0
गंगाधर पराजुली
पोखरा २५ कार्तिक ।
पोखरामा हुने नेपाल तरुण दलको चौथो राष्ट्रिय महाधिवेशनका लागि नेपाली कांग्रेस र नेपाल तरुण दलका नेता, कार्यकर्ताहरु पोखरा आउनेक्रम शुरु भएको छ । बिहीबार केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहित अन्य केही नेता कार्यकर्ता पोखरा आइपुगेका छन् । मकवानपुर, बैतडी, उदयपुर, झापा, मोरङ लगायतका जिल्लाका प्रतिनिधिहरु बिहीबार साँझ नै पोखरा आइपुगेको र पश्चिम तथा पूर्वी नेपालका सबै जिल्लाका प्रतिनिधिहरु बाटोमा रहेकोले शुक्रबार बिहानसम्म अधिकांश प्रतिनिधिहरु पोखरा आइपुग्ने दलका केन्द्रीय सदस्य ऋषिराम काफ्लेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार शुक्रबार बिहानदेखि महाधिवेशन प्रतिनिधिहरुको दर्ता गराइने र उनीहरुलाई महाधिवेशनको सामाग्रीहरुसहित खाना र आवासको कुपनहरु प्रदान गरिनेछ ।
तरुणदलका नेता कार्यकर्ता संगै नेपाली कांग्रेसका अधिकांश नेताहरु पनि शुक्रबार पोखरा आउँदैछन् । नेपाली कांग्रेसका पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह रकृष्ण प्रसाद सिटौला शुक्रबार पोखरा आएर विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । सिंहले गणेशमान सिंह फाउडेशनले आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्ने र सिटौलाले आफू निकटका नेता कार्यकर्तालाई छुट्टै सम्वोधन गर्ने कार्यक्रम छ ।
यसका साथै तरुणदलको महाधिवेशन स्म्पन्न गर्न गठित निर्देशक समितिका संयोजकसमेत रहेका नेपाल सरकारका रक्षामन्त्री बालकृष्ण खाड र निर्देशक समितिका सदस्य समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं सांसद सुरेन्द्र पाण्डेका साथै तरुणदलका केन्द्रीय अध्यक्ष उदय सम्शेर राणा पनि शुक्रबार पोखरा आउने भएका छन्। पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइराला भने शनिबार बिहानमात्र पोखरा आउने कार्यक्रम छ ।
निर्देशक समितिले अझैसम्म महाधिवेशन प्रतिनिधिहरुको नाम र संख्याको टुङ्गो लगाउन नसकेका कारण पोखरामा आएर पनि निर्देशक समितिका संयोजक र सदस्यहरु विभिन्न जिल्लाको विवाद मिलाउन लाग्नेछन्। अझैपनि ५ बढी जिल्लामा विवाद रहेको र भक्तपुर र सप्तरीको कोही पनि प्रतिनिधि महाधिवेशनमा सहभागी हुन नपाउने निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । अन्य केही जिल्लामा रहेको विवाद शुक्रबार साँझसम्म पहल गरेर भएपनि मिलाउने र जिल्लाको तर्फबाट सबै सहभागी नभएपनि क्षेत्र र नगरको तर्फबाट भएपनि प्रतिनिधिहरु सहभागी बन्ने भएकाले करिब ७३ जिल्लाको सहभागिता चौथो महाधिवेशनमा रहने उनले बताए ।
यसैबीच महाधिवेशनको स्थानीय व्यवस्थापन समितिको तर्फबाट बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार महाधिवेशनका लागि प्रतिनिधिको बसोवास, स्वागत गेट निर्माणका सबै काम सम्पन्न भैसकेको छ। पोखराको चोकचोकमा तरुण दलको झण्डा राखिएको छ भने पोखरा प्रवेश गर्ने नाका सहित नगर क्षेत्रका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।
पत्रकार सम्मेलनमा नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषिराम काफ्लेले महाधिवेशनका बारेमा सबै अन्यौल हटेको र निर्देशक समितिको पटक–पटकको बैठकले विवाद मिलाएको बताए । अर्का केन्द्रीय सदस्य मेखलाल श्रेष्ठले ७१ जिल्लाबाट र अमेरिका, भारत, वेलायत, जापान र दक्षिण कोरिया स्थित विदेश शाखाबाट महाधिवेशन प्रतिनिधि सहभागी बन्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पोखरामा हुने तरुणदलको महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न पार्टीपंक्ति सक्रिय भएर लागेको बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले यहि २८ गते नेपाल बन्दको कार्यक्रम आह्वान गरेको भएपनि उनीहरुसंग सहमति गरि महाधिवेशन प्रतिनिधिहरुलाई कार्यक्रम स्थलसम्म जाने आउने व्यवस्था मिलाइने बताए ।
तरुण दलका कास्की अध्यक्ष एवं स्थानीय व्यवस्थापन संयोजक मनोज गुरुङले महाधिवेशनको उद्घाटनदेखि समापनसम्मका सबै गतिविधिलाई सकारात्मक ढङ्गले आम नागरिक समक्ष प्रवाह गरिदिन संचारकर्मीलाई आग्रह गरे ।  कार्यक्रममा दलका कास्की जिल्ला उपाध्यक्ष एवं महाधिवेशनको प्रचार–प्रसार संयोजक प्रेमलाल पुन र सचिव नरेन्द्र थापा लगायतले बोलेका थिए ।
विपिको सपना ‘शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन’ भन्ने नाराका साथ यहि कात्तिक २७, २८ र २९ गते महाधिवेशन हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा ७३ जिल्लाका झण्डै १ हजार ४ सय प्रतिनिधिहरु सहभागी हुने अनुमान छ । ७० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र तीन वटा जिल्लामा जिल्ला अधिवेशन नभएपनि क्षेत्र र नगर अधिवेशन सम्पन्न भएकाले क्षेत्रीय र नगरस्तरीय प्रतिनिधिहरु सहभागी हुन पाउनेछन् ।
त्यस्तै अधिवेशननै नभएको दुई वटा जिल्लाबाट भने प्रतिनिधि सहभागी हुन नपाउने भएका छन् । महाधिवेशन अन्तर्गत कात्तिक २७ गते पोखराको चिप्लेढुङ्गामा उद्घाटन सत्र हुने र पार्टी सभापति शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा संचालन हुनेछ । कात्तिक २८ गते बन्दसत्र सुरु हुने र २९ गते निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका छ । तरुणदलमा हाल ६१ सदस्यीय कार्यसमिति रहेपनि नयाँ कार्यसमिति ७५ सदस्यीयसम्म पु¥याउने योजना छ। नयाँ कार्यसमिति प्रादेशिक संरचनाका आधारमा चयन हुने बताइएको छ ।

Post a Comment

 
Top