0
गोल्डेन न्यूज संवाददाता
तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको रकम प्रायले रमाइलो गर्नमा तथा अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी छ । देउसी भैलो खेलेर संकलन भएको रकम कमैले मात्र सामाजिक र उपकारी काममा खर्च गर्छन् । यसैक्रममा देउसी भैलोबाट संकलित रकम पोखराको एक सहकारीले उपकारी तथा सामाजिक कामका लागि हस्तान्तरण गरेको छ । पोखरा रोयल सहकारी संस्थाका कर्मचारीहरुले देउसीभैलोबाट संकलन गरेको रकम सामाजिक सेवामा खर्चिएका हुन् । तिहारको अवसरमा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार र उपसमितिका पदाधिकारीहरुलाई संस्थाको प्रधान कार्यालयमा आमन्त्रण गरी कर्मचारीहरुले देउसी भैलो खेलेका थिए । देउसी भैलो कार्यक्रमबाट संकलित ५९ हजार ९ सय १५ रुपैयाँ बालमैत्री संघ पोखरा(३ मा आश्रित बाल शिक्षा समूहका ४५ जना बालबालिकाको अध्ययनको लागि मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरियो । देउसी भैलोबाट संकलित रकम उदारणीय काममा खर्च गर्ने घोषणा गरेर सोही अनुसार हस्तान्तरण गरिएको संस्थाका प्रवन्धक मीलन ढकालले जानकारी दिए । सहयोगले बालमैत्री संघमा आश्रित बालबालिकाहरुको शिक्षाका लागि खर्च गरिने संस्थाका अध्यक्ष राधेश्याम उदासले बताए । ‘सामाजिक भावनाका साथ देउसी भैलो खेलेर संकलित रकम बालबालिकाको शिक्षाका लागि प्रदान गरेर सहकारीले उदाहरणीय काम गरेको छ,’ उनले भने । कार्यक्रममा सहकारीका अध्यक्ष तुलसीप्रसाद गुरुङ, उपाध्यक्ष रुद्रकुमारी गुरुङ, प्रवन्ध निर्देशक भीम गुरुङ, कोषाध्यक्ष चन्द्रप्रसाद गुरुङ, सञ्चालक, ध्रुवमोहन भट्टराई, गीरबहादुर श्रेष्ठ, कृष्ण ढकाल, प्रवन्धक मीलन ढकाल लगायले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । रोयल सहकारीमा कार्यरत कर्मचारीहरुको विभिन्न अवसरमा अत्यन्त पारिवारिक वातावरणका साथ विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । हरेक तीजमा महिला कर्मचारीलाई पुरुष कर्मचारीले दर खुवाउने र हरेक तिहारमा पुरुष कर्मचारीलाई महिला कर्मचारीले सेल खुवाउने परिपाटीले धेरै वर्ष अगाडिदेखि निरन्तरता पाउँदै आइरहेको छ । यसपटकको तिहारको कार्यक्रममा सेल सहित पहिलो पटक आफ्ना अभिभावकसँग देउसी मागी परोपकारी कार्यको थालनी गरिएको ढकालले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा सहकारीको शेयर पुँजी १५ करोड रुपैयाँ भन्दा बढी छ । ८८ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी ९८ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गर्न सहकारी सफल भएको प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिए । १ करोड रुपैयाँ भन्दा बढी नाफा र १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्न सहकारी सफल भएको उनले बताए । सहकारीमा ८ करोड रुपैयाँ भन्दा बढीका विभिन्न कोषहरु छन् । आर्थिक सुशासन कायम राख्न सफल पोखरा रोयल सहकारी देशकै नमुना सहकारीका रुपमा दर्ज भएको छ ।





Post a Comment

 
Top