0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय शहर पोखरा यतिवेला तरुणमय बनेको छ । नेपाल तरुण दलको चौथो महाधिवेशन संघारमा आइपुग्दा पोखरा तरुणमय बनेको हो । पोखराका मुख्य मुख्य चोक, सडकहरु यतिवेला तरुण दलको झण्डा र भावी उमेदवारको प्रचार प्रसार सामाग्रीले गर्दा पोखरा तरुणमय बनेको हो । आज शनिबारदेखि शुरु हुने महाधिवेशनमा सहभागी हुन यतिवेला ७ सय वढी तरुण दल सम्वद्ध युवाहरु पोखरा आइसकेको र अधिवेशनको सम्पूर्ण तयारी हरु पुरा भएको महाधिवेशन आयोजक समितीका संयोजक तथा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । गुरुङका अनुसार शनिवार हुने महाधिवेशनलाई सम्बोधन गर्नका लागि पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला, नेपाली कांग्रेसका युवा नेता तथा स्वस्थ्य मन्त्री गगन थापा पोखरा आइसकेका छन् । शनिवार दिउसो एक बजेबाट शुरु हुने तरुण दलको चौथो अधिवेशनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् भने अन्य नेताहरु समेत सो समारोहमा सहभागी हुने आयोजकले जनाएको छ । महाधिवेशनका कारण मातृपार्टी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र महाधिवेशनका प्रतिनिधिको पोखरा आगमनसँगै तरुण दलको आगामी नेतृत्वबारे चर्चा परिचर्चाले पोखराको चिसो वातावरणलाई पनि तताएको छ । लाखौँं बेरोजगार युवाको व्यवस्थापन, स्वरोजगारको सिर्जनालगायतका युवासँग केन्द्रित कैयाँैं समस्याले देशमा जरा गाडिरहेका अवस्थामा काँग्रेसका युवा तरुणको प्रतिनिधित्व गर्ने तरुण दलको महाधिवेशनमा नेपाली युवाको भविष्यबारे गम्भीर बहस गनुपर्ने भए पनि त्यसतर्फ भने खासै चासो देखिएको छैन ।
 
देशले लामो समयदेखि राजनीतिक क्रान्तिमा समय बिताउनु परेको वास्तविकतामा अब आर्थिक क्रान्ति तर्फ लम्कनुपर्ने आवश्यकता रहेपनि रोजगारीको खोजीमा विदेशिएका हजारौँं नेपाली तरुण युवालाई स्वदेशमा फर्काएर यही रोजगारीको सिर्जना गर्नु टड्कारो आवश्यकता भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताए । युवाले भोगेका जल्दाबल्दा समस्याको समाधानका लागि नेपाल तरुण दलले आगामी दिनमा नेतृत्वदायी भूमिका खेल्नु आवश्यक छ,” नेपाल तरुण दलका पूर्वकेन्द्रीय महासचिव समेत रहेका भट्टराईले भने–“महाधिवेशनले आगामी दिनमा नेपाली तरुणको भविष्यलगायतका विषयमा गम्भीर छलफल गरी युवा हित र देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा लैजानका लागि आफ्नो भूमिका स्थापित गराउने नेतृत्व चयन गर्नुपर्छ । चौथो महाधिवेशनले नेपाल तरुण दललाई नेपाली युवा तरुणको प्रतिनिधित्व गर्ने नेतृत्वदायी सङ्गठनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले पार्टीले पनि तरुण दललाई केवल सुरक्षा कवचका रूपमा नलिएर एउटा सिर्जनात्मक एवम् युवा तरुणको वैचारिक सङ्गठनका रूपमा भूमिका प्रदान गर्नुपर्ने बताए । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य एवम् सांसद विन्दा रानाले नेपाल तरुण दलको चौथो महाधिवेशनले आगामी दिनमा देशलाई आर्थिक समृद्धि र विकासका मार्गमा लैजान राजनीतिक दल तथा सरकारकारलाई झक्झक्याउन सक्ने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने फोरमका रूपमा मात्र नलिएर नेपाली समाजमा व्याप्त युवा लक्षित मुद्दामा गम्भीरताका साथ छलफल एवम् बहसको स्थल बनाउनुपर्ने बताए । समयानुकूल रूपमा नेपालको आर्थिक समृद्धि र विकासको यात्रामा युवा तरुणको भूमिका महत्वपूर्ण हुने बताउँदै भट्टराईले भने–“नेपाली समाजलाई गरिबी, पछौटेपन एवम् सामन्ती संस्कार र प्रवृत्तिबाट मुक्त गरी देशको तरूण शक्तिलाई सङ्गठितरूपमा परिचालन गर्न र समग्र युवाको नेतृत्वका लागि नेपाल तरुण दलको महत्वपूर्ण भूमिका रहन्छ ।” नेपालमा लोकतन्त्रको स्थापनाका लागि विभिन्न चरणमा भएका सङ्घर्षमा नेपाल तरुण दलले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
 
विसं २०१० मा स्थापित तरुण दलको पहिलो महाधिवेशन २०१७ पुस १ गते काठमाडौँको त्रिपुरेश्वरमा भएको थियो । महाधिवेशन हुँदै गर्दा तत्कालीन अवस्थामा राजा महेन्द्रले प्रजातन्त्र हरण गरेपछि विपी कोइरालालाई महाधिवेशनस्थल बाटै गिरफ्तार गरिएको थियो । पहिलो महाधिवेशनपछि २०५७ मा दोस्रो, २०६२ मा सम्पन्न तेस्रो महाधिवेशन भएको थियो । विभिन्न समयमा भएका महाधिवेशनबाट गठित तदर्थ समितिमा सिंहध्वज खड्का, बालकृष्ण खाँण, विनोद कायस्थ, महादेव गुरुङ, महेन्द्र यादवले नेतृत्व गरिसकेका छन् । हाल उदयशमशेर राणा नेतृत्वको तरुण दलले आफ्नै चौथो महाधिवेशन सम्पन्न गर्दैछ । निर्धारित मिति र समयमा महाधिवेशन सम्पन्न नहुँदा नेपाल तरुण दलमा नेतृत्व विकास अपेक्षित रूपमा हुन नसकेको नेपाल तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिना बताउछन्। चौथो महाधिवेशन ६ महिनाभित्रमा सम्पन्न गर्ने गरी २०६८ माघ २८ मा उदयशम्शेर राणाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको भए पनि पटक÷पटक महाधिवेशन सर्ने प्रवृत्तिका कारण लामो समयसम्म महाधिवेशन हुन नसक्दा धेरै नेतृत्वका आकांक्षी महाधिवेशनमा नै भाग लिन नपाई बाहिरिसकेका छन् । लामो समयसम्म महाधिवेशन नभएका कारण चौँथो महाधिवेशनमा तदर्थ समितिका पदाधिकारी एवम् सदस्यलाई नेतृत्वमा जानका लागि कुनै बन्देज लगाउन नहुने बहस पनि यतिखेर चलिरहेको छ । तरुण दलबाट नेपालका प्रत्येक युवा वर्गले धेरै अपेक्षा गरेको बताउने दलका पूर्व केन्द्रीय सदस्य मुक्ति केसीले महाधिवेशनले नेतृत्व चयनलाई मात्र प्राथमिकता नदिई लाखौंँ नेपाली युवाको आगामी भविष्यबारे गम्भीरताका साथ छलफल गनुपर्ने बताए । राजनीतिक क्रान्तिबाट आर्थिक क्रान्ति तर्फ देशलाई अघि बढाउनका लागि नेपाल तरुण दलको विगतको भन्दा परिवर्तित भूमिका अपरिहार्य भएको केसीको भनाइ छ ।




Post a Comment

 
Top