0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाको तेर्सापट्टिस्थित सडकमा बिहीबार दिउँसो ट्रकको ठक्करवाट रिक्सा चालकको मृत्यु भएको छ ।     ग १ क ७७२ नंको ट्रकले इलेक्टिूक रिक्सालाई ठक्कर दिँदा त्यसका चालक पोखरा–२६ पिपलडाली निवासी ४० वर्षीय नारायण सुवेदी सख्त घाइते भएका र तत्काल उपचारार्थ पश्चिमाञ्चल  क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए।
प्रहरीले ट्रक चालक तारानाथ बास्तोलालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको छ ।
यता, बाग्लुङ जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ । बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो । पसलबाट चामल बोकेर घर जाँदै गरेका चक्रबहादुर विकलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए । मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा अचानक ढुङ्गाले हानेको स्थानीयवासी वीरबहादुर विकले जानकारी दिए ।
टाउकामा चोट लागेर गम्भीर घाइते भएका विकको केही बेरमै ज्यान गएको थियो । ढुङ्गा प्रहार गर्ने लोचन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । मृतक विकको शव पनि प्रहरीले बुर्तिबाङ ल्याएको छ ।
 
यता बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालकसहित जिप हराएको खबर आफन्तले प्रहरीमा गरेपछि प्रहरी र स्थानीयवासीले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजतलास गरिरहेका छन् । खोजी गर्दा भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बीचमा त्रिपाल भेटिए पनि सवारी तथा चालक नभेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार बेनीको कालीपुल बसपार्कदेखि पोखरेबगरसम्म कालीगण्डकी नदी वारपार व्यापकरूपमा प्रहरी परिचालन गरी खोजी भइरहेको छ । हालसम्म दुर्घटनाबारे कुनै तथ्य फेला नपरेको हुँदा जिप र त्यसका चालकको अवस्था थाहा हुन नसकेको प्रनाउ खड्काले जानकारी दिए । मङ्गलबार साँझ बेनीदेखि सामान लिएर गएको उक्त बोलेरो जिप म्याग्दीको बैंसरीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मङ्गलबारदेखि हराएका सवारीधनीसहित जिपका बारेमा बुधबार बेलुका मात्रै परिवारले प्रहरीमा जानकारी गराएका थिए । यसैबीच पश्चिम म्याग्दीको दरवाङ भूमेमा आगलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ । दरवाङका लीलाराम पुनको घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडालगायत नगदसमेत जलेर नष्ट भएको स्थानीयवासी मोतिराज गौतमले जानकारी दिए। गौतमले दिएको जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएपनि कारण खुल्न सकेको छैन ।

Post a Comment

 
Top