवाददाता 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले आफ्नो हालैको पोखरा भ्रमणको क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलप्रति प्रकट गरेको नकारात्मक टिप्पणीप्रति पश्चिमाञ्चल होटल संघ पोखराले आपत्ती प्रकट गरेको छ । नेपाल र चिनिया पक्ष बीच पोखरामा नयाँ विमानस्थल बनाउन ऋण लगायत अन्य प्रकारका सम्झौताहरु समेत सम्पन्न भई विमानस्थलको शिलान्यस समेत भइसकेको अवस्थामा नेपाल आफ्नै पैसाले विमानस्थल बनाउन सक्षम छ भनी मन्त्री शाहीले दिएको अभिव्यक्ती खेदजनक भएको संघले जनाएको हो । संघका अध्यक्ष भरतराज पराजुलीले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल निर्माण जस्तो संवेदनशिल विषयमा मन्त्री शाहीले दिएको हँचुवा र केटाकेटी पाराको अभिव्यक्तिले दुई देशको सम्बन्धमा समेत भ्रम र अविश्वास छर्ने अवस्था सिर्जना हुन सक्ने उल्लेख छ । विमानस्थल सम्बन्धी चीनको एक्सिजम बैंकसँगको ऋण सम्झौता र निर्माणका लागि भएको शिालान्यसले पोखरेली हर्षित भइरहेको अवस्थामा यहाँका जनताको चार दशक अघि देखि देखिको सपनालाई नजरअन्दाज गर्दै मन्त्रीले दिएको अभिव्यक्तिले पोखरेली र समग्र विकासप्रेमी जनमानसमा शंका उब्जने वातावरण सिर्जना भएको संघका अध्यक्ष पराजुलीले बताए । आवश्यक सबै सम्झौता सुरु भई प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितमा शिलान्यास भएको विमानस्थल निर्माण कार्यमा मन्त्री शाहीले राष्ट्रघात देख्नुलाई उनी कतै कमिसनको खेलमा लागेका त छैनन् भन्ने शंका उब्जेको संघले बताएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालको नयाँ वर्षको दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । सकारले २०७१ कात्तिक १० मा चिनिया कम्पनी सीएएमसीलाई विमानस्थल निर्माण गर्न ठेक्का दिएको थियो । २१ अर्ब खर्चमा उसले विमानस्थल बनाउने हो । प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते उक्त विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।






Post a Comment

 
Top