
भैरहवा विमानस्थल स्तरोन्नति धमाधम
सन् २०१७ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने गरी सुरू गरिएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम अहिले धमाधम भइरहेको छ। अघिल्लो वर्ष निर्माण सामग्रीको अभावमा काममा ढिलाइ भए पनि पछिल्लो समय समस्या नरहेको विमानस्थल आयोजना प्रमुख ओम शर्माले बताए। शर्माका अनुसार विमानस्थलमा अहिले तीन हजार मिटर लामो धावनमार्गको सतहमुनि माटो विछ्याउने (अर्दन) काम सकिएको छ। यस्तै, अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर र प्रशासकीय भवनको पनि जमिनको सतहसम्मको काम पूरा भएको छ। अर्दन पूरा भएपछि दुई फिटसम्म गिट्टी बालुवा विछ्यााएर प्रिसबबेसको काम गर्नुपर्ने र त्यसपछि सबबेस र बेस हुँदै पिच गरिने प्रमुख शर्माले जानकारी दिए। विमानस्थल निर्माणमा सबैभन्दा अप्ठ्यारो र समय लाग्ने धावनमार्गको काम भएकोले धावनमार्ग बनेपछि अरु काम छिटो अगाडि बढ्ने उनले बताए। जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुने छ। हवाई सुरक्षाका लागि रनवेको दुबैतर्फ ३÷३ सय मिटर लामो सेफ्टी एरिया समेत बनाइएको छ। तीन हजार मिटर लामो धावनमार्ग माटो कम्प्रेसन गरी सबग्रेड लेबल तयार भइसकेकोले आपतकालीन अवस्थामा भने अहिले नै विमान अवतरण गर्न सकिने प्रमुख शर्माले बताए। तीन वर्षमा निर्माण सक्नेगरी चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले विमानस्थलको स्तरोन्नतिको जिम्मा पाएको थियो। मधेस आन्दोलन तथा निर्माण सामग्रीको अभावले केही समय काम सुस्ताएपछि छ महिना ढिलो निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिए। पहिलो चरणको सिभिल वर्कको काम सकिएपछि इक्युपमेन्टका लागि पुनः ग्लोबल टेन्डर गरिने प्राधिकरणले जनाएको छ। भौतिक पूर्वाधारको निर्माण अन्तर्गत तीन हजार मिटरको धावनमार्ग, घाग्रा खोलाको डाइभर्सन, पार्किङ वे, टर्मिनल भवन लगायत संरचना बन्दैछन्। यस्तै, विमानस्थलको सिभिल वर्कको काममा आन्तरिक टर्मिनल भवन, छ मध्ये दुई वटा जहाजका लागि एप्रोन, कार्गो भवनसहितका पूर्वाधार भने प्राधिकरण आफैंले निर्माण गर्ने छ। ‘निर्माण सामग्री अभाव नभए अबको दुई वर्षमा विमानस्थलको निर्माण कार्य पूरा हुन्छ,’ शर्माले भने। सरकारले एशियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल स्तरोन्नति गर्न लागेको हो। तीन हजार मिटरको धावनमार्ग बनेपछि ‘वाइड बडी’का जहाज पनि अवतण गर्न सक्ने छन्। शर्माले गौतम बुद्ध विमानस्थलमा एअरबस ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सक्ने बताए। गौतम बुद्ध अन्तर्र्रािष्ट्रय विमानस्थलमा त्रिभुवन विमानस्थलमा अवतरण हुने सबै जहाज अवतरण हुनसक्ने भए पनि त्यसका लागि भारतसँग हवाई क्षेत्र प्रयोग गर्न पाउने सम्झौता गर्नुपर्ने प्राधिकरणका प्रवक्ता केसीले बताए। ‘त्यहाँ समथर जमीन भएकाले काठमाडौंको भन्दा सहज तरिकाले जहाज अवतरण हुन सक्छन्,’ केसीले भने,–‘तर, त्यसो गर्दा भारतको हवाई क्षेत्र पनि प्रयोग गर्नुपर्दछ। भारतसँग हवाई क्षेत्र प्रयोग गर्नेबारे अहिलेसम्म सम्झौता भइसकेको छैन। उनले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा समस्या आइपर्दा प्रयोग गर्न सकिने गरी बनाउन लागिएको बताए। ‘हरेक देशमा जहाज एक विमानस्थलमा अवतरण गर्ने अवस्था नभएपछि नजिकैको अर्को विमानस्थलमा अवतरण गर्ने विमानस्थल हुन्छन्। तर, हामी त त्रिभुवन विमानस्थलमा समस्या भयो भने भारतीय विमानस्थलमा जानुपर्छ,’ केसीले भने–‘गौतम बुद्ध अन्तर्र्रािष्ट्रय विमानस्थल बन्यो भने भारतीय विमानस्थल प्रयोग गर्नु पर्दैन।’ उनले पोखरा र भैरहवा दुबै पर्यटकीय ठाउँ भएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल चल्ने अपेक्षा गरिएको भए पनि तिनीहरू त्रिभुवन विमानस्थलको विकल्प हुन नसक्ने बताए। ‘यी विमानस्थलबाट सार्क मुलुकका सहर जोड्न सकिन्छ भन्ने हो,’ केसीले भने–‘त्रिभुवन विमानस्थलको विकल्प त निजगढ विमानस्थल नै हो। त्यहाँ फुलफेज अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना छ।’
भानुभक्त, काठमाडौं
भगवती पाण्डे, बुटवल
Post a Comment