0
गोल्डेन न्यूज संवाददाता
अहिले काठमाडौं महानगरपालिका नेपालको एक्लो महानगरपालिका हो। तर, स्थानीय तह पुनर्संरचना आयोगमा अहिलेसम्म आएको प्रस्तावलाई आधार मान्ने हो भने नेपालमा अब तीनवटा महानगरपालिका हुने छ। आयोगमा अहिलेसम्म प्राप्त प्रस्तावअनुसार विराटनगर र पोखरालाई महानगरपालिका बनाउने प्रस्ताव आएको स्थानीय तह पुनसंरचना आयोगका उपसचिव देवी सुवेदीले जानकारी दिए। अहिलेको काठमाडौं महानगरपालिका भने यथावत रहनेछ। वर्तमान विराटनगर उप–महानगरपालिकामा वैजनाथपुर र कटहरी गाविस थपेर विराटनगर महानगरपालिका बनाउने प्रस्ताव आयोगले प्राप्त गरेको छ। पोखरालाई महानगरपालिका बनाउन भने कास्कीले तीनवटा प्रस्ताव आयोगमा पठाएको छ। पहिलो विकल्प पोखरा उपमहानगरपालिका, चापाकोट, कास्कीकोट, मौजा र भदौरे तामागी गाविस मिलाएर पोखरा महानगरपालिका बनाउने गरी प्रस्ताव गरिएको छ। दोस्रो विकल्पमा पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका मिलाएर पोखरा–लेखनाथ महानगरपालिका बनाउने प्रस्ताव छ। यसमा चापाकोट, कास्कीकोट, मौजा, माझठाना र पुरनचौर गाविस, भदौरे–तामागी गाविसका केही वडा र कालिका गाविसका केही वडा पनि समावेश हुनेछन्। पोखरा उपमहानगरपालिका र लेखनाथको साथमा पुरनचौर गाविस तथा मौजा र कालिका गाविसका केही वडा समावेश गरी पोखरा–लेखनथा महानगरपालिका बनाउने प्रस्ताव गरिएको छ।  यी प्रस्तावलाई मापदण्डका आधारमा मूल्यांकन गरी आयोगले निर्णय लिने छ। आयोगको मापदण्डअनुसार महानगरपालिका बन्न न्यूनतम ३ लाख जनसंख्या र ४० करोड वार्षिक आय हुनुपर्ने लगायतका सर्त छन्। अब बन्ने महानगरपालिकाले न्यूनतम २८ देखि ३५ वटासम्म वडा विभाजन गरी सेवा प्रवाह गर्न सक्ने आयोगको मापदण्ड छ।




Post a Comment

 
Top