0
गोल्डेन न्यूज संवाददाता
पोखरा पृथ्वीचोक स्थित पोखरा हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राति १० बजे तिरबाट फैलिएको आगो करिब साढे तीन घण्टा पछि नियन्त्रण आएको थियो । आगोले २३ सटर र सामानमा पूर्ण क्षति पुगेको छ । आगलागीबाट करिब ५ करोडको क्षति पुगेको प्रहरीको भनाई छ । बजारको बीच भागको दोहोरो पंक्ति नै सखाप भएको छ। आगलागीबाट कस्मेटिक पसल, भाँडा पसल, कपडा पसल तथा  जुत्ता पसलको एउटा पनि सामान कामै नलाग्ने गरी जलेका छन् । आगलागी भएलगत्तै वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी कालिका गण मालेपाटन अग्नी नियन्त्रक टोली, नेपाली सेना फूलबारी व्यारेकबाट सुरक्षाकर्मी पुगेका थिए। सशस्त्र प्रहरीका ३० जना र सेनाका २० जना आगो नियन्त्रणमा खटिएका थिए ।  सुरक्षा निकायसहित स्थानीय र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो। राति साढे १ बजेपछिमात्रै आगो नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। मोबाईल पसलबाट आगो सुरु भएकाले विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । कतिपय व्यवसायी दीपावली, छठका कारण घर गएको हुँदा अन्य विवरण अझै आउने बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनारले बताए। बजारमा भएको आगजनीका कारण आफू अत्यन्तै दुःखी भएको बजार संचालक मिलन तिवारीले बताए । छिट्टै नै यसबारे हामी छलफल गर्ने उनले बताए । बजार विद्युत व्यवस्थापन नभएकै कारण यस्तो हुन गएको एक व्यवसायी वताउँछन्। हङकङ बजारमा आगलागी भएको वारे जानकारी लिन पूर्व अर्थमन्त्री रामशरण महत समेत हङकङ बजार पुगेका थिए ।
 
यसैबीच हङकङ बजारमा बुधबार राति आगलागीप्रति कपडा व्यवसायी एशोसिएशनले दुःख व्यक्त गरेको छ । एशोसिएशनको बिहीबार बिहान बसेको आकस्मिक बैठक पछि संस्थाका अध्यक्ष यमनाथ तिमिल्सिनाले एक विज्ञप्ति जारी गर्दै दुःख प्रकट गरेका हुन् । यसैगरी सहारा क्लब पोखरा, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट प्रदेश नं. ४), हिमाली साँस्कृतिक परिवार पोखरा, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक, पृथ्वीचोक बसर्पाक टोल विकास संस्था, नेपाल टे«ड यूनियन कँग्रेस, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लगायतका संघ–संस्थाले पनि विज्ञप्ति प्रकाशित गरि आगलागीप्रति दुःख व्यक्त गरेको छ।






Post a Comment

 
Top