0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । पोखराको विजयपुमा मापदण्ड विपरित बनेका घरटहरा सहित होडिङ बोर्ड समेत भत्काइएको छ । पोखरा उप–महानगरपालिकाले शुक्रवार पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोला आसपास बनेका घर टहरा भत्काएको हो । साथै सडक छेउमा राखिएका होडिङ वोर्ड समेत हटाइएको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउने काममा पोखरा उप–महानगरपालिका, पोखरा उपत्यका नगरबिकास समिति, विभिन्न राजनीतिक संयन्त्रका पदाधिकारी, प्रहरी पनि सहभागी थिए । पहिलो चरणमा बिजयपुर खोलादेखि पृथ्वीचोकसम्म सडकको दाँयाबाँया रहेको अतिक्रमित घरटहरा तथा होर्डिङ बोर्ड हटाइने पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पहिलो चरण सकिएपछि पोखराका अन्य क्षेत्रमा मापदण्ड विपरित निर्माण भएका घर टहरा र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्तीहरुमा डोजर लागाइने उनले बताए । पहिला सूचना दिने र सूचना दिंदा पनि अटेर गरेको खण्डमा नगरपालिका आफैले डोजर प्रयोग गरी सार्वजनिक जग्गामा निर्माण भएका घरटहराहरु हटाउने उनको चेतावनी छ । पोखरा उप–महानगरपालिका संगै पोखरा उपत्यका नगरबिकास समितीले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्नमा तत्परता देखाएको छ । अतिक्रमित घरटहरा हटाउने अभियानमा भेटिएका पोखरा उपत्यका नगरबिकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले पोखरा उपत्यका नगरविकास समितिले पनि पोखराको बसपार्क निर्माणका लागि अतिक्रमित घरटहरा हटाउने तयारीमा रहेको बताए । विभिन्न राजनीतिक संयन्त्रहरु संग छलफल भइरहेको र पोखराको बृहत्तर विकास संगै पोखरा बसपार्क निर्माणका लागी सुकुम्बासीलाई हटाउने तयारी गरिएको उनले बताए । केही वर्ष अगाडि पोखराको फिर्के खोला अतिक्रमण भएको भन्दै पोखरा उपत्यका नगरबिकास समिति र पोखरा उप–महानगरपालिकाले घरटहरा हटाउन सुरु गरेपनि पूर्णता पाउन नसक्दा अहिले फिर्केको अतिक्रमणले नेटो काटेको छ ।






Post a Comment

 
Top