0
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ,
पोखरा त साँच्चिकैको पोखरा नै रै’छ !
प्रेमप्रकाश मल्लले त्यतिकै यो गीत रचना गरेका होइनन् भन्ने तथ्य पोखराका मनोरम दृश्यले आफैं प्रमाणित गर्छन् । भ्रमणमा आउने अधिकांश पर्यटकले पोखराको सुन्दरताको वर्णन गर्छन् र पोखरा जीबनमा एकपटक पुग्नैपर्ने ठाउँ हो भनेर निश्कर्ष निकाल्छन् । प्रमुख पर्यटकीय गन्तव्य पोखरा प्रकृतिबाट वरदान पाएको विश्वकै सुन्दर शहर हो भन्दा अतियुक्ति हुँदैन । नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो गन्तव्य पोखरा नै हुने गर्छ । आफैंमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउँछाउँमा देखिने मनोरम दृश्यहरुले गरेका छन् । उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खला अनि फेवाताल, सेतो गुम्बा, डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, सराङकोट र प्यारागलाइडिङ, अल्ट्रालाइट, विन्दावासीनी मन्दिर पोखराका मुख्य आकर्षण हुन् । पोखरा यस्तो ठाउँ हो, जहाँ नेपालभर घुमेर पोखरा पुगिएन भने त्यो घुमाइ अधुरै रहन्छ । पछिल्लो समय विदेशी पर्यटक मात्र होइन, स्वदेशीहरुको समेत पोखरामा भिड लाग्ने गरेको छ । प्रकृतिको सुन्दरतामा रमाउन एकपटक पुग्नै पर्ने ठाउँ हो पोखरा । पोखरा घुम्न आउने पर्यटकको पहिलो गन्तव्य फेवा ताल हुने गरेको छ । फेवातालको किनारामा अवस्थित सुन्दर स्थान लेकसाइडमा बस्ने र तालको पानीमा बोटिङ गर्न अधिकांश पर्यटकहरु रुचाउने गर्छन् । फेवातालको वीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न पनि उत्रिकै भिड लाग्ने गर्छ । डुङ्गा भाडामा लिएर दिनभरि बोटिङ गर्ने युवा–युवतीको जोडी र परिवारहरुको घुइँंचो लाग्ने गर्छ । सुन्दर ताल र तालमा तैरिएका डुङ्गाहरु देख्दा स्वर्गको कुनामा पुगेको अनुभूति हुने गर्छ । फेवाताल, वेगनास ताल र रुपातालमा बोटिङ मात्र नभई फिसिङको समेत व्यवस्था छ । फेवातालमा देखिने माछापुच्छ्रे हिमालको दृश्यले पनि पर्यटकलाई निकै आकर्षित गर्छ । फिसिङ गर्न विदेशीहरु निकै रुचाउँछन् । लेकसाइड साँझ परेपछि बिहे मण्डपजस्तै देखिन्छ । यहाँबाट देखिने सबैभन्दा आकर्षक पक्ष सराङकोटबाट गरिने प्यारा ग्लाइडिङ हो । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ । फेवातालको किनाराबाट सराङकोटतर्फ हेर्दा रंगी–विरंगी प्याराग्लाइडिङ उडिरहेको देख्न पाइन्छ । साहसिक मनोरञ्जनमा रुची राख्नेहरु प्याराग्लाइडिङमा उडेर मज्जा लिन्छन् भने नसक्नेहरु हेरेरै भए पनि रमाइलो लिन्छन् । छोरेपाटनमा रहेको डेभिड फल्स र गुप्तेश्वर गुफा पोखराको अर्को आकर्षण हो । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीतर्फ बग्छ । डेभिड फल्स पानी नहुने समय हिउँदमा त्यति आकर्षक नहुने भए पनि वर्षमा पुग्नैपर्ने ठाउँ हो । ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै आकर्षक देखिन्छ । गुप्तेश्वर गुफा खाल्डोजस्तो स्थानमा रहेको छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाको मज्जा लिन यहाँ पनि पर्यटक तथा स्थानीयहरुको भिड लाग्ने गर्छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे हामीले डेभिड फल्सको पानी देख्न सक्छौं । पानी हेर्ने गरी एक किलोमिटरभन्दा लामो गुप्तेश्वर गुफा हेर्न हिउँदमा जानुपर्ने हुन्छ । फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्वा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा पुग्नेहरु एकपटक उक्त गुम्बामा पुग्ने गर्छन् । यहाँबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो महसुस हुने गर्छ । विन्ध्यवासिनी मन्दिर, नेपालकै सबैभन्दा बढी विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पस, हलनचोकको डाँडा, बेगनास ताल, रुपाताल, अर्गा्निक तरकारी फल्ने हेम्जा, महेन्द्र गुफा, चमेरी गुफा, माटेपानी गुम्वा, लुम्लेमा पनि पर्यटकको घुईंचो लाग्ने गर्छ । पोखराको अर्को आकर्षक पक्ष सेती नदी हो । करिव २ सय मिटरको गहिराइमा बग्ने सेती नदी देख्दा जोसुकै आश्चर्यचकित हुन्छन् । पोखरा खोँचैखोँच भएको शहरकारुपमा समेत चिनिन्छ । यहाँबाट विभिन्न ट्रेकिङ रुटहरुमा जान सकिन्छ । माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि पोखरा प्रवेशद्वार हो । पछिल्ला वर्षहरुमा यहाँ ठूला साना पर्यटकस्तरीय होटलहरुको संख्या पनि निकै बढेका छन् । पर्यटनमा लगानी गर्नेहरुले पनि पोखरालाई आधार बनाएका छन् ।
श्रीधर पौडेल÷अनलाइनखबर
पोखरालाई प्रदेश राजधानी बनाउने निर्णय


Post a Comment

 
Top