0
गोल्डेन न्यूज संवाददाता
सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ ट्राफिक सप्ताह हुने भएको छ। ट्राफिक सप्ताहका लागि शुक्रवार सरोकारवाला सहितको समन्वय बैठक सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सबैको सहयोगले मात्र दुर्घटना न्युनिकरण हुने बताउँदै सचेत रहन आग्रह गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको संयुक्त आयोजनामा बैठक भएको हो । सप्ताहको अवसरमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरि एक हप्ताभर विभिन्न कार्यक्रम संचालन गरिने बताइन्छ । सडक प्रयोगकर्ता, चालक, सह–चालक लगायत सरोकारवाला सबै निकायलाई ट्राफिक नियमको वारेमा सचेतना दिलाउने उद्देश्यले बार्षिक रुपमा ट्राफिक सप्ताह आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक प्रकाश अधिकारीले सडकमा पुगेपछि हतार गर्ने प्रवृत्तिले दुर्घटना बढेको बताउँदै सडक प्रयोगकर्ता सचेत भएमा न्यूनिकरण हुने दाबी गरे। उनले बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक सप्ताह महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । गण्डकी अञ्चल व्यवस्था कार्यालयका प्रमुख तिलक पौडेलले कास्कीको ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनिकरणका लागि नियमित अनुगमनको खाँचो रहेको औल्याए । यस क्षेत्रमा करिब १ लाख ५० हजार सवारीसाधन दर्ता रहेको सो अवसरमा उनले जानकारी दिए । रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले सवारी चालकलाई सचेत गराउदै सडक प्रयोगकर्ता लाई सचेतना दिलाउन ट्राफिक सप्ताह महत्वपूर्ण हुने बताए ।
 
नेपालमा दैनिक ५ देखि ७ जनाले सवारी दुर्घटनाले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । कार्यक्रममा पृथ्वीराज मार्ग बस सञ्चालक समितिका उपाध्यक्ष ज्ञान बहादुर केसीले आवश्यकता अनुसार सवारी संख्या हुनुपर्नेमा जोड दिए । रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उप–महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पाण्डे, डिभिजन सडकका ईन्द्रप्रसाद पौडेल, व्यवसायी कृष्णप्रसाद ढकाल, सोम गुरुङ, शोभाकान्त पौडेल, सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्य, पत्रकार शिवराज बस्ताकोटी, प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रमका फिल्ड अफिसर प्रतिभा सापकोटा पाख्रेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन मंसिर ५ गते विहान ७ः३० बजे जिल्ला ट्राफिक कार्यालय चोकदेखि मानवअधिकार चोकसम्म प्रभातफेरी हुने छ । दोस्रो दिन अमरसिंह उच्च माविका युवाहरुलाई ट्राफिक सचेतना, ढिकुरपोखरी, हेम्जा, पोखरा र लेखनाथमाका विभिन्न स्थानमा जेव्रा क्रसिङमा स्वयंम सेवक परिचालन गर्ने कार्यक्रम छ । यस्तै तेस्रो दिन ड्राइभिङ इन्स्टिच्युटका प्रतिनिधिलाई सचेतना र सिमुलेसलन प्रदर्शन, चौथो दिन मंसिर ८ गते वक्तृत्वकला प्रतियोगिता, ट्राफिक कक्षा र चालक परामर्श कार्यक्रम हुने छ । पाँचौ दिन ट्राफिक सचेतनाका साथै चित्रकला प्रतियोगिता र अन्तिम दिन सिमुलेशन र समापन कार्यक्रम रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।



Post a Comment

 
Top