0
कृष्ण गिरी
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको दिन दिने भ्रमणमा आएका छन् । आज उनको भ्रमणको अन्तिम दिन हो । नेपाल भ्रमणमा रहँदा उनले यहाँका प्रायः सबै शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् भने देखि पशुपतिदेखि जनकपुरसम्म पूजाआजा गरेका छन् । नेपालमा गणतन्त्र आएपछिको मुखर्जीको यो दास्रो भ्रमण हो । पहिलो विदेश मन्त्रीका रुपमा र दोस्रो सेरोमेनियल राष्ट्रपतिको रुपमा । पहिलो भ्रमणमा उनीसम्बद्ध दलको सरकार थियो । अहिले जातिवादी भनेर चिनिएका भारतीय जनता पार्टीको सरकार । पहिलो पटक उनी नेपाल भ्रमण आउँदा नेपाल–भारत सम्बन्ध सहज थियो । तर, अहिले नेपाल भारत सम्बन्ध असहज अवस्थाबाट गुज्रिरहेको छ । अहिले नेपालमा भारतविरोधी जनमत उच्च स्तरमा छ । विनासकारी भूकम्पपछि तंग्रन नपाउँदै भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगायो । जसको कारणले नेपालमा ठूलो आर्थिक क्षति भयो । आम नेपालीहरुले त्यो समय भोग्नु परेको असज अवस्था अहिले पनि बिर्सेका छैनन् । त्यही भएर सामाजिक सञ्जाल उनको भ्रमणको विरोधमा रंगिएका छन् । यी त भए जनताका भावनात्मक पक्ष । मुखर्जीको भ्रमणलाई राजनीतिक नेतृत्वले भने कसरी हेरेका छन् ? यो भ्रमणले नेपाल–भारत सम्बन्धमा के अर्थ राख्छ ? यो भ्रमणको उपलब्धि के ?
राजन भट्टराई, एमाले नेता
मुखर्जीको राजकीय भ्रमणले नेपाल भारत भ्रमण उच्चस्तरमा पुगेको बताउछन् एमाले नेता राजन भट्टराई । भट्राईका अनुसार भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा उच्चस्तरका नेताहरुसँग जसरी भेटघाट भए, सौहार्दपूर्ण वार्तालाप भए, त्यसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको छ, सम्बन्धमा सुधार आएको छ । सम्बन्धमा सुधार आएर नै यस्ता उच्च स्तरका भ्रमणहरु हुने गरेका छन् । उच्च स्तरको भ्रमणले जसरी दुई देशबीच सम्बन्ध राम्रो बनेको छ, यस्तो अवस्था सँधै रहनुपर्छ । दुई देशबीचको सम्बन्ध राम्रो भएन भने विश्वमा पनि राम्रो सन्देश जाँदैन । यो भ्रमणले पारस्परिक सम्बन्धको आधारलाई अझै मजबुत बलियो बनाएको छ । यस्ता उच्च स्तरीय भ्रमणहरु बेलाबेला हुनुपर्छ । दुई सार्वभौम सत्ता सम्पन्न देशका उच्चस्तरिय नेताहरुको भ्रमणले दुई देशबीच सद्भाव बढ्छ । एकता बलियो हुन्छ । अहिलेको भ्रमणले पनि त्यही भएको छ ।
पृथ्वी सुब्बा गुरुङ एमाले नेता
भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले बिग्रेको नेपाल भारत सम्बन्धमा खासै कुनै फाइदा हुँदैन । यो भ्रमण पछि पनि धेरै प्रश्नहरु अनुत्तरित छन् । यो भ्रमणले नेपाल भारत सम्बन्ध सुधारमा केहि नयाँ होला जस्तो लाग्दैन । पुरानैकै निरन्तरता हो । भ्रमण हुनु राम्रो हो । तर यसले दुई देशबीचको सम्बन्ध न त राम्रो हुने छ न त केहि बिग्रने नै छ । नेपालको हितमा यो भ्रमण छैन । पुरानै कुरा दोह¥याउन आए जस्तो लाग्यो । मिलेर जाऊ, संविधान संशोधन गर । यो त पहिलादेखि नै भारतले भन्दै आएको थियो । के फरक भयो त राष्ट्रपतिको भ्रमणमा ?
एनपी साउद, नेता नेपाली काँग्रेस
भारत सरकारको सर्वोच्च पदमा रहेका व्यक्ति हुन् प्रणव मुखर्जी । सम्मानित नेता पनि हुन् । मुखर्जीको भ्रमणले नेपाल भारत सम्बन्धमा आएका असन्तुलित पुराना अध्यायहरुलाई नयाँ आयाम दिने छ । नयाँ तरिकाले पुनः सम्बन्धहरु सुमधुर हुने छन् ।
आर्थिक र अन्य क्षेत्रमा सन्धि सम्झौता नभएपनि हाम्रो सरकार, भारत सरकार नेपाली जनता, भारतीय जनता र दुई देशबीचको सम्बन्ध राम्रो हुने छ । एक बर्ष पहिला बिग्रेको सम्बन्धलाई पुनः सहि बाटोमा ल्याउने छ ।
मुखर्जी कार्यकारी पदमा नभएपनि भारत सरकारको आधिकारीक निर्णयमा चल्नु पर्छ । यसकारण पनि भारत सरकारले नेपाल भारतबीच बिग्रेको सम्बन्ध सुर्धान चाहेको थियो । त्यसको लागि भारत सरकारले राष्ट्रपति मुखर्जीलाई नै रोजेको हो । यो भ्रमणले नेपाल भारत सम्बन्ध पुनः राम्रो हुनेछ ।
पम्फा भुसाल, नेतृ माओवादी केन्द्र
मुखर्जीको तीन दिने नेपाल भ्रमणले नेपाल भारत चिसिएको सम्बन्धमा सुधार आएको छ । यो भ्रमण आफैमा ऐतिहासिक छ । भारतका प्रधानमन्त्री १७ बर्ष पछि नेपाल भ्रमण आएका थिए । राष्ट्रपति १८ बर्षपछि आएका छन् । सधैँ यहीँका नेताहरु भारत भ्रमण जाने प्रचलन थियो । यो भ्रमणले अब दुबै देशका नेताहरुको भ्रमण हुन आवश्क छ भन्ने कुरा देखाएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला चिसिएको सम्बन्ध थियो त्यो सुधारको क्रममा थियो । भारतीय राष्ट्रपतिको भ्रमणले यसमाथि झन् सुधार भएको छ । यो भ्रमणले दुई देशबीचका सरकार र जनताबीच नयाँ आयाम दिने छ । सन्धि सम्झौता नभएपनि गुम्सिएर रहेको सम्बन्धमा नयाँ आयाम आउने छ । सम्बन्ध सुध्रने छ ।
राजेन्द्र महतो अध्यक्ष, सद्भावना पार्टी
उच्चस्तरीय भ्रमणले नेपाल भारतबीच सम्बन्ध राम्रो हुन्छ । १८ बर्ष पछि भएको भ्रमणले नेपाल भारत सम्बन्धमा पक्कै पनि नयाँ आयाम दिने छ । यहाँको धर्मसंस्कृति र भारतको धर्मसंस्कृति मिल्छ । यो भ्रमण सम्बन्ध सुधारकाको लागि नै हो । यसले सम्बन्धमा आएको रोकावटलाई हटाउन मद्दत गर्छ । नेपालका राष्ट्रपति पटक पटक भारत भ्रमणमा गए तर भारतका राष्ट्रपति आएका थिएनन् । यो भ्रमणले सद्भाव ल्याउने छ । सम्बन्ध राम्रो हुनेछ ।

Post a Comment

 
Top