0
गोल्डेन न्यूज संवाददाता
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) अन्तर्गतको गन्डकी मेडिकल कलेजमा तेस्रोपटक आह्वान गरिएको एमबिबिएस (बिडिएस भर्नामा पनि विद्यार्थी नआएको भेटिएको छ। गण्डकी मेडिकल कलेजमा अहिलेसम्म विद्यार्थी भर्ना नै नभएको पाइएको छ। आइओएमले तेस्रोपटक आह्वान गरेका भर्नाको सूची सार्वजनिक गर्दा गण्डकी मेडिकल कलेजमा शून्य विद्यार्थी पाइएको हो। आइओएम स्रोतका अनुसार ग(डकी मेडिकल कलेजमा विद्यार्थी भर्ना हुन नै इच्छुक देखिएका छैनन् । गण्डकीले विगतमा तोकिएको भन्दा चर्को शुल्क उठाएर विद्यार्थी भर्ना भएको पाइएको थियो। आइओएमका अनुसार यसपालि एमबिबिएस–बिडिएसमा सरकारले तोकेको शुल्कमा धेरै विद्यार्थी पढ्न चाहेका छन्। सरकारले तोकेको भन्दा झन्डै दोब्बर शुल्क निर्धारण गरेका कारण मेडिकल कलेजहरूबाट विद्यार्थी तर्सिने गरेका छन्।  यसपालि सरकारले राजधानीमा एमबिबिएस शुल्क ३८ लाख ५० हजार, राजधानीबाहिर ४२ लाख ४५ हजार र बिडिएसमा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकेको छ।  नेपाल मेडिकल काउन्सिलले गन्डकी मेडिकल कलेजलाई यस वर्ष एमबिबिएसमा ११० र बिडिएसतर्फ २५ सिट संख्या तोकेको थियो। फर्जी फ्याकल्टी र बिरामी देखाएर मेडिकल काउन्सिलको आँखा छलेको आरोप लाग्दै आएको गण्डकी मेडिकल कलेजले विद्यार्थी शून्य रहे पनि कक्षा सञ्चालनका मिति भने तोकेको छ। प्राचार्य प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठको हस्ताक्षरमा सूचना निकाल्दै गण्डकीले माघ ५ गतेदेखि कक्षा सञ्चालन हुने जनाएको छ।
 
यस्तै जनकपुरको जानकी मेडिकल कलेजमा तेस्रोपटक बल्ल एक जना विदेशी विद्यार्थी भर्ना भएको पाइएको छ। ‘किन भर्ना हुन चाहेनन्, यो गम्भीर प्रश्न बनेको छ,’ आइओएम स्रोतले भन्यो, ‘विद्यार्थी आउनै मानेनन् भने के लाग्छ र?’मेडिकल काउन्सिलका सदस्य डा. अंकुर साहको प्रभावमा ८० सिट संख्या पाएपछि विगत लामो समयदेखि बन्द रहेर बौरिएको जानकी मेडिकल कलेजमा हालसम्म एमबिबिएसमा एक  जना विदेशी विद्यार्थी भर्ना भएको पाइएको छ। स्रोतका अनुसार जानकी मेडिकल कलेजको अस्पतालमा अहिले सञ्चालनमा छैन। युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा ४६ जना विद्यार्थी भर्ना भएका छन्। जसमध्ये ४३ जना विदेशी छन्। बिडिएसमा १० जना नेपाली विद्यार्थी भर्ना भएका छन्। गत वर्ष ९० सिट पाएको युनिभर्सललाई यसपालि बढाएर ११५ सिट दिइएको थियो। एमबिबिएसमा हालसम्म भर्नाको स्थिति हेर्दा उसले नेपाली विद्यार्थी भर्ना गराउन नसकेको पाइएको छ। बिडिएसतर्फ ७० सिट पाए पनि युनिभर्सलमा दस जनामात्र विद्यार्थी भर्ना भएका छन्। चितवन मेडिकल कलेजमा ११ जना विद्यार्थी एमबिबिएसमा भर्ना भएका छन्। जसमध्ये पाँच जना विदेशी र बिडिएसमा दुई जना नेपाली छन्। उसले एमबिबिएसमा ११५, बिडिएसमा ४० सिट संख्या पाएको थियो।  किस्ट मेडिकल कलेजमा ६ जना विदेशी विद्यार्थी भर्ना भएका छन्, बिडिएसमा दुई जना नेपाली भर्ना भएका छन्। एमबिबिएसमा ११० र बिडिएसमा ४५ सिट पाएको किस्टमा तेस्रोपटक पनि विद्यार्थी जान अनिच्छुक देखिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको दबाबमा मेडिकल काउन्सिलबाट किस्टले एमबिबिएस र बिडिएसमा बढी सिट पाएको थियो। किस्ट लोकमानका नातेदारको मेडिकल कलेज हो। नेशनल मेडिकल कलेज वीरगन्जमा २३ जना विदेशी विद्यार्थी मात्रै एमबिबिएसमा भर्ना भएका छन्, बिडिएसतर्फ ३ जना नेपाली भर्ना भएका छन्। नेशनलले एमबिबिएसमा ११५ र बिडिएसमा ३५ सिट पाएको थियो। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना विदेशी र सात जना नेपाली विद्यार्थी भर्ना भएका छन्। महाराजगञ्ज क्याम्पसमा ६३ जना विद्यार्थी भर्ना भएका छन्। ७६ सिटमध्ये महाराजगञ्ज क्याम्पसमा १४ जना विदेशी विद्यार्थी भर्ना भएका छन्। महाराजगञ्जमा एउटा सिट पेइङ (शुल्क तिरेर) सिट छ। पिपुल्स डेन्टल कलेजमा १३ जना विद्यार्थी बिडिएसतर्फ भर्ना भएका छन्। नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माको पिपुल्सले ६५ सिट पाएको थियो। नक्कली सर्टिफिकेटमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो छल्दै हिँडेका शर्माको पिपुल्सले एक जना पनि विदेशी विद्यार्थी भित्र्याउन सकेको छैन। तिहारलगत्तै पठन–पाठन सुरू हुनुपर्ने भए पनि यसपालि विद्यार्थी नआएका कारण शैक्षिक क्यालेन्डर नै परिवर्तन गर्ने अवस्था सिर्जना भएको आइओएमले जनाएको छ। तेस्रोपटकको आह्वानमा पनि मेडिकल कलेजको सिट पूरा नभएपछि आइओएम चौथोपटक सूचना निकाल्ने तयारीमा छ।











Post a Comment

 
Top