0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १८, काजीपोखरी स्थित कालिका वहुमुखी क्याम्पसको रजत जयन्ती मंगलवार विशेष समारोहका वीच सम्पन्न भयो । रजत जयन्ती समारोहको समापनको अवसरमा क्याम्पस परिसरमा निर्माण गरीएको “नेगी –भवन“को उद्घाटन गरियो । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख वलवीर सिंह नेगीको योगदानको कदर गर्दै क्याम्पसले नव निर्मित भवनलाई “नेगी–भवन“ नामाकरण गरिएको हो । नेगी पुस्तकालय र प्रशासनिक कक्ष रहने “नेगी– भवन“ कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत पोखराका मूख्य न्यायाधीश पुरुषोत्तम भण्डारीले उद्घाटन गरे । रजत महोत्सवको अवसरमा क्याम्पसले क्याम्पसको स्थापना र विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने संस्थापक अध्यक्ष एवं सदस्यहरु, संस्थापक क्याम्पस प्रमुख एवं प्राध्यापक, संरक्षक, सिनेटर, २० वर्ष सेवा गर्ने प्राध्यापक एवं कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो । रजत जयन्ती समापन समारोहको उद्घाटन गर्दै उच्च अदालतका मूख्य न्यायाधीश पुरुषोत्तम भण्डारीले मुलुकमा गलत शिक्षा नीतिकै कारण विभिन्न किसिमका विकृति देखा परेको बताए। नैतिक शिक्षा आजको आवश्यकता भएको बताउँदै मुख्य न्यायाधीश भण्डारीले भने–“मुलुकका लागि अर्जुन जस्ता विद्यार्थी र कृष्ण जस्ता गुरु चाहिन्छ। “उनले शिक्षा क्षेत्र राजनीतिवाट मुक्त हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रमको सभापतित्व गर्दै संचालक समितिका अध्यक्ष समाजसेवी सूर्यवहादुर केसीले आफ्नो नेतृत्वमा कालिका क्याम्पसले रजत जयन्ती मनाउन सफल भएकोमा खुशी ब्यक्त गरे । कालिका क्याम्पस कसैको निजी सम्पत्ति नभई समाजको सम्पत्ति भएको उल्लेख गर्दै केसीले निमूखा वर्गका लागि स्थापित क्याम्पसले समाजको खाँचोलाई टार्न सफल भएको विश्वास ब्यक्त गरे । मुलुक विदेशी हस्तक्षेपको कारण अन्यौलग्रस्त भएकोमा चिन्ता ब्यक्त गर्दै उनले एउटा मात्रै आशाको केन्द्र रहेको न्याय क्षेत्रमा पनि हस्तक्षेपको प्रयास भईरहेको बताए । कार्यक्रमा वौल्दै संस्थापक क्याम्पस प्रमुख बलवीर शिंह नेगीले भवनले मात्र उच्च शिक्षाको विकास नहुने बताउँदै क्याम्पसको विकासका लागि प्राध्यापकमा त्याग र समर्पण आवश्यक रहेको वताए । नेपाल पब्लिक क्याम्पस संघका क्षेत्र नं. ४ का संयोजक एवं जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख वीरन्जी गौतमले वलवीर शिंह नेगी, सुरेन्द्र भारी र स्व. गणेशमान पालिखे पोखरामा संचालित पब्लिक क्याम्पसका खम्वा रहेको स्पष्ट पारे । कार्यक्रममा संस्थापक सञ्चालक प्राा.डा. कृष्ण केसी, संरक्षक एवं सञ्चालक बोधराज कार्की, संस्थापक डा. चन्द बहादुर गुरुङ्ग, संस्थापक प्राध्यापक रामराज रेग्मी, सिनेटर महेश गुरुङ्ग, सिनेटर डम्वर गुरुङ्ग, वुद्धिमान गुरुङ्ग, विद्यार्थी कल्याण समितिका अध्यक्ष सुस्मिता  कार्की लगायतले बोलेका थिए ।  कार्यक्रममा क्याम्पस प्रमुख बालाकृष्ण शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गदै क्याम्पस क्यूएए मान्यता प्राप्तिको नजिक पुगेको बताए । कार्यक्रममा स्वागत मन्तब्य प्राध्यापक संघका अध्यक्ष रवीन्द्र नाथ बाँस्तोला र संचालन प्राध्यापक माधव बरालले गरेका थिए ।


Post a Comment

 
Top