0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दलको चौथो महाधिवेशनले लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन्।  तरुण दलको महाधिवेशनको सन्दर्भमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले महाधिवेशन प्रतिनिधिले लोकतान्त्रिक प्रक्रियाबाट आफ्नो नेतृत्व चयन गरी नयाँ विचार सहितको तरुण दल निर्माण गर्ने विश्वास व्यक्त गरे । उनले प्रत्येक तरुणमा देशका लागि केही गर्छु भन्ने आत्मविश्वास आवश्यक भएकामा जोड दिए । सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्यमन्त्री गगनकुमार थापाले युवा वर्गका विद्यमान समस्याको समाधान एवम् चुनौतीलाई सामना गर्न सक्ने किसिमको नेतृत्व आवश्यक भएको उल्लेख गरे । काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले देशको आर्थिक विकास र समृद्धिमा योगदान गर्ने तरुण दल अहिलेको आवश्यकता भएको बताए ।  काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सबैलाई समेटेर लैजान सक्ने विचार र सोच भएको नेतृत्वमा जोड दिए ।  कार्यक्रममा काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, तरुण दलका केन्द्रीय सदस्य नारायण भट्टराई, दामोदर लम्साल, नृप सुनार, दिनेश राई, नेपाल महिला सङ्घका महासचिव धना खतिवडा लगायतले लोकतान्त्रिक विधि र प्रक्रियाबाट नेतृत्व चयन गर्न पाउनुपर्ने अधिकारलाई कुण्ठित गर्न नहुने बताएका थिए ।


Post a Comment

 
Top