0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय नगरी पोखरामा ४० माईक्रोन भन्दा कम मोटाई भएका प्लाष्टिकका झोला तथा ग्लास प्रतिवन्ध गरीएसंगै अनुगमन पनि सुरु भएको छ। बिहीबार र  शुक्रबार पोखराको विभिन्न  क्षेत्रमा अनुगमन गर्दा ६५ वटा पसलबाट करिब २३  किलो प्लाष्टिक जफत गरिएको हो । पोखरा उपमहानगरपालीका कार्यालयले बुधबार एक समारोहका बिच पोखरामा ४० माईक्रोन भन्दा कम मोटाई भएका प्लाष्टिकका झोला र ग्लासहरु प्रयोग नगर्न आम पोखरेलीहरुलाई आग्रह गरेपछि त्यसलाई व्यवहारत लागू गर्न अनुगमन टोली खटाइएको पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए । पोखरा उप–महानगरपालिका कार्यालयका नगर प्रहरी प्रमुख वसन्त चालिसेको नेतृत्वमा अनुगमन टोलीले विहीबार र शुक्रबार पोखराका विभिन्न क्षेत्रमा अनुगमन गरी पहिलो पटक भेटिएका प्लाष्टिकका झोला तथा ग्लाँसहरु जफत गरेको छ । उनले भने–‘पहिलो पटकमा हामीले सम्झाई बुझाई गरी भेटिएका प्लाष्टिकका झोला र ग्लासहरु जफत गछौं, फेरी दोश्रो पटकको अनुगमनमा प्रतिवन्ध गरिएका प्लाष्टिकजन्य वस्तु भेटे मा एक हजार रुपैयाँसहित कार्वाही गर्ने छौं । बिहीबार सिद्धाथचोक र चिप्लेढुंगा क्षेत्रमा अनुगमन गर्दा २४ वटा पसलहरुबाट ९ केजी प्लाष्टिक जफत गरिएको चालिसेले  बताए। त्यसैगरी शुक्रबार महेन्द्रपुल, साँधुकोमुख, पृथ्बीचोक क्षेत्रमा अनुगमन गर्दा ४१ वटा पसल बाट करीब १४ किलो प्लाष्टिक जफत गरिएको उनले जनाए । अनुगमनमा टोलीमा नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल, पोखरा उपमहानगरापालिका टोल विकास समन्वय समितिका अध्यक्ष उज्जवल खत्री, महिला टोल समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ, पोखरा उप–महानगरपालिका निगरानी समूहकी संयोजक अन्जु केसी, नगरपालिका वातावरण शाखाका हरि न्यौपाने, नगरपालिकाका सूचना प्रमुख चन्द्रावती वाग्ले लगायतका रहेका थिए ।

Post a Comment

 
Top