0
गोल्डेन न्यूज संवाददाता
संविधान संशोधनको विषयमा सहमति जुटाउनका लागि बसेको शीर्ष तीन दलको बैठकमा सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अरोप प्रत्यारोपमा सकिएको हो । बैठकबाट बाहिरिँदै एमाले नेता भीम रावलले एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए । ‘सरकारले प्रस्ताव ल्यायो भने देश विखण्डन हुन्छ । राष्ट्रियताको हिसाबले, अखण्डताको हिसाबले पनि यो संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन,’ उनले भने । नेता रावलले चुनाव गराउने बेला सरकारले अनावश्यक रुपमा संशोधनको बखेडा झिकेको आरोप लगाए । संविधान संशोधन स्वीकार गर्न नमानेपछि प्रधानमन्त्री दाहालले बैठकमा एमाले नेताहरुले अहंकार प्रस्तुत गरेको बताएका थिए । ‘नेपाली कांग्रेस, मधेसवादी दल सबैले यो कुरा मानिरहँदा एमालेले किन बखेडा झिकिरहेको छ ?,’ प्रधानमन्त्रीले भनेका थिए । नेता रावलले भने, ‘यो अहंकार कसरी हुन्छ ? यो चार बुँदे संशोधन प्रस्तावलाई मधेसवादी दलले पनि मान्दैनौ भनिरहेका छन् । यसअघि पनि संशोधन प्रस्ताव दर्ता भएकै हो । त्यति बेला कांग्रेस र माओवादीले संशोधन प्रस्ताव दर्ता भए समस्या समाधान हुन्छ भनेका थिए ।’ यसअघि संशोधन गर्दा पनि समस्या समाधान नभएको र अहिले पनि समस्या समाधान नहुने उनको तर्क थियो । रावलले आफूहरुले पटक–पटक प्रधानमन्त्रीलाई संशोधन प्रस्ताव दर्ता नगराउन भनेर सुझाव दिएको र त्यो आए विरोध गरिने बताए । माओवादी केन्द्रका नेता वर्षमान पुनले आजको बैठकमा एमालले अहंकार र दम्भ देखाएको टिप्पणी गरे । ‘एमालेलाई हामी बाहेक कुनै दल छैन । हामीले जे गर्छौँ त्यही हुन्छ भन्ने जसरी प्रस्तुत भयो,’ उनले भने । उनले एमाले आफ्नो पूर्ववत सहमतिबाट पछि हटेकोमा पनि आश्चर्य व्यक्त गरे । ‘तीन दलको बैठक हुँदा, प्रधानमन्त्री र अध्यक्ष ओलीबीच कुरा हुँदा संविधान संशोधन गर्नुपर्छ भनेर तयार हुनुहुन्थयो । संशोधन गरेर चुनावमा जानुपर्छ भन्नुहुन्थ्यो । तर आजको बैठकमा एकदमै पछाडी हटेर संशोधन हुनै हुँदैन भनेर भन्नुभयो,’ उनले भने । एमालले पनि संशोधन हुनुपर्छ भनेको र कन्टेन्टमा केही आपत्ति रहेको कारण आजको बैठकमा त्यसै विषयमा छलफल हुने कुरा रहेको तर एमालेले आज आएर एक्कासी कुनै पनि हालतमा संशोधन हुनुहुँदैन भनेर भनेर आफूहरुलाई स्तब्ध बनाएको पुनले बताए । ‘एमाले जिम्मेवारी पार्टी हो । हामी अझै पनि कुरा गर्छौँ,’ पुनले भने । गृहमन्त्री विमलेन्द्र निधिले एमालेले नमाने पनि संशोधन प्रस्ताव दर्ता हुने जानकारी दिए ।
भोलि वा पर्सी आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धन सँग सल्लाह गरेर संशोधन प्रस्ताव दर्ता हुने नेताहरुले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा बादल, वर्षामान पुन लगायतका नेताहरु सहभागी थिए ।


Post a Comment

 
Top