0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको १३औं महाधिवेशन पश्चात तेस्रो धारको रुपमा उदाएको नेता कृष्ण सिटौला समूह जिल्ला–जिल्लामा सक्रिय हुन थालेको छ । खासगरी भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र महिला संघको महाधिवेशनमा समेत आफ्नो हिस्सा दाबी गर्दै कतिपय पद हत्याउन सफल सिटौला समूह तरुण दलको आशन्न महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनस्थल जिल्ला कास्कीमा समेत सक्रियता देखाएको छ । यसअघि महाधिवेशन सम्पन्न भएका दुई वटा भातृ संगठनमा हिस्सा पाउन सफल भएकै कारण तरुण दलमा पनि सोहि किसिमको रणनीति निर्माण गर्न जिल्लास्तरमा आफ्नो सक्रियता देखाएको हो । पहिल्लो समय कास्कीमा सिटौला समूहमा आकर्षित हुने कांग्रेस कार्यकर्ताको लस्कर बढ्दो छ । लस्करमा वर्तमान जिल्ला कार्य समितिका पदाधिकारी समेत छन् तर राजनीतिक भविष्यका बारे निक्र्यौल नहुन्जेल त्यो तहका जिल्ला नेता खुलिसकेका भने छैनन् । अहिले कास्की जिल्लामा सिटौला समूहको प्रतिनिधित्व गर्नेगरी पूर्व जिल्ला सचिव युवराज कुँवर, पूर्व सह–सचिव मुकुन्द बाँस्तोला ज्वाला, जिल्ला सदस्य विष्णुबहादुर क्षेत्री, युवा नेता शिवप्रसाद अधिकारी लगायतका छन् । समूहको जिल्लास्तरमा कार्यकर्ताको कसरी आकर्षण बढाउन सकिन्छ भन्नेमा आफूहरु हरेक दिन तल्लिन रहेको समुहका एक जिल्ला नेताले गोल्डेन न्यूज दैनिकसंग भने । माथि उल्लेख भएका नेता कार्यकर्तामध्ये सबैजसो यसअघि सिटौला समूहमा थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा वर्तमान संस्थापककारुपमा स्थापित हुनु र वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा विस्तारै कमजोर सावित हँुदै जान थालेपछि पनि कास्कीका कांग्रेसी नेता–कार्यकर्ताहरु सिटौलाको खेमातर्फ लम्केका हुन् । ‘पौडेलले राजनीतिक रुपमा अडान लिन नसक्ने, संगठनलाई चुस्त, मजबुत राख्न नसक्ने कार्यकर्ताको संरक्षणमा समेत ध्यान पु¥याउन नसकेको र वर्तमान सभापति देउवाको समूहमा पनि जान नसक्ने भएपछि कांग्रेसको पुरानो संस्थापन पक्षको नेताका रुपमा सिटौलालाई हामीले विकल्पका रुपमा रोजेका हौं।’– कास्की कांग्रेसका जिल्ला सदस्य तथा सिटौला समूहमा लागेका  नेता युवराज कुँवरले भने । सिटौला समूहमा प्रवेश गर्नेमध्ये अधिकांश युवापंंक्तिको बाहुल्यता छ । जसमा मुख्य कारणका रुपमा युवा नेता गगन थापा र प्रदिप पौडेलको विद्यार्थी राजनीतिमा रहेको प्रभाव नै हो। विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा आएका नेताद्वय थापा र पौडेल सिटौला समूहको खम्बाका रुपमा रहेकाले पनि कास्कीका युवा र विद्यार्थी त्यस समूहमा लागेको बताइन्छ । ‘हामी तत्कालिन अवस्थामा संस्थापन समूहमै थियौ तर वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीति अक्षमताको महसूस हुनु, विद्यार्थीकाल देखिनै गगन, प्रदिप सँगको सामिप्यता बलियो भएकाले पनि अहिले तेस्रो धारलाई बलियो बनाउन लागि परेका हौं’–अर्का युवा नेता मुकुन्द बाँस्तोला ज्वालाले भने । उनी कास्कीका ६० प्रतिशत भन्दा बढी तरुण युवा, विद्यार्थी र पार्टीका नेता कार्यकर्तासमेत सोही समूहमा रहेका दावी गर्छन् । यसैबीच मंगलबार सिटौला समूहका जिल्लास्तरका नेता तथा कार्यकर्ताको बैठक बसेको छ । पोखराको लेकसाईडस्थित एक होटलमा बसेको बैठकले तरुण दलको पोखरामा हुने महाधिवेशनको पूर्वसन्ध्यामा २६ गते नेता सिटौलाले  गर्ने सम्बोधन कार्यक्रमको ब्यापक तयारी गर्ने रणनीति बनाएको थियो । त्यसका लागि विभिन्न तयारी समितिसमेत गठन भएको बताइन्छ ।













Post a Comment

 
Top