0
गोल्डेन न्यूज संवाददाता
नेपाल तरुणदलको जारी महाधिवेशनमा नयाँ नेतृत्व छान्नका लागि नयाँ प्रस्ताव आएको छ । पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व सहमतिकै आधारमा छान्नका लागि तेस्रो शक्तिको रुपमा रहेको सिटौला समूहसँग नयाँ प्रस्ताव गरेका हुन् । उनीहरूले अध्यक्षमा देउवा पक्षका उम्मेदवार, उपाध्यक्षमा सिटौला र महामन्त्रीमा पौडेल पक्षका उम्मेदवारलाई चयन गर्ने प्रस्ताव सिटौलासँग राखेका थिए । उक्त प्रस्तावमा सिटौला पक्षले भने पार्टी सभापतिको धारणाको सम्मान गर्दै ‘ग्रिन सिग्नल’ दिएको छ । तर, उक्त समूह अझै पनि नेतृत्व चयन भने प्रक्रिया मार्फत् बैधानिक रूपमा हुनुपर्ने पक्षमा वकालत गर्दै आएको छ । तर प्रस्तावक देउवा–पौडेल पक्षले भने प्रक्रिया लम्बिने भन्दै सीधै नाम टाँस्ने पक्षमा आफ्नो धारणा राख्दै आएका छन् ।  यसरी पदाधिकारीको भागवण मिलेसँगै अध्यक्षमा देउवा समूहका जीतजंग बस्नेत, उपाध्यक्षमा सिटौला समूहका उत्तमकुमार चापागाईँ बन्ने लगभग पक्कापक्की रहेको छ । तर महामन्त्रीमा भने पौडेल समूहले पाउने सम्भावना बढेसँगै पौडेल पक्षमा भने महामन्त्री को भन्ने भन्नेमा विवाद सुरू भएको छ। महामन्त्रीका लागि पार्टीका वरिष्ठ नेता पौडेलले भूपेन्द्र जंग शाहीलाई बनाउन प्रस्ताव गरेका छन् भने पार्टी महामन्त्री शशांक कोइरालाले आफ्नो भतिज सिद्धार्थ कोइरालालाई बनाउन खोजेका छन् । तर, उनी पारिवारबादको कुरा बहसमा आएको खण्डमा भने कोइरालालाई केन्द्रीय सदस्य बनाएर महामन्त्रीमा नीलकण्ठ रिजाललाई उठाउने तयारीमा रहेका छन् । रिजाल नेविसरुंको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी िदने भनिएपनि पौडेल पक्षबाट अध्यक्षमा उम्मेदवारी िदन पाएका थिएनन् ।  यसबाहेक पनि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि पौडेलले प्रस्ताव गरिरहेका शाहीलाई उठाउन खोजीरहँदा पार्टी केन्द्रीय सदस्य रामशरण महतले पनि आफ्ना भतिज रमेश महतलाई बनाउन प्रस्ताव गरिरहेका छन् । उक्त विषयमा अहिले घनिभूत छलफल चलिरहेको बताईएको छ । स्रोतका अनुसार मंगलबार विहानैसम्म पनि देउवा–पौडेलले सिटौला समूहलाई उपाध्यक्ष थप गर्ने प्रस्ताव राख्दै आएका थिए । तर, सिटौला समूहले सो प्रस्तावमा सहमति नजनाएपछि उनीहरुले यस्तो नयाँ प्रस्ताव ल्याएका हुन् । आफूलाई उपाध्यक्षमा खासै चासो नभएको भन्दै सिटौला समूहले भने उपाध्यक्षको संख्या थप गर्ने हो भने आफ्नो पक्षका उम्मेदवारलाई महामन्त्री दिन प्रस्ताव गरेको थियो । सिटौला समूहले उपाध्यक्ष थप्ने नै हो भने महामन्त्री पनि एकजना थप्ने अर्काे प्रस्ताव पनि उनीहरुसामू राखेको थियो । सिटौला पक्षको जवाफमा सहमति जनाउन नसकेपछि देउवा पौडेल पक्षले यस्तो नयाँ प्रस्ताव गरेका हुन् । उता, अहिलेको कार्यकालदेखि सदस्यताको संख्यामा भने केही बृद्धि गर्ने तयारी भईरहेको पनि सम्बद्ध स्रोतले जानकारी दिएको छ । अहिलेसम्म ६१ सदस्यीय रहेको कार्यसमिति अब भने समावेशी प्रतिनिधित्वको आधारमा ७५ सदस्यीय बनाउने तयारी भईरहेको छ । जसमा ४० प्रतिशत देउवा पक्षलाई, ३० प्रतिशत पौडेल पक्षलाई र ३० प्रतिशत सिटौला समूहलाई दिने मोटामोटी सहमति भईसकेको छ । अहिले यस विषयमा छलफल चलिरहेको छ । निर्वाचन पुरानै विधान अनुसार गर्ने विषयमा पनि मोटामोटी सहमति भईसकेको छ । यता पोखरा आएका देशभरका तरुण कार्यकर्ताहरु निर्वाचन नै अन्यौलमा परेपछि धमाधम आफ्नो घर तिर फर्कन थालेका छन् । केही तरुण कार्यकर्ताहरुले विधिसम्मत निर्वाचनको माग गर्दै सभागृह गेट अगाडि धर्नामा बस्ने तयारी थालेका छन् । ‘देशको प्रजातान्त्रिक पार्टीको भातृ संगठनको निर्वाचन विना नै नेतृत्व चयन हुने आशंका वढेपछि हामी अनसनमा वस्ने तयारीमा छौं ’ सभागृह गेटमा भेटिएका केही युवा तरुणहरुले भने । निर्वाचनको लागि तयार भएर वसेको निर्वाचन समितिले कुनै पनि काम नपाएको वुझिएको छ। निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतहरुले माउ नेताले दिने डकुमेन्ट कुरेर वसेका छन् भने अहिलेसम्म निर्वाचनका कुनै पनि प्रक्रिया सुरु भएका छैनन् । निर्वाचन अधिकृत देवीलाल शर्माले नेताहरुवाट अहिलेसम्म निर्वाचनको लागि कुनै आदेश नआएको बताउँदै भने–‘जे गर्ने आदेश आउँछ त्यही गरौंला भनेर सभागृह भित्रै वसिरहेका छांै ।’




Post a Comment

 
Top